भद्रपुर।
१३ जातजातिकोे सामुहिक मठमन्दिर रहेको भद्रपुर–२ स्थित कमलधापमा प्रथम कमलधाप उभौली सांस्कृतिक महोत्सवको तयारी गरिएको छ ।
भद्रपुर नगरपालिकाभित्र रहेको धर्म तथा संस्कृतिसँग जोडिएको कमलधापलाई धार्मिक र जातीय सहिष्णुताको विकास गरी पर्यटन प्रर्वद्धन गराउने उद्देश्यले पहिलो पटक उभौली सांस्कृतिक महोत्सवको तयारी गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो । आगामी जेठ ४ गते बुद्ध पूर्णिमादेखि ९ गते पञ्चमीसम्म महोत्वसको आयोजना गर्ने तयारी गरिएको आयोजक समितिले जानकारी गराएको हो ।
महोत्सवमा विभिन्न जातजातिका भेषभुषा, सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारको सांगतिक प्रस्तुति, खेलकुद, रोटेपिङ, रेलसहित विभिन्न ११ प्रकारका मनोरञ्जनात्मक खेल सामग्री प्रदर्शन लगायतका विभिन्न जातीय स्टलहरु रहने महोत्सव आयोजक समितिका अध्यक्ष मानबहादुुुर तामाङले जानकारी दिए ।
उनका अनुसार संयुक्त धार्मिक स्थल महासंघ कमलधाप, कमालधाप पर्यटन क्षेत्र विकास समिति, गौरीशंकर खानेपानी तथा सरसफाई समिति, विशाल सामुदायिक वन उपभोक्ता समूह, कमलधाप रामपोखरी वन, संगम युवा परिवार, कोसेली समाज परिवार , विशाल युवा परिवार लगायत स्थानीय संघ–संस्था, राजनीतिक दल, समाजसेवीहरु लगायतको प्रतिनिधत्व रहने गरी ५१ सदस्यसीय मूल मोहत्सव आयोजक समिति गठन गरिएको तथा १३ सदस्यीय सल्लाहकार समिति गठन गरेको जानकारी दिइयो ।
प्रतियोगिता सम्पन्न गराउने १० लाख बढीको खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष फणिन्द्र दाहालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय स्तरका कलाकारहरु हिमाल सागर, श्रीकृष्ण लुइँटेल (बोकेदारी), सविन लिम्बू, डम्बर नेपाली, निरोज लामा, प्रमोद खरेलले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने र कार्यक्रम सञ्चालकका रुपमा नायक श्रीदेव भट्टराई रहने बताइएको छ ।
महोत्सवमा एक लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिएको र महोत्सवबाट बचत हुने रकमलाई कमलधामको विकास प्रवद्र्धनमा खर्च गरिने अध्यक्ष तामाङले बताए । प्रदेश सांसद बसन्त बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले मन्तव्य राख्दै यस क्षेत्रको विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकारले बहुबर्षीय गुरुयोजना बनाएर काम अघि सारेको बताए ।
कार्यक्रमको सञ्चालन सचिव राजु दाहालले गरेका थिए । कार्यक्रममा २ नम्बर वडा अध्यक्ष भीम सुब्बा, ३ नम्बर वडा अध्यक्ष कमला थुलुङ, नेकपाका जिल्ला सदस्यद्धय असारु राजवंशी, नरेश सञ्जेल, नेकपाका भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, तरुण दलका क्षेत्रीय सभापति खडक सुब्बा लगायतको सहभागिता रहेको थियो ।