भद्रपुर , भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८० करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।
भद्रपुर नगरपालिकाको १६ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्ष भन्दा आकार घटाएर बजेट प्रस्तुत गरेकी हुन् ।
चालु आर्थिक वर्ष २०८१÷/८२ मा एक अर्ब सात करोड एक लाख ६९ हजार रुपैयाँ घाटा बजेट ल्याएकोमा आगामी आर्थिक वर्षमा झन्डै २७ करोड बजेट कम ल्याएको छ । संघ तथा प्रदेशको अनुदानमा कटौतीसँगै नगरपालिकामा रहेको मौज्दात रकम अभावका कारण बजेटको आकार घटेको जनाइएको छ ।
बजेटमा संघीय राजस्व बाँडफाँडबाट १२ करोड ३३ लाख ५० हजार, स्थानीय राजस्व बाँडफाँडबाट रु ४ करोड, प्रदेश राजस्व बाँडफाँडबाट रु ९८ लाख २१ हजार, आन्तरिक श्रोतको ७ करोड, संघीय वित्तीय हस्तान्तरणबाट ५१ करोड १० लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ६३ लाख ५७ हजार गरी कुल ८० करोड ५ लाख २८ हजारको आय अनुमान गरिएको उपप्रमुख कार्कीले बताइन् ।
उनका अनुसार नगरपालिकाको कार्यालय प्रशासनिक खर्चमा १४ करोड विनियोजन गरिएको छ । यसभित्र वडा, स्वास्थ्य कार्यालय, नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूको तलवभत्ता लगायत अन्य प्रशासनिक खर्च समावेश गरिएको छ । त्यस्तै वडामा भएका विकास निर्माण, योजना मागको चाप, नागरिकको आवश्यकता समेतलाई मध्यनजर गरी वडागत सिलिङमा बढोत्तरी गरिएको छ ।
वडागत सिलिङतर्फ एक करोड एक लाखको दरले कुल १० करोड ८ लाख विनियोजन गरिएको छ । यसबाट पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, खानेपानी, लक्षित वर्ग, सीमान्तकृत वर्ग, आदिवासी जनजाति, महिला, बालबालिका, दलित, मुस्लिम लगायतका विषयहरू वडाबाटै सम्बोधन हुने अपेक्षा राखिएको छ । त्यसैगरी सहरी सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापनका लागि अत्यावश्यक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था राखिएको छ ।
नगरबाट हुने नगरस्तरीय आयोजना, विगतका कार्यक्रमको निरन्तरता, सम्पन्न हुन नसकेका योजना कार्यक्रम समेतलाई मध्यनजर गरी यस्ता योजना कार्यक्रमतर्फ रु ११ करोड बजेट खर्च प्रक्षेपण हुने गरी व्यवस्था ल्याएको उनले बताइन् । त्यस्तै सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगार प्रवद्र्धन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लक्षित वर्गको हित प्रवद्र्धन साथै रोजगार तथा उद्यमशीलताको विकास र विस्तार गर्ने कार्यक्रम सञ्चालन गर्न १४ करोड ५६ लाख विनियोजन गरेको उनको भनाई छ ।
त्यस्तै नगर प्रमुख गणेश पोखरेलले शिक्षा, खेलकुद, कृषि, रोजगार प्रवद्र्धन, पर्यटन, पूर्वाधार विकासलाई लक्षित गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा जनप्रतिनिधिहरूले उठाएको प्रश्नहरूको जवाफ नगर प्रमुख पोखरेलले र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दिएका थिए ।
बिर्तामोडको वजेट १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार
यस्तै बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार बराबरको बजेट प्रस्ताव गरेको छ ।
दोस्रो नगर सभाको सातौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् ।
बजेटमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को विभिन्न शीर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गर्दै संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय राजश्व बाँडफाँटतर्फ रु १४ करोड ७६ लाख, प्रदेश समानीकरणतर्फ रु १ करोड ९७ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट रु १ करोड ४५ लाख १४ हजार, आन्तरिक श्रोततर्फ रु २१ करोड, जग्गा रजिष्ट्रेशनतर्फ रु १२ करोड ५० लाख, संघीय सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६ हजार र प्रदेश समपुरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।
उपप्रमुख संग्रौलाले चालु आ.व. २०८१÷०८२ को जेठ मसान्तसम्मको यथार्थ आयव्ययको विवरणसमेत प्रस्तुत गरेका छन् । चालु आ.व.मा आन्तरिक राजश्व २० करोड ५० लाख अनुमानित गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा १३ करोड ९६ लाख ८१ हजार ४२, घरजग्गा रजिष्ट्रेशनमा १२ करोड अनुमानित गरिएकोमा ८ करोड ५९ लाख ९५ हजार ९ सय ६० , त्यसैगरी संघीय समानीकरण १९ करोड ४८ लाख ६हजार ४ सय ८० , संघीय सशर्तमा २८ करोड ९ लाख ९ हजार १ सय ८०, संघीय बिशेष अनुदान ५५ लाख ४५ हजार ६१ , संघीय समपुरक १५ करोड ८० लाख २४ हजार १ सय ४५ र संघीय राजश्व बाँडफाँटबाट १० करोड ८६ लाख १९ हजार ९ सय ३५ रुपैयाँ प्राप्त भएको छ ।
यसैगरी प्रदेश समानीकरणमा १ करोड ३ लाख २ हजार ७ सय ५०, प्रदेश सशर्तमा १ करोड ७१ लाख २९ हजार ९ सय ८९, प्रदेश समपूरकमा ४३ लाख ३३ हजार ३ सय ३३ र प्रदेश राजश्व बाँडफाँट १ करोड ४० लाख ३६ हजार ७ सय ९९ रुपैयाँ, जनसहभागिता रु ३ करोड ११ लाख ९५ हजार ४६१ समेत गरी जम्मा १ अर्व ५ करोड ३५लाख ८० हजार १ सय ३५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
झापा क्षेत्र नम्बर ३ (क) मा २० करोड
यसैगरी कोशी प्रदेश सरकारले झापा क्षेत्र नम्बर ३ (क) मा २० करोड भौतिक पूर्वाधार विकासका लागि योजना छनौट गरेको छ ।
कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत झापा क्षेत्र नम्बर ३ (क) मा २० करोड बढीका योजना राखेको हो ।
नेपाली काँग्रेसबाट यस क्षेत्रमा निर्वाचित कोशी प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको विशेष पहलमा कचनकवल र भद्रपुरका लागि अघिल्ला वर्षहरूको तुलनामा यस आगामी आर्थिक वर्षका लागि धेरै योजनाहरू समेटिएको हो ।
प्रदेशको सिलिङ बजेट अनुसार प्रत्यक्ष सांसदले दुई करोड ५० लाख र समानुपातिक सांसदले एक करोड ५० लाख रुपैयाँ बराबरको योजना पार्न सक्ने व्यवस्था छ ।
प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ४५ प्रतिशत, सामाजिक विकास मन्त्रालयबाट २० प्रतिशत, खानेपानी सिचाई मन्त्रालयबाट १५ प्रतिशत, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट १५ प्रतिशत र उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ५ प्रतिशतसम्म योजना पाउँछन् । राजवंशी आफै भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका कारण उनले आफ्नो क्षेत्रमा २० करोड भन्दा बढीका योजनाहरू ल्याएका हुन् ।