स्वास्थ्य संस्था दर्ता बिना सञ्चालन गर्न नपाइने

0
531

दमक।

झापाको दमक नगरपालिकाले जथाभावी रुपमा सञ्चालन भएका स्वास्थ्य संस्था तथा क्लिनिकहरु दर्ता बिना सञ्चालन गर्न नपाउने गरी स्थानीय बजार ब्यवस्थापन नियमावली पारित गरेको छ ।

दमकमा ५० भन्दा बढी औषधि पसलहरुले क्लिनिक सञ्चालन गर्दै आएका छन् भने एक सयभन्दा बढी प्याथोलोजीहरु बिना दर्ता नै सञ्चालनमा रहेका छन् । औषधि पसल तथा क्लिनिकहरुले प्रतिबन्धित औषधिहरु बिक्री–वितरण गरिरहेको पाइएपछि यस बिषयमा समेत नगरपालिकाले कडा नियम पारित गरेको छ । प्रतिबन्धित औषधि लगातर तीन पटकसम्म बिक्री गरेको पाइए दर्ता खारेजीसम्मको नियमावली पारित भएको छ । पहिलो पटक पाँच हजार र दोस्रो पटक २० हजार र तेस्रो पटक भए दर्ता खारेजी हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को अधिकार प्रयोग गरी नगर कार्यपालिकाले स्थानीय बजार व्यवस्थापन नियमावली २०७४ बनाएर यसलाइ दर्ता प्रक्रियामा ल्याउने भएको हो । दमक नगरपालिकाको दोस्रो नगरसभाबाट नियमावली पारित भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । उनका अनुसार अब बजार अनुगमन र बिना दर्ता सञ्चालनमा आएका स्वास्थ्य संस्था लगायत सबै प्रकारका ब्यावसायिक फर्महरु सञ्चालन गर्न पाइने छैन ।

अधिकांश सेवा प्रदायक संस्थाहरु दर्ता प्रक्रिया बिना नै सञ्चालनमा हुँदै आएको अवस्थामा नगरपालिकाले सबैलाई दर्ता प्रक्रियामा ल्याउन लागेको जनाइएको छ । नगरपालिका प्रमुख ओलीले भने– ‘नगर कार्यपालिकाभित्र कुनै पनि प्रकारका उद्योग, स्वास्थ्य क्लिनिक, व्यापार, व्यावसायहरु तथा सेवा प्रदायक व्यावसायहरु नगरपालिकाको स्वीकृति र दर्ता बिना सञ्चालन गर्न पाइने छैन ।’

त्यस्तै मन्दिर आसपास तीन सय मिटरभित्र माछा मासु मदिरा पसल राख्न नपाइने, अस्पतालको पाँच सय मिटर आसपास मदिरा पसल, गृल उद्योग, फर्निचर उद्योग, ठूलो आवाज आउने व्यावसाय गर्न नदिइने समेत नियमावलीमा उल्लेख छ । अहिले नगरभित्र यो पालना भएको पाइएको छैन । बिद्यालयको तीन सय मिटर आसपास धूमपान, मद्यपान, गृल उद्योग, फर्निचर उद्योग, ठूलो आवाज आउने व्यावसाय गर्न समेत प्रतिबन्ध लगाइने नियमावलीमा रहेको छ ।

थोक मूल्य सूची र मूल्य निर्धारण समिति सम्बन्धी व्यवस्था समेत नियमावलीमा उल्लेख रहेको छ । नियमावलीमा भनिएको छ– बजारमा बिक्रीमा राखिएका फलफूल, तरकारी, गल्लाकिराना, कस्मेटिक सामानको अनिवार्य मूल्य सूची सार्वजनिक गरेर मात्र बेचबिखन गर्न पाइनेछ । मूल्य सूची नराखी बेचबिखन गरेको पाइएमा नियम अनुसार दण्ड जरिवाना हुनेछ ।

सागसब्जी तथा फलफूलको प्रत्येक तीन–तीन दिनमा, गल्ला किराना पसल प्रत्येक सात–सात दिनमा, कस्मेटिक सामानमा बस्तुको मूल्य स्टिकरमा राखी बिक्री गर्नुपर्ने, एक दामको पसलमा एकलटमा खरिद भएका सामान बिक्री पश्चात पुनः मूल्य निर्धारण गर्नुपर्ने ब्यवस्था नियमावलीमा गरिएको नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । बजारमा एकरुपता ल्याउन र उपभोक्तालाई ठगिनबाट जोगाउनका लागि दण्ड सजायसहितको नियमावली पारित भएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here