सुरुङ्गा, भदौ २४ । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७ आंै राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको आयोजना तथा ज्ञानज्योति युवा क्लब सुरुङ्गाको संयोजनमा सूचना तथा प्रविधि विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
विद्यालयका विज्ञान समूह कक्षा १२ का छात्र दिनेश ओली लगायतको समूहले झापा जिल्लाका प्रतिष्ठित विद्यालय तथा क्याम्पसका विद्यार्थीको उपस्थितिमा नानो स्टेशन इन्टरनेट सर्भर, स्मार्ट लाइटिङ सिस्टम, उच्च सतर्कता सुरक्षा प्रणाली, वेदर स्टेशनको सफल प्रदर्शनी गरेका थिए । त्यसै गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकायका अनुसन्धानकर्ता सुमन पौडेलले स्मार्ट स्कूल सिस्टम प्रदर्शन गरे ।
कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न विद्यालयका ६ सय बढी विद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । विज्ञान प्रविधि अनुसन्धानमा अत्यन्तै रुचि भएका दिनेश ओलीले यस अघि सेटेलाइट, होम सेक्यूरिटी सिस्टम, वाटर डिटेक्टिङ मेसिन, रेडियो ट्रान्समिटर, वाकीटकी लगायतका सामग्रीहरु आफै निर्माण गरी प्रदर्शन गरिसकेका छन् । ओली र उनका साथीहरु सन्देश खरेल, रोमन आचार्य, रोहन पाठक, नविना दाहाल र वर्षा श्रेष्ठको समूहले गत सालको फागुन १३ मा धरानमा सम्पन्न ३१ वटा विद्यालय तथा क्याम्पसको सहभागिता रहेको टीएसएएन साइन्स एण्ड इञ्निियरिङ्ग एक्स्पो–२०१६ मा प्रथम स्थान हासिल ३ लाख रुपैयाँको छात्रवृत्ति प्राप्त गरी विद्यालयको नाम राखेका थिए ।
शैक्षिक तालिम केन्द्र भद्रपुरका पूर्व वरिष्ठ प्रशिक्षक दिलिप शर्माको प्रमुख आतिथ्य, ज्ञानज्योति युवा क्लबका अध्यक्ष नविन सेडाईको संयोजन र विद्यालयका प्रधानाध्यापक आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नविना दाहाल, अनारमनी मा.वि.का पूर्व प्रअ मोहनप्रसाद ओली लगायतले बोलेका थिए । कार्यक्रममा कनकाई मा.वि.का पूर्व प्रअ ईश्वरीप्रसाद शिवाकोटी, कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, कनकाई खेलकुद प्रतिष्ठान (कासा) का अध्यक्ष ज्योतिकुमार उप्रेती, प्यारागन एकाडेमीका प्रिन्सिपल डी.आर. सुबेदी, झापा मेरिगोल्ड अंग्रेजी मा.वि. का प्रिन्सिपल गोकुल उप्रेती लगायतको आतिथ्य रहेको कार्यक्रममा विद्यालयका सहायक प्रअ निर्मलकुमार खतिवडाले स्वागत मन्तव्य र ज्ञानज्योति युवा क्लबका सचिव अनुप ओलीले औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक तीर्थराज खरेलले गरेका थिए ।




























