लिम्बूको मुन्धुममा चिन्तन

0
589

काठमाडौँ, कात्तिक २०। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश नेपालमा याक्थुङ्बा लिम्बू जातिको भाषा, संस्कृति तथा संस्कार गौरवका रुपमा रहेको छ ।
एउटा समुदाय वा जातिले अवलम्बन गर्दै आएको भाषा, धर्म, संस्कृतिको जीवन्त प्रयोगलाई अर्को समुदाय वा जातिलाई चिनाउने उद्देश्यले नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शन विभागले लिम्बू जातिको मुन्धुम विषयमा आयोजना गरेको विचार गोष्ठीमा लिम्बू जातिका विद्वानले यस्तो विचार प्रकट गरेका हुन् ।
ताप्लेजुङ जिल्लाको तमोर नदी (इम्बिरी याङ्थाङ्वा) वरिपरिका खेजेनिम, इखाबु, लेलेप, लिङखिम आदि गाउँमा थातथलो बनाई सभ्यताको विकास हुँदै आएको लिम्बू जातिमा मुन्धुमको विकास भएको मानिन्छ । लिम्बू विद्वानका अनुसार मुन्धुमको अर्थ लिम्बूको सांस्कृतिक, नैतिक अवधारणा हो । यसभित्र किरातको मुख्यतया लिम्बू जातिको इतिहास, भाषा, दर्शन हुन्छ । अन्य धर्ममा जस्तै लिम्बूको मुन्धुममा स्वर्ग र नर्कको अवधारणा हुँदैन ।
सो सभ्यता अन्तर्गत मेवा खोला क्षेत्रमा थुप्रै बौद्ध गुम्बा तथा चैत्यको निर्माण भएको छ । सेन राज्य अन्तर्गत लामो समयसम्म रहेका लिम्बूहरु विसं १८२९ तिर गोर्खालीको प्रवेशपछि पृथ्वीनारायण शाहको राज्य अन्तर्गत रहेपछि सो समुदायमा हिन्दूधर्मको पनि प्रभाव परेको थियो ।
विद्वान्हरुका अनुसार लिम्बू समाजमा धर्म, इतिहास तथा संस्कृतिका विषयमा अझै बहस शुरु भएको छैन । उनीहरुका अनुसार मुन्धुमलाई हिन्दूको श्रुतिस्मृतिसँग तुलना गर्न सकिन्छ । यसले पितृको असल आत्मा र पुर्खाको पुकार गर्छ र उनीहरुको गोत्र हुँदैन ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै किराँत धर्मका विद्वान् अर्जुनबाबु माबुहाङले झण्डै २०० वर्षअघि सङ्कलित हड्सन पाण्डुलिपिमा लिम्बूका पुर्खा सिरिजङ्गाले लिम्बूलाई लिलिम याक्थुङ्हाङको सन्तान भन्ने उल्लेख गर्दै तिनको सामाजिक इतिहासलाई नै मुन्धुम भनिएको बताए । उनका अनुसार विसं १८३१ मा पृथ्वीनारायणले लिम्बूलाई लिम्बुवान् भनेर लालमोहर दिएका थिए । माबुहाङले लिम्बू जातिको उत्पत्तिको उद्गम थलो र उनीहरुको सभ्यताको शुरुवात तमोर खोलाका आसपासका क्षेत्रलाई सरकारले संरक्षण तथा विकास गर्नुपर्नेमा जोड दिए ।
भाषाविद् नोबलकिशोर राईले मुन्धुम बौद्धधर्मका साथसाथै हिन्दूधर्मबाट पनि प्रभावित रहेको र यसलाई हिन्दूको श्रुतिस्मृतिसँग तुलना गर्न सकिने बताए । उनका अनुसार हिन्दूमा झँै लिम्बूमा गोत्र नहुने र असल आत्माको पुकार गर्ने प्रचलन छ ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पूर्वकुलपति वैरागी काइँलाले नेपाली समाजमा भावनात्मक एकता र सद्भावको विकास गर्न कुनै पनि जातजातिको उद्गम सबैले जान्नुपर्ने र बुझ्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here