जागिर थालेदेखि भ्रष्टाचार, चार श्रीमतीको नाममा लुकाए ६ करोड

0
565

काठमाडौं,

करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोशीका निलम्बित लेखापाल (नायव सुब्बा) सुरेश अधिकारीविरुद्ध अख्यिार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।  पदीय मर्यादा विपरित कार्य गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले अधिकारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अधिकारीले आर्जन गरेको करोडौं रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनी वि.सं. २०५९ देखि ६० सम्म रोल्पाको तेवाङ्ग गाविसमा सचिव थिए । त्यसपछि २०६० देखि २०६५ सम्म उनी नेपाल टेलिकमको सहायक तह ४ को पदमा कार्यरत थिए।  टेलिकमपछि उनी निजामती सेवामा छिरेका थिए ।

लेखापाल पदमा नियुक्ति भई उनी कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर पुगेका थिए । भोजपुरबाट सरुवा भइ झरेका उनी २०६७ देखि २०७४ सम्म यातायात व्यवस्था कार्यालय कोशी, इटहरीमा लेखापालको पदमा कार्यरत रहेका थिए ।  २०७४ बैशाख ६ गते निलम्बनमा परेका अधिकारीको २०५९ देखि २०७५ सम्म आयआर्जन र सम्पत्तिको अनुसन्धान गर्दा तलव¸ प्रोत्साहन भत्ता¸ जग्गा विक्री¸ नगद अंश भर्र्पाइ र कर्जासहितबाट जम्मा ८८ लाख ३४ हजार ८ सय देखिएको छ ।

त्यही अवधिमा अधिकारीले आफ्नो र चार श्रीमतीको नाममा सम्पती जोडेका थिए । श्रीमतीहरु दुर्गा अधिकारी¸ दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी र सोममाया श्रेष्ठको नाममा सम्पती लुकाएको खुलेको छ।  अधिकारीले सासू पुष्प कुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा जाडेको र लगानी गरेको चल अचल सम्पत्ति ५ करोड ९८ लाख ६८ हजार ५ सय देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उनको वैध आम्दानी ८८ लाख ३४ हजार ८ सय रुयैयाँको तुलनामा ५ करोड १० लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको स्रोत नखुलेको जनाएको छ ।  अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार सरकारी जागिरे भएपछि कमाएको सम्पत्तिको स्रोत उनले पुष्टि गर्न सकेनन् ।  अख्तियारले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुने भन्दै अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय रुपैयाँ बिगो कायम गरी कैद सजाय र त्यही रकम बरावरको सम्पत्ति जफत गर्न मागसहित मुद्दा दायर गरेको हो ।

यसैगरी अधिकारीसहित उनका चारैजना श्रीमती, सासू र मामासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here