बिर्तामोड,
राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर झापाका दुईसहित प्रदेश नं. १ का चार जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।
यसरी सम्मानित हुने पत्रकारहरुमा पूर्वाञ्चल दैनिकका स्तम्भकार अग्रज पत्रकार नकुल काजी, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की र कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार हर्ष सुब्बा रहेका छन् ।
आन्तरिक मामिला एवम् कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई जनही नगद एक लाख रुपैयाँ, कदरपत्रसहित सम्मान गरिएको हो । उनीहरुलाई प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री राईले प्रदेश सरकारले मिडिया क्षेत्रको सम्मान गर्ने कार्यक्रमको शुरुवात गरेको जानकारी दिए । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रत्येक साल दुई–दुई जना अग्रज पत्रकारलाई सम्मान गर्ने बताउँदै अघिल्लो साल कार्यक्रम नगरिएको हुँदा यसपटक चारजनालाई एकैस्थानबाट सम्मान गरिएको जानकारी दिए ।
कार्यक्रममा सम्मानित पत्रकार नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले पत्रकारितालाई अझ मर्यादित बनाउन जरुरी भएको बताए । त्यस्तै कार्यक्रममा सञ्चार कार्यदलका संयोजक यज्ञ शर्मा, मोरङ प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली, कौशल चेम्जोङ र नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइँटेल लगायतले मन्तव्य राखेका थिए ।