भरपर्दो बन्दैछन् सर्पदंश उपचार केन्द्रहरु

१९ असार २०७६, बिहीबार मा प्रकाशित

भद्रपुर ।

सर्पले डसेका विरामीका लागि झापा जिल्लामा सञ्चालित उपचार केन्द्रहरु साधनस्रोतले न्यून सुविधायुक्त भए पनि भरपर्दो बनेका छन् ।

झापाको मेचीनगर, कनकाई र दमक नगरपालिकामा तीन वटा सर्पदंश उपचार केन्द्र छन् । जहाँ सर्पले डसेका दुई हजारभन्दा बढी विरामीको वर्षेनी ज्यान बचाउने गरिएको छ ।

मेचीनगरको चारआलीस्थित नेपाली सेनाको श्रीनाथ गणमा रहेको सर्पदंश उपचार केन्द्र नेपालकै पुरानोमध्येको उपचार केन्द्र हो । सुरुमा सर्पले डसेका सैनिकको उपचार गर्न व्यारेकभित्रै खोलिएको यो केन्द्र वि.सं. २०६२ सालदेखि समुदायले सञ्चालन गर्दै आएको छ ।

सेनाकै प्राविधिकको सहयोगमा चल्दै आएको यस केन्द्रमा उपचारका लागि ताप्लेजुङ, पाँचथर, इलाम र भारतको दार्जीलिङदेखि सर्पदंशका विरामीको घुइँचो लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा यहाँबाट एक हजार ४९० जनाले उपचार सेवा लिएको प्राविधिक ऋषिराम पोखरेल बताउनुहुन्छ ।

पश्चिम झापाको दमकमा नेपाल रेडक्रस सोसाइटीले सर्पदंश उपचार सेवा सञ्चालन गरेको एक दशकभन्दा बढी भयो । यहाँ चालू आर्थिक वर्षमा ८९० जना सर्पले डसेका विरामीले उपचार सेवा लिएको प्राविधिक खेम अधिकारीले जानकारी दिनुभयो ।

मध्य झापाको कनकाईमा सहारा नेपाल नामक गैरसरकारी संस्थाले सर्पदंशका विरामीका लागि तीन वर्ष अघिदेखि सुविधा सम्पन्न उपचार केन्द्र सञ्चालन गरिरहेको छ । कनकाई सहारा सर्पदंश उपचार केन्द्र सुरुंगामा विरामीको चाप केही कम छ । प्राविधिक सागर ढुङ्गेलका अनुसार चालु आवमा २५० जना सर्पले डसेका विरामीले यहाँबाट उपचार लिएका छन् ।

पूर्वी नेपालको तराईमा गोमन र करेत जस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा उपचार केन्द्र नलगेमा विरामी मृत्युको मुखमा पुग्ने दमकका डा. अमृत पोखरेल बताउनुहुन्छ ।

कम विषालु र विष नभएका अन्य थुप्रै प्रजातिका सर्पहरुले पनि डसेपछि मानिसहरु अत्तालिएर उपचार केन्द्र पुग्ने गरेका छन् । गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको पाइन्छ । विषालु सर्पले डसेका विरामीले ढिलो उपचार पाएमा पनि सर्पले डसेको अङ्ग काम नलाग्ने गरी जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् ।

सर्पदंशको सफल उपचार गरेर वर्षेनी दुई हजारभन्दा बढी सर्वसाधारणको ज्यान जोगाउने यस्ता उपचार केन्द्रहरुलाई साधनस्रोत र आधुनिक सुविधाले सम्पन्न तुल्याउन भने सरकारी निकायको ध्यान पुग्न नसकेको पत्रकार अर्जुन कार्की बताउनुहुन्छ ।

सबैभन्दा बढी विरामीको चाप हुने नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गण परिसरमा सर्वसाधारणको चन्दा, स्थानीय तहका सरकारहरुको अनुदान र केही सांसदहरुको पहलमा विकास कोषबाट रु. ७५ लाखको लगानीमा भेन्टिलेटर सुविधासहितको आइसीयु कक्षका लागि भवन निर्माण गरिसकिएको छ । तर आइसीयु र भेन्टिलेटर सुविधाका लागि आग्रह गरिएको धेरै समय भइसक्दा समेत सरकारी तहबाट सहयोग नआएको छैन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here