समाज रुपान्तरणमा शिक्षाको योगदान

३१ बैशाख २०७६, मंगलवार मा प्रकाशित

झापाको पुरानो मध्येको एक महेन्द्र–रत्न माध्यमिक विद्यालयको नमूना विद्यालय शैक्षिक भवनको निर्माण कार्यको शुभारम्भ भएको छ । प्रारम्भिक चरणमा आठ कोठाको सो भवनको निर्माणकार्यको शुभारम्भ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले गरेका थिए ।

महेन्द्र–रत्न झापाको पुरानो मात्र होइन, भौतिक संरचना, गुणस्तरीय शिक्षा अतिरिक्त क्रियाकलाप र उपस्थितिका दृष्टिले समेत अब्बल रहेको छ । जिल्लाको केन्द्रमा रहेको सो विद्यालयलाई स्थानीय दाताहरुको खुल्ला हृदयको सहयोगले यी सबै विशिष्टता हासिल गर्न सघाउ पु¥याएको छ ।

राणाकाल मै अनारमनी बिर्ताबजार जिल्लाकै मुख्य केन्द्रका रुपमा थियो । त्यही अनारमनीमा विराटनगरबाट आएका वडाहाकिम भूपालमान सिंह कार्कीले शिक्षालयको आवश्यकता महशुस गरी भारतको विहारबाट शिक्षक झिकाएर शारदा प्राथमिक विद्यालयको स्थापना गरे । उनका छोराले समेत त्यही विद्यालयबाट अक्षराम्भ गरेको जान्ने अझै छन् ।

कालान्तरमा बिर्ताबजारमा ‘निशी निवास’ बन्दै गर्दा पढेलेखका युवा छात्रकेशरी प्रसाईं जो पछि ‘भरतबाबु’ नामबाट प्रतिष्ठित भए । उनले आफ्नो निवास बनाउँदै गर्दा चार कोठे भवन बनाइ दिएर औपचारिक शिक्षाको प्रारम्भ गरिएको महेन्द्र–रत्न मल्टीपर्पस विद्यालय नै अहिलेको महेन्द्र–रत्न माध्यमिक विद्यालय हो ।

तत्कालीन गरामनी, चारपाने, सैनिकबजारदेखि उत्तरमा जिरायत र पूर्वमा धाइजनसम्मका विद्यार्थीको माध्यमिक तहसम्मको पढाइ हुने सो विद्यालयको पकड क्षेत्र अहिले खुम्चिएको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरु थपिएका छन् भने निजी र अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालय त अनगिन्ती नै छन् । यस्तोमा महेन्द्र–रत्न ‘हिङ बाँधेको टालो’ झैं विगतका उदाहरण र विशिष्टताले पृथक पहिचान बोकेर उभिएकै छ ।

पछिल्लो समय अभिभावकको अंग्रेजी माध्यमको पढाइप्रतिको मोहका कारण अंग्रेजी माध्यमबाट पनि अध्यापन गर्दै रहेको सो विद्यालय नमूना विद्यालयका रुपमा छनौट भएपछि विशेष ढंगले सञ्चालन गर्नुपर्ने चुनौतिको सामना गर्दैछ । त्यही चुनौतिका लागि स्थानीय दाता झाँझीसिंह राजवंशीले निःशुल्क प्रदान गरेको नौ विगाह क्षेत्रफलको जग्गामा आधुनिक र सुविधासम्पन्न विद्यालय भवन निर्माण गर्न तम्सिएको छ ।

शिक्षालाई आफूसँगै समाज रुपान्तरण्को स्रोतका रुपमा लिइनु पर्दछ । निर्वाहका लागि मात्रै लिइने शिक्षाले असल नागरिक बनाउन सक्दैन । शिक्षाले समाज, देश र माटोलाई आफूसँग जोड्नु पर्दछ । आदर्श, नैतिक मूल्य र मान्यता, सदाचारिता, राष्ट्रप्रेम जनजनमा प्रवेश गर्नुपर्दछ ।

यसका लागि आवश्यक वातावरण सृजना गर्ने दायित्व सरकारको हो । सरकारले नै भोलिको सुन्दर नेपाल निर्माण गर्ने आधार, वातावरण र परिवेश तयार गर्नुपर्छ । यसका लागि शिक्षालय राजनीतिक चलखेलबाट मुक्त हुनुपर्छ । शिक्षा मात्र होइन राष्ट्रसेवाका सबै क्षेत्रका कार्यरत व्यक्ति आग्रह, पूर्वाग्रहबाट अलग निरपेक्ष रहनु पर्दछ । महेन्द्र–रत्न माध्यमिक विद्यालय पूर्वाग्रहबाट अलग निरपेक्ष रहनुपर्दछ ।

महेन्द्र–रत्न माध्यमिक विद्यालयको मात्र होइन सम्पूर्ण शिक्षालयहरु राजनीतिक दल, नेतृत्वहरुको विचार, आग्रहबाट स्वतन्त्र हुन सके शिक्षा जीवन पद्धति बन्न सक्छ । समाज सौन्दर्यको आधार र समाज रुपान्तरणको माध्यम बन्न सक्छ । यसतर्फ सम्बद्ध सबैको चिन्ता, चासो र अग्रसरता होस् । यसले मात्र महेन्द्र–रत्न र ऊ जस्तै सबैले निर्दिष्ट लक्ष्य हासिल गर्न सक्नेछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here