शान्तिनगर।
कृषि क्षेत्रमा उच्च रासायनिक विषादि प्रयोग न्यूनीकरण तथा स्वास्थ्य बाली उत्पादन सम्बन्धी ‘एक दिवसीय विषादि न्यूनीकरण तालिम’ सुनमाईमा सम्पन्न भएको छ ।
बुद्धशान्ति गाउँपालिका कृषि शाखाको आयोजना र आर्थिक सहयोगमा भएको तालिममा माटो परीक्षणको विधि, रासायनिक विषादि र मलखादको प्रयोगले माटो र मानव स्वास्थ्यमा पु¥याउने असरका बारेमा सहभागी किसानहरुलाई जानकारी दिइएको थियो ।
तालिममा ७ नम्वर वडाका ४० जना किसानहरुको सहभागिता रहेको थियो । साविक शान्तिनगर हरियो तरकारीको पकेट क्षेत्रको रुपमा चिनिन्छ । तर, पछिल्लो समय रासायनिक विषादिका कारण यहाँको कृषिजन्य वस्तुमा प्रयोगले विभिन्न रोग ल्याउने रवाफ फैलिएपछि गाउँपालिकाले बुद्धशान्ति गाउँपालिकाको सातवटै वडामा चेतनामुलक कार्यक्रममा सञ्चालन गरेको हो ।
गत बैशाख २० गतेबाट सञ्चालक गरिएको चेतनामुलक तालिम वडा नम्वर ६, ७, ३, २ र ५ मा सम्पन्न भएको छ भने बाँकी रहेका वडामा आगामी दिनमा सञ्चालन गरिने बुद्धशान्ति गाउँपालिका कृषि शाखाका प्रमुख भूपेन्द्रकुमार यादवले जानकारी दिए ।
उनका अनुसार यस किसिमको तालिमबाट किसानले गर्दै गरेको कृषि प्रणालिलाई परिवर्तन गर्न सहज पुग्छ । सहभागीको तर्फबाट अगुवा किसान चेतन पौड्याल र डिकुरा घिमिरेले तालिम प्रभावकारी भएको प्रतिक्रिया दिए । तालिमको सहजीकरण फणिन्द्र ढुङ्गानाले गरेका थिए ।
बुद्धशान्ति गाउँपालिका मूल कृषक समूह वडा नं. ७ का अध्यक्ष खगेन्द्र गड्तौलाको अध्यक्षता तथा वडा नं. ७ का वडा सदस्य मातृकाप्रसाद निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परिकल्पना जल स्प्रिङ्कलर उपभोक्ता समितिका अध्यक्ष तीर्थप्रसाद पोख्रेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन तारा निरौलाले गरेकी थिइन् ।