विराटनगर,
मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया खोलाको पुलमा टिपरले ठक्कर दिंदा बिहीबार साँझ एक जना साइकल यात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ क ८४०६ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा सुन्दहरैंचा–६ का ६५ वर्षीय बलराम राईको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका साइकल यात्री राईको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा साँझ ७ बजे मृत्यु भएको हो ।
साइकल आफै अनियन्त्रित भएर पल्टिएपछि तीव्र गतिमा रहेको मिक्स गिट्टी लोड गरेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
राजमार्गको पुलको बीचमा दुर्घटना भएपछि केही बेर राजमार्ग अवरुद्ध भएको थियो । टिपर बी कोई बिल्डर्स प्राली शाखा कार्यालय हरिनगरा सुनसरीको हो । टिपर र चालक ३० वर्षीय विष्णुकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।