डेंगु जचाउनेको भीड

0
396

विर्तामोड, कात्तिक १८। डेंगु ज्वरोले महामारीको रुप लिएपछि झापाको दमकमा डेंगु ज्वरो जाँच गर्न आउने बिरामीहरुको अस्पताल तथा क्लिनिकहरुमा घुइँचो लागेको छ ।
तिहारमा पनि बिरामीको घुइँचो कम नभएको जनाइन्छ । बिभिन्न सरकारी तथा अन्य बिभिन्न निकायहरुले जनचेतना बृद्धि गरेपछि सामान्य ज्वरो आएका तथा बिरामी परेकाहरुले अस्पतालमा आएर जचाउन थालेपछि अस्पताल तथा क्लिनिकहरुमा बिरामीको घुइँचो लाग्न थालेको पाइएको हो ।
दमकस्थित आम्दा अस्पतालका प्रमुख डा. नवीन ढकालका अनुसार डेंगु ज्वरोको बिरामीहरुको निःशुल्क जाँच र उपचारको व्यवस्था मिलाइएपछि अस्पतालमा आउनेहरुको घुइँचो लागेको छ । उनका अनुसार अस्पतालमा डेंगु ज्वरोका शंकास्पद बिरामीहरुको पहिचानका लागि निःशुल्क जाँच लगायतको सेवा प्रदान गर्न शुरु गरिएको हो ।
यसैगरी दमकको लाइफलाइन अस्पतालले पनि निःशुल्क रुपमा डेंगु ज्वरोका बिरामीहरुको रगत परीक्षण लगायतका डेंगु परीक्षण र अस्पताल बस्नुपर्ने अवस्थामा सबै उपचार निःशुल्कको व्यवस्था मिलाइएको छ । अस्पतालमा दैनिक १ सय ५० भन्दा बढी बिरामी डेंगु ज्वरोको शंकामा आउने गरेको अस्पतालकी डा. खुश्बुप्रीया मिश्रले बताए । उनका अनुसार सामान्य बिरामी भएपनि डेंगु जाँच भन्दै आउने गरेको बताइन्छ ।
यता दमकको सरकारी अस्पतालमा पनि थामिनसक्नुको भीड रहने गरेको पाइएको छ । सरकारले निःशुल्क रुपमा डेंगु कीट उपलब्ध गराएर जाँचको व्यवस्था मिलाएको यस अस्पतालमा दैनिक २ सयसम्म बिरामीहरु आउने गरेको अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापाले बताए । रगत परीक्षण भने बाहिर गर्नुपर्ने र अस्पतालमा राख्नुपर्ने बिरामी भए अन्यत्र रेफर गर्ने गरिएको थापाले जानकारी दिए ।
फिजिसियन डा. दीपकराज बरालका अनुसार डेंगु ज्वरो भाइरलको रुपमा देखापर्ने सामान्य रोग भएकाले डराउनु नपर्ने बताउँदै अहिले यसलाई हाउगुजीको रुपमा बुझिएकाले सबै त्रसित भएको बताए । समयमा पहिचान र चिकित्सकसम्म आएमा यो सामान्य रुपमा नै निको हुने भएकाले भयभित हुनु पर्ने कारण नरहेको उनको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here