पाथीभरामा म्याराथुन प्रतियोगिता तथा रक्तदान

0
428

लक्ष्मीपुर, मंसीर । पाथीभरा एजुकेशनल एकाडेमीमा शुक्रवार भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा खुला मिनि म्याराथुन प्रतियोगिता तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कनपा–८ लक्ष्मीपुरमा रहेको सो विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । खुला म्याराथुन प्रतियोगितामा बिर्तामोड नपा रामचौकबाट बिद्यालय प्राङ्गणसम्मको तीन किमी दुरी ९ मिनेट ५.२५ सेकेण्डमा पूरा गरी चकचकीका प्रकाश दनुवार प्रथम भए । यस्तै सोही प्रतियोगितामा बिर्तामोडका प्रविन तामाङ द्वितीय र फुलवारीका एमडी जाहिद आलम तृतीय र कल्पना चेम्जोङ सान्त्वना घोषित भएका थिए ।
त्यस्तै सोही विद्यालयका छात्रतर्फ प्रथम राई, समीर कार्की र गौरव साँवा क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने छात्रातर्फ अनिष राजवंशी, प्रिया विष्ट र प्रिया राई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद क्रमशः पाँचहजार, तीन हजार, दुई हजार, एक हजार, मेडल, प्रमाणपत्र र टी सर्ट प्रदान गरिएको थियो । खुला म्याराथुनतर्फ ३६ जना तथा विद्यार्थीतर्फ ६५ जनाको सहभागिता रहेको थियो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा सञ्चारसेवाको प्राविधक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा प्राविधिक रिकेश गिरीको नेतृत्वमा चार सदस्यीय टोलीले काम गरेको थियो ।
यसअघि विद्यालयमा आयोजित कार्यक्रम विद्यालयका संस्थापक निर्देशक मेघराज ढुंगानाको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा सशस्त्र सुरक्षा वेस क्याम्प शनिश्चरेका प्रमुख रवीन राई, झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ढुण्डीराज गिरी, जिखेविस संखुवासभाका अध्यक्ष भरत घिमिरे, जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माइतीराज राई, जिखेविस ओखलढुंगाका अध्यक्ष रुपलाल तामाङ, लक्ष्मीपुर विकास समाजका अध्यक्ष लीलाबहादुर कटुवाल, युवा समूहका सचिव वीरबहादुर चौहान लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन प्रिन्सिपल लेखनाथ गुरागाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here