दुर्घट्नामा भारतीय नागरिकको मृत्यु

0
350

दमक,  असोज १० । मोरङको बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गमा यात्रुबाहक बस र भारतीय नम्बर प्लेटको कार आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७५६१ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बीआर ११ यु ३४२१ नम्बरको भारतीय कार आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए । दुर्घटनामा कार चालक भारत बिहारको सुपौल घर भएका २८ वर्षीय बिनयकुमार जैसवालको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा कार पूर्ण रुपमा क्षति भएको छ । बस र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।
यस्तै अपि हाइड्रो पावर दार्चुलामा कार्यरत एक झापाली मजदुरको भीरबाट लडेर ज्यान गएको छ । ज्यान जानेमा झापाको हल्दुबारी गाविस–७ का ५० वर्षीय धनबहादुर मगराती रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । दार्चुलामा रहेको अपि हाइड्रो पावरमा विद्युतको लाइन तान्ने कामदारको भान्सेका रुपमा कार्यरत रहेका मगरातीको दार्चुलाको धुलीगडा–४ सुकेखोला भीरबाट लडेर आइतबार ज्यान गएको प्रहरीले बताएको छ । मगरातीको अपि हाइड्रो पावरको ड्याम अगाडि सुकेखोला भीरबाट लडेर करीब ७० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको थियो । मगराती चार दिन अगाडि असोज ६ गते मात्र अपि हाइड्रो पावरमा काम गर्नका लागि दार्चुला पुगेका थिए ।
यस्तै मोरङ र धनकुटा जिल्लामा खोलाले बगाएर दुई जनाको ज्यान गएको छ । मोरङको मधुमल्ला–३ तोरीबारीस्थित मावा खोलाले बगाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ वर्षीय जस्तो देखिने ती मानिसको नामथर, वतन खुल्न सकेको छैन । स्थानीयले आइतबार दिउँसो एक बजेतिर खोलामा शव बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मधुमल्लाका अनुसार शवको प्रकृति हेर्दा मृतकको कम्मरमा खुकुरी भिरेको पाईएकोले ती मानिस घाँस दाउरा गर्न जाने क्रममा खोलाले बगाएको हुन सक्छ । उता धनकुटाको ज्यामीरे खोलाले बगाएर स्कूल हिडेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चुङबाङ–२ बस्ने रमेश योन्जनका ७ वर्षका छोरा दिपेन योन्जन रहेका छन । आइतबार विहान पौने १० बजे स्कूल जाने क्रममा योञ्जनलाई खोलाले बगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here