वीरेन्द्रका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

0
969

भद्रपुर,

भद्रपुर–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयले मंगलबारदेखि विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

यही शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी दुबै माध्यमबाट विद्यालयले विज्ञान बिषयको कक्षा सञ्चालनमा ल्याएसँगै साढे छ लाख लागतमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । विज्ञान प्रयोगशालाको उद्घाटन भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारालाल रुचालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृत्ति रकम समेत प्रदान गरिएको थियो ।

पूर्व विद्यार्थी कृषि वैज्ञानिक डा. जगदिश तिम्सिनाले स्व. विद्यानाथ पवित्रादेवीको नाममा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको र सोही अक्षयकोषबाट कक्षा १२ मा अध्ययनरत् सौजन अधिकारी र विपना पौडेल, कक्षा ११ मा अध्ययनरत् सुरेन्द्र शर्मा र बिबिशा ओलीलाई छात्रवृत्तिवापत जनही नौ हजारका दरले नगद प्रदान गरिएको हो ।

त्यसैगरी पूर्व प्रधानाध्यापक स्व. डिल्लीप्रसाद भट्टराईको नाममा रु. ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमा स्थापना गरिएको अक्षयकोषबाट कक्षा ११ मा अध्ययनरत् अर्जुन दाहाल र प्रकृति भट्टराई जनही सात हजार पाँच सयको दरले छात्रवृत्ति प्रदान गरिएको छ । त्यसैगरी केदार जमुना छात्रवृत्तिबाट कक्षा ११ मा अध्ययनरत् सौजन अधिकारी र बिबिशा ओलीलाई नगद पाँच हजारका दरले प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठ, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उद्धव बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक टंकनाथ शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वि.सं. २०५८ सालमा ४० जना विद्यार्थीहरुबाट पठनपाठन शुरु गरेको विद्यालयमा हाल उच्च शिक्षामा व्यवस्थापन, मानविकी, शिक्षा र यसै वर्षदेखि कक्षा ११ र १२ मा नेपाली र अंग्रेजी दुबै माध्यमबाट विज्ञान बिषयको पठनपाठन शुरु भएको जानकारी दिए ।

त्यसैगरी विविध सांस्कृतिक कार्यक्रम गर्दै कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक खिलाराज कोइरालाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here