गौरीशंकरमा जापानीज नागरिकले बनाइदिए शौचालय

0
754

बिर्तामोड।

जापानी नागरिक तोसीरो हिरोता र हात्च्यूए हिरोताले बाह्रदशी गाउँपालिका–७ मा रहेको गौरीशंकर माविलाई सुविधासम्पन्न शौचालय निर्माण गरिदिएका छन् ।

१० लाख रुपैयाँको लागतमा उनीहरुले जापानीज प्रविधिमा आधारित छात्रामैत्री शौचालय निर्माण गरिदिएका हुन् । निर्माण गरिएको शौचालय विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । हिरोता दम्पत्तिले विद्यालय व्वस्थापन समिति अध्यक्ष महेशकुमार झा र प्रधानाध्यापक लेखनाथ कटुवाललाई शौचालयको चाबी हस्तान्तरण गरेका थिए ।

यसअघि हिरोता दम्पत्तिले सोही विद्यालयलाई चारकोठे भवन प्रदान गरेका छन् । झण्डै ६० लाख रुपैयाँको लागतमा गत वर्ष उनीहरुले विद्यालय भवन निर्माण गरिदिएका थिए । गत वर्ष विद्यालय हस्तान्तरण समारोहमा आएका हिरोता दम्पत्तिले शौचालयको समस्या देखेपछि छात्रामैत्री शौचालय निर्माणको घोषणा गरेका थिए ।

झापाको भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा विद्यालय भवन र शौचालय निर्माण गरेको बताइएको छ । भवन निर्माण र शौचालय निर्माणका लागि घनश्याम स्मृति प्रतिष्ठानका सदस्य डा. राजीव खनालले महत्वपूर्ण भूमिका खेलेको विद्यालयका प्रधानाध्यापक कटुवालले बताए । घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा झापाका विभिन्न विद्यालयलाई जेएचपीको सहयोगमा विद्यालय भवन, खानेपानी ट्यांकी र शौचालय निर्माणमा सहयोग पुर्याउँदै आएको छ ।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपाध्यक्ष डा. द्रोण पौडेल, कोषाध्यक्ष तारा खनाल, सदस्य सन्तोष पोखरेल, प्रतिमा रिजाल खनाल, सरस्वती मावि बुट्टाबारीका व्यवस्थापन समिति अध्यक्ष राजुजंग कन्दङ्वा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोचन गुरागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here