उत्प्रेरक बनोस् छोरी–बुहारी छात्रवृत्ति

0
9

समाज दुईवटा जातिको बसोबास भएको संरचना हो । त्यसो त परिवार भनेकै महिला र पुरुषको योगबाट निर्माण हुन्छ र त्यही योगको समिश्रण समाज हो । सनातन संस्कृतिले मात्र होइन सभ्यताको आदिमकाल पनि दुई जाति महिला र पुरुषबाट निर्माण भएको परिवारबाटै समाज बनेको अध्ययनहरुले देखाएका छन् । वैदिक सनातन धर्मले पनि समाजमा रहेको दुई जातिमध्ये महिलालाई उच्चासनमा राखेको धार्मिक ग्रन्थहरुले उल्लेख गरेका छन् । त्यही संस्कृतिले जहाँ महिलाको सम्मान हुन्छ त्यहाँ देवताहरु रमण गर्छन भनेको छ ।

हुन पनि एउटा परिवारमा महिला शिक्षित भए परिवार नै सभ्य, शिष्ट र शिक्षित हुन्छ भन्ने विश्वले स्वीकार गरेको सत्य हो । तर, समयकालमा विभिन्न परिस्थिति र परिवेशमा महिलालाई हेर्ने दृष्टिकोण र धारणामा परिवर्तन आएको हो । महिला शिक्षित, सक्षम र आत्मनिर्भर नभएसम्म परिवार समृद्ध हुन सक्दैन भन्ने सत्यलाई स्वीकार गरी नेपालमा धेरै अघिदेखि महिला समानताको बहस शुरु मात्र भएन अवसर र अधिकार स्थापित गर्ने प्रयत्न भयो । त्यसकै निरन्तरतामा हिजोआज लैङ्गिक समानता, पुरुष सरहको सुविधा अवसर अझ आरक्षणको प्रबन्ध गर्न थालिएको छ ।

अहिले बहुप्रचलित भाष्य पनि बनिएको छ– महिला शसक्तिकरण भन्ने । यस अनुसार महिलाबिरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरी महिलाहरुको हक–अधिकारको सुरक्षा र प्रबद्र्धनको लागि राज्यले अधिकारमा आधारित विकास अवधारणा अवलम्बन गर्ने नीति राज्यले लिएको छ । त्यसका लागि अधिकारमा आधारित विकास अवधारणाको अवलम्वन गरी नीतिगत, कानूनी र संस्थागत सुधार गरिने छ । बाधक रहेका कानून हटाइ हरेक क्षेत्रमा महिला सहभागिता गराई उनीहरुमा रहेको क्षमतालाई उजागर गर्ने राज्यको नीति रहेको छ । महिला छोरी हो, बुहारी र आमा पनि हो । त्यसैले छोरीलाई अवसर दिन सकिए असल बुहारी र असल आमा बन्न सक्छन् । त्यो अवसर शिक्षाको माध्यमबाट प्राप्त गर्न सकिन्छ ।

यही सत्यलाई आत्मसात गर्दै इलामको सूर्योदय नगरपालिकाले छोरी–बुहारी कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अनुसार आफ्नो पालिकाभित्रका छोरी–बुहारीलाई उच्च शिक्षाको पहुँचमा लान छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको उत्प्रेरक समाचार प्रकाशनमा आएको छ । नगरपालिकाले यही कार्यक्रम अनुसार चालू शैक्षिक सत्रका लागि बत्तीस जनासँग स्नातक तह अध्ययनका लागि छात्रवृत्ति सम्झौता गरेको छ । वडाबाट सिफारिस भएका उनीहरुलाई प्रति विद्यार्थी हुने गरी दश लाख बाउन्न हजार आठ सय रुपैयाँ सम्बन्धित क्याम्पसलाई प्रदान गरिने छ । नगर प्रमुख रणबहादुर राईले परिवार र समाजलाई शिक्षाको महŒवबोध गराउन कार्यक्रम ल्याइएको बताएका छन् । विगतदेखि नै सञ्चालनमा रहेको यो कार्यक्रम विस्तारित हुन सके अवसरबाट वञ्चित सबैले लाभ लिन सक्ने र समाज रुपान्तरण हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here