जहाँ आन्दोलनको प्रभाव छैन

२७ बैशाख २०७६, शुक्रबार मा प्रकाशित

पार्थ मण्डल / भद्रपुर।

पूर्वमा चिया मजदुर आन्दोलित भएको बिहीबार ४१औँ दिन पुग्यो । उद्योगले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न नमानेपछि चिया मजदुरको आन्दोलन लामो समयसम्म चल्यो ।

झापामा करिब ५० हजारभन्दा बढी चिया मजदुर छन् । ती मजदुर जिल्लामा सञ्चालित दुई दर्जनभन्दा बढी चिया उद्योगमा कार्यरत छन् । साना किसानद्वारा स्थापित उद्योग बाहेक सबै चिया उद्योग बन्द छन् । बगानमा चियापत्ती नटिप्दा चिया काम नलाग्ने भएको छ ।
उद्योगको गेटमा ताल्चा लागेकोले झार उम्रिएको छ । उद्योग नचल्दा मेसिनरी औजारमा खिया लाग्न थालिसकेको छ । उद्योगीहरू सरकारलाई गुहार्दै काठमाडौँ धाउँदैछन् भने मजदुरहरु कहिले सडकमा सुत्ने, कहिले पुत्ला दहन गर्ने, कहिले थाल बजाउँदै प्रदर्शन गर्नेदेखि उद्योगमा तोडफोडसम्म गर्दैछन् ।

यति हुँदा पनि ठूला उद्योगी र चिया मजदुर सङ्गठनबीच अहिलेसम्म वार्ता भएको छैन । दुवै पक्षको आ–आफ्नो अडानले ज्याला मजदुरी गरी परिवार पाल्ने मजदुर साथै ५देखि १० कठ्ठामा चिया बगान लगाएका साना चिया किसानहरू पनि हरियोपत्ती टिप्न नपाउँदा मारमा परेका छन् ।

मजदुर आन्दोलनका कारण अहिलेसम्ममा करोडभन्दा बढी मूल्य बराबरको हरियोपत्ती नष्ट भइसकेको चिया उद्योगी जेपी शर्माले बताए । हरियोपत्तीबाट करिब २० करोडभन्दा बढी मूल्यको चिया उत्पादन हुन्थ्यो, त्यसबाट राज्यलाई तिर्ने राजश्वमा समेत प्रभाव परेको उनको भनाइ छ ।

मजदुरलाई नै थाह छैन न्यूनतम् पारिश्रमिक !

चिया मजदुर संगठन र साना किसान चिया उद्योगीबीच सम्झौता भएपछि झापामा चारवटा साना किसानको चिया उद्योग सञ्चालनमा आइसकेको छ ।

हल्दिवारीको पाराखोपी साना किसान सहकारी संस्थाको चिया प्रशोधन कारखाना, साना किसान चिया उत्पादक संघको चिया प्रशोधन कारखाना, भद्रपुरको साना किसान कृषि सहकारी संस्थाको सहकारी चिया प्रशोधन कारखाना पृथ्वीनगर र मेचीनगरको शुभ चिया सहकारी संस्था बाहुनडाँगी सञ्चालनमा आएको छ । यी उद्योग सञ्चालनमा आएपछि चिया मजदुरहरूले हरियोपत्ती टिप्न शुरु गरिसकेका छन् ।

केही मजदुर न्यूनतम् पारिश्रमिकका लागि आन्दोलन गर्न सडकमा उत्रिएका छन् भने केही बगानमा काम गर्न थालिसकेका छन् ।

आन्दोलनकै चरणमा बगानमा काम गर्न थालेका मौसमी चिया मजदुरलाई सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नै थाह नभएको पाइयो । साना चिया प्रशोधन कारखाना सञ्चालनमा आएपछि न्यूनतम् पारिश्रमिक पाए–नपाएको बुझ्न पूर्वाञ्चलकर्मी हरियोपत्ती टिप्दै गरेको हल्दिवारी–२स्थित चिया बगानमा पुग्दा मजदुर चियापत्ती टिप्दै थिए ।

सरकारले तोकेको न्यूनतम् पारिश्रमिक ३८५ रुपैयाँ नै पाउँदै हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनीहरुले भने– ‘हामी पुरानै पारिश्रमिकमा काम गर्दैछौ, नयाँ पारिश्रमिक हामीलाई थाह छैन ।’ बिहान ७ बजेदेखि ११ बजेसम्म हामी हरियोपत्ती टिप्छौं– चिया मजदुर बुद्धसरी राजवंशीले भनिन्– ‘२७ केजी पत्ती टिप्दा २२५ रुपैयाँ दिने गरेको थियो, त्यही दिन्छ रे, र त्यो भन्दा बढी पत्ती टिपे प्रतिकेजी साढे दुई रुपैयाँ दिन्छन् ।’

‘मजदुर सङ्गठन र साना उद्योगीबीच भएको सम्झौता बारेमा हामीलाई केही थाह छैन, बगानमा पत्ती टिप्न जानु भनेपछि हामी आएका हौ’– मजदुर भीमबहादुर कार्कीले भने– ‘मजदुरहरू चार घण्टाभन्दा बढी काम गर्न चाहँदैनन्, साहुले पनि चार घण्टा गरेकै ज्याला २२५ दिन्छु भनेको छ, एउटा मजदुरले चार घण्टामा ४०देखि ६० केजीसम्म पत्ती टिप्छ ।’

उनले भने– ‘सरकारले तोकेको ज्यालाको विषयमा साहुसँग कुरा गर्दा साहु भन्छन्– त्यसो भए अन्यत्र गएर काम गर्नु, हामी मजदुरलाई त्योभन्दा बढी ज्याला दिन सक्दैनौ ।’

मजदुर आन्दोलनको प्रभाव परेन

भद्रपुर–१ स्थित पृथ्वीनगरमा सञ्चालित साना किसान कृषि सहकारी संस्थाको सहकारी चिया प्रशोधन कारखानामा मजदुर आन्दोलनको कुनै प्रभाव परेको छैन । ४१औं दिनदेखि मजदुर सडकमा उत्रिएर सरकारसँग न्याय माग्दै गरेको अवस्थामा चिया कारखानामा कार्यरत २२ जना भन्दा बढी चिया मजदुर चियापत्ती सुकाउने, मेसिनमा हाल्ने, ग्रेडिङ् छुट्याउनेदेखि प्याकेजिङ गरी गाडीमा हालेर बजार पठाउनमा नै व्यस्त थिए ।

सात करोडको लगानीमा २०७१ सालमा स्थापना भएको यो चिया कारखानाले हालसम्म कुनै पनि बन्द हड्ताल भोग्नुपरेको छैन । तीन करोड १० लाख सरकारी अनुदान र बाँकी सहकारी माध्यमबाट सञ्चालित उक्त उद्योगमा काम गर्ने सबै मजदुर सहकारीका शेयर सदस्य हुन् । उद्योगका शेयर सदस्य नै मजदुर भएकाले किसानले लगाएको चिया न बिग्रियो नै, न त नटिपेर छिप्पिएको छ ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकले यहाँका शेयरधनी अर्थात् मजदुरलाई कुनै असर नपरेको शेयरधनी नवीन भट्टराईले बताए । ‘हामी आफैं काम गछौँ, उद्योगभित्र काम गर्ने दक्ष जनशक्तिलाई पनि मासिक पारिश्रमिक दिएकै छौं, आठ घण्टा काम गर्नेले पनि मासिक पारिश्रमिक पाएका छन्, त्यसैले कुनै विवाद नै छैन’– उनले थपे ।

कारखानाले प्रतिकिलो १८देखि २५ रुपैयाँसम्ममा चियापत्ती खरिद गर्दै आएको छ । उद्योगको क्षमता एकपटकमा ६ लाख किलो चिया प्रशोधन गर्ने भए पनि हाल चार लाख किलो चिया मात्रै प्रशोधन गर्दै आएको उद्योगका लेखा अधिकृत चूडामणि खतिवडाले बताए । पछिल्लो समय चिया मजदुरको आन्दोलनका कारण बजारमा निस्किएका तयारी चिया सकिँदै जाँदा आफूहरूले उत्पादन गरेको चियाको माग बढी भएको उनले बताए ।

यसकारण चिया उद्योगी र मजदुर नेताबीच विवाद

सरकारले २०५०को चिया श्रम नियमावलीलाई खारेज गर्दै २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन ‘२०७४’ लाई २०७५÷७६ को बजेट भाषणमार्फत लागू गर्दै चिया मजदुरलाई न्यूनतम् ज्याला तीन सय ८५ सहित अन्य सेवासुविधा पाउने घोषणा गरेको छ ।

उद्योगले त्यसअघि स्थायी कामदारलाई २ सय ७८ रुपैयाँ ज्यालासहित ५ प्रतिशत सञ्चयकोष, ५ प्रतिशत उपदान, १३ दिन सार्वजनिक बिदा, १२ दिन घर बिदा, साढे सात दिन बिरामी बिदा र २६ दिनको बोनस गरी वार्षिक १ लाख ८ हजार ३ रुपैयाँ दिँदै आएका थियो ।

समग्रमा एक दिन बराबर ३६० रुपैयाँ ज्याला पर्न जान्थ्यो । तर, सरकारले श्रम ऐन लागू गरेपछि स्थायी, अस्थायी, मौसमी वा एकदिन काम गरेको मजदुरलाई पनि ३८५ रुपैयाँ ज्यालासँगै १० प्रतिशत सञ्चय कोष, ८.३३ प्रतिशत उपदान, १.६७ बिमा, सार्वजनिक बिदा, बिरामी बिदा, घर बिदा र बोनस दिने नीति ल्याएको छ ।

त्यसो गर्दा एक मजदुर बराबर वार्षिक १ लाख १९ हजार ५४० रुपैयाँ अर्थात् एक दिन बराबर ३९८ रुपैयाँ दिनुपर्ने हुन्छ । सरकारले तोकेको श्रम ऐनले चिया उद्योग धरासायी हुने भन्दै उद्योगीहरुले उद्योग बन्द गरेका छन् भने चिया मजदुर सङ्गठन र नेताहरू सरकारले तोकेको ज्यालासहितको सेवासुविधा पाउनुपर्ने माग राख्दै आन्दोलित बनेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here