नेपाल चाडपर्वहरुको धनी देश हो । यहाँ विशेषतः तराई क्षेत्रमा सर्वाधिक महत्वका साथ मनाइने चाडपर्वहरु मध्ये प्रमुख पर्व हो– छठ । त्यसो त हरेक चाडपर्वको आ–आफ्नै विशेषता हुन्छन् र नेपाल वैदिककालदेखि नै सनातन हिन्दू धर्मावलम्वीहरुको बसोबासको मूल थलोका रुपमा प्रतिष्ठित छ । त्यही परम्परा अनुसार नेपालमा बहुसंख्यकले यो वर्षको दशैं र तिहार पनि मनाइसकेका छन् । तिहार लगत्तै आगमन भएको छठ मुख्यतः सूर्यको आराधना गरिने पर्व हो ।

कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर सप्तमी तिथिका दिनसम्म मनाइने यो पर्व पनि दशैं र तिहारको जस्तै हिन्दू धर्म ग्रन्थ रामायणसँग सम्बन्धित छ । त्यसो त हाम्रा सबै धार्मिक ग्रन्थहरुले सत्य, न्याय र नैतिकतालाई जोड दिएका छन् र सबैको शिक्षा परोपकारप्रति लक्षित छन् । त्रेतायुगमा भगवान रामले वनबासबाट अयोध्या फर्किएपछि रावणको बध गरेको पापबाट मुक्त हुन यही समयमा सूर्यको उपासना गरेको धार्मिक कथन छ । त्यस्तै एक अर्को मान्यता अनुसार छठ पर्व राजा प्रियब्रत, महर्षि, ब्रह्माकी मानसपुत्रीको पूजासँग पनि सम्बन्धित छ । मान्यता र कथन जे भए पनि यतिबेला छठ पर्व सामाजिक सद्भाव, बन्धुत्व, हार्दिकता र एकताको प्रतीक बनिएको छ ।
मान्यता र कथन जे भए पनि हाम्रा पर्वहरुले सत्कार्य र सुफीर्तिको सन्देश दिएका छन् । तिहार लगत्तै आउने छठ पर्वले सामाजिक सन्देश त दिएको छ नै सँगै सूर्यको उपासनाले अँध्यारोबाट उज्यालोतर्फ लाग्न प्रेरणा दिएका ेछ । कुनै दिन तराईबासीको पर्व रहेको छठ अहिले देशभरका हिन्दू धर्मावलम्बीको मात्र नभएर मुस्लिम समुदायको समेत साझा बन्दै गएको छ । यसले सामाजिक सद्भाव, भाइचारा र हार्दिकता बढाएको छ । सम्पूर्ण नेपालीलाई एकताको डोरीमा बाँध्दै लगेको छ । प्रकृतिको अनुपस्थितिमा पृथ्वीको अस्तित्व नरहने भएकाले पञ्चतत्व मध्येको आकाश र त्यहाँबाट निसृत हुने प्रकाश सबै जीवात्मा, बनस्पतीको अस्तित्व भएकाले सौर्य शक्तिप्रति अनुगृहितको भाव प्रकट गर्ने र विज्ञानका दृष्टिले समेत महŒवको छठ पर्वले सबैको मन, विचार र व्यवहारमा सकारात्मक सन्देश दिन सकोस् शुभकामना ।





























