मृतकको नाममा अनुदान ! अख्तियारबाट ‘छानविन’

0
433

दमक।

झापा गौरीगञ्जका किसानहरुले कारोबारीमा रहेका तीनवटा कृषक समूहले किर्ते कागजात बनाएर मृतकको नाममा समेत कृषि ज्ञान केन्द्रबाट अनुदान लिएको विषयमा छानविन तथा दोषीमाथि कार्वाही गर्न छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।

गाउँपालिकामा भएको किसानहरुको छलफलबाट यस्तो निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । कृषि ज्ञान केन्द्र झापाले चैते धान खेती बिस्तारका लागि किसानलाई ६ हजार ६ सय ६६ का दरले अनुदान रकम वितरण गर्न भनेर यहाँका ३ वटा सहकारी संस्थाको नाममा १५ लाख १८ हजार निकासा गरेको थियो । यो थाहा पाएपछि किसानहरुले आफूहरुले रकम नपाएको र यो भ्रष्टाचार भएको भन्दै गाउँपालिकामा ध्यानाकर्षण गराएका थिए ।

२०४९ सालमा मरेको मानिसको नाममा समेत अनुदान रकम आएको र त्यो रकम सम्बन्धित परिवारका आफन्तले समेत नपाएको पाइएपछि यो विषयले गाउँपालिकामा तनाव समेत उत्पन्न भएको थियो । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गलत कार्यलाई प्रोत्साहन नगर्नका लागि निष्पक्ष छानविन गर्न आवश्यक भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरोस् भन्ने चाहना आफूहरुको पनि रहेको बताए ।

स्थानीय किसान श्याम न्यौपानेले आफ्नो मृत्यु भइसकेकी हजुरआमाका नाममा कृषि ज्ञान केन्द्र झापामा ल्याप्चे (हस्ताक्षर) गरेर अनुदान लिएको पाएको बताउदै यस्तो कार्य गर्नेलाई कडा कार्वाही हुनुपर्ने बताए ।

यसैगरी कोरोवारीका किसान फागुलाल राजवंशीले पनि २०४९ सालमा आफ्नो बुबाको निधन भएको तर उहाँको धनीपुर्जा प्रयोग गरेर राहत लिएको पाएपछि आश्चर्यमा परेको बताए । आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा अनुदान ल्याएर वितरण नभएको थाह पाएपछि ४० भन्दा बढी किसानले गाउँपालिका अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराउँदै यस्ता समूहहरुलाई कार्वाही गर्न दवाव दिएका थिए ।

स्थानीय किसानहरुले वडा नं. २मा रहेका माङसावा कृषक समूह, तुलाचन कृषक समूह र कन्काई विपद् कृषक समूह तथा समूहका पदाधिकारीहरुमाथि छानविनको माग गरेका छन् । माङ्सेवा कृषक समूहले ६ लाख ८४ हजार, तुलाचन कृषक समूहले ४ लाख ६७ हजार र कन्काई कृषक समूहले ३ लाख ६७ हजार रुपैयाँ कृषि ज्ञान केन्द्र झापाबाट किसानलाई वितरण गर्न ल्याएको पाइएको छ । ज्ञान केन्द्रका प्रमुख शालिकराम भट्टराईले विधिपूर्वक आएकाले समूहलाई विश्वास गरेर अनुदान रकम समूहको खातामा पठाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here