खुदुनावारीमा एसवाईएस प्रथम खुला फुटबल प्रतियोगिता हुने

0
39
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–२ खुदुनाबारीस्थित सचेत युवा समूहको आयोजनामा यही असोज २७ गतेदेखि एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ ।
स्थानीयस्तरमा खेलकुदको माध्यमबाट युवाको सशक्तिकरण एवम् स्थानीय २ नं. वडा खेलमैदानको संरक्षण एवम् स्तरोन्नती गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको शनिबार आयोजित पत्रकार भेटघाटमा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवा “राजा”ले बताए ।
आगामी कात्तिक ३ गते लक्ष्मी पूजाको दिन फाइनल रहेको प्रतियोगिताका विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समूहका सचिव शिव भट्टराईले जानकारी दिए । त्यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पुरस्कार तीन हजार पाँच सय, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्राप्त गर्ने छन् ।
आयोजकसहित झापा र इलामका १६ वटा टिमको सहभागिता रहने प्रतियोगिता अन्र्तगत प्रत्येक खेलका उत्कृष्ट खेलाडीले नगद पुरस्कार एक हजारसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न अनुमानित चार लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अध्यक्ष साँवाले जानकारी दिए । उनी भन्छन्–“नगरपालिका, वडा कार्यालय, विभिन्न संघ–संस्था र दाता महानुभावहरुसँग प्रतियोगिता सम्पन्न गर्न आवश्यक स्रोत जुटाउन पहल र समन्वय गर्ने छौं ।”
स्थानीयस्तरमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले गत भदौ २९ गते सचेत युवा समूहको स्थापना भएको हो । यस अघि लागूऔषध न्यूनिकरण सम्बन्धी कार्यक्रम, विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेको समूहमा हाल ३० जना युवा आबद्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here