अर्जुनधारा।
झापाको अर्जुनधारा–९ स्थित क्षमता विकास तालिम उपभोक्ता समितिको आयोजनामा बिहीबारदेखि तीन दिवसीय व्यावसायिक अचार बनाउने तालिम शुरु भएको छ ।
चालू आर्थिक वर्षको क्षमता विकास कार्यक्रम अन्र्तगत अर्जुनधारा–९ वडा बजेटबाट विनियोजित एक लाख रुपैयाँ आर्थिक सहयोगमा आयोजना गरिएको उक्त तालिम स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको वडा सदस्य हरिमाया दाहालले बताइन् ।
स्थानीय शिव बाबा अचार जुस उद्योगका सञ्चालक दीनानाथ शिवाकोटीले सहजीकरण गरिरहेको तालिममा ५० जनाको सहभागिता रहेको बताइएको छ ।
समितिकी अध्यक्ष विद्या तिम्सिनाको अध्यक्षता र वडाध्यक्ष पुष्पकुमार प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नगर सदस्य युवराज प्रसाईं, नेपाली कांग्रेस वडा सभापति लीला पौड्याल, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वडा सदस्य नरेन्द्र अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन थीरप्रसाद दाहालले गरेका थिए ।