विर्तामोड, कात्तिक १८। झापाको विर्तामोडबाट प्रकाशित जनआन्दोलन साप्ताहिक पत्रिकाका प्रकाशक यज्ञप्रसाद पाठकलाई पितृशोक परेको छ ।
उनका ८८ बर्षीय पिता टङ्कनाथ पाठकको गत सोमबार दिउँसो ३ः३० बजे निधन भएको हो । केही समय अघिदेखि श्वासप्रश्वास र मुटु सम्बन्धी रोगबाट पीडित पाठकको विर्तामोड नगरपालिका–७ निजी निवासमा निधन भएको हो । उनको मंगलबार पवित्र नदी कनकाई माईमा वैदिक विधिपूर्वक अन्त्येष्टि गरी दशगात्र कर्म थालिएको छ ।
स्वर्गीय पाठकका श्रीमती रमादेवी पाठक, ६ छोराहरु सूर्यप्रसाद, हेमप्रसाद, गोपाल, यज्ञप्रसाद, टिका र पर्शुराम रहेका छन् भने ६ जना बुहारी तथा ७ छोरीहरु रहेका छन् ।
बुबा गोविन्द पाठक र आमा खड्गमायाका कोखबाट वि.सं. १९८७ साल माघ २७ गते तेह्रथुम जिल्लाको छातेढुङ्गा गाविस वडा नंं. ८ अर्चले गाउँमा जन्मनुभएका स्वर्गीय पाठक आफ्ना परिवारसँग लगभग दुई दशक अघिदेखि विर्तामोड नगरपालिका–७ मा बसोबास गर्दै आएका थिए ।
९ बर्षको उमेरमा रमादेवी उप्रेतीसँग विवाह बन्धनमा बाँधिएका उनी तेह्रथुममा रहँदासम्म परिश्रमी किसान, परिवर्तनका पक्षधर थिए भने झापामा आएर पनि कृषि तथा पशुपालन मै संलग्न थिए ।
हाल उनका माइला छोरा हेमप्रसाद पाठक अमेरिकामा छन् । हेम पाठकले हेम–सरिता एकाडेमीको स्थापना गरी बुबा टङ्कनाथ र आमा रमादेवीका नाममा पत्रकारिता र संगीत क्षेत्रमा विभिन्न पुरस्कार स्थापना गरी नेपाली पत्रकारिता, सांस्कृतिक क्षेत्रको विकासमा योगदान गरिरहेका छन् । न्यून आर्थिक अवस्था भएका बालबालिकाको शिक्षाका लागि पनि लगानी गर्दै आएका थिए ।
उनका काइला छोरा यज्ञप्रसाद पाठक लामो लगभग डेढ दशक अघिदेखि जन आन्दोलन पत्रिकाको प्रकाशकीय जिम्मेवारी सम्हालिरहेका छन् भने अन्य छोराहरु व्यापार–व्यवसायमा संलग्न छन् ।