झापा।
प्लाष्टिकले मानव जीवनलाई केही सहुलियत दिए पनि जीवका साथै सिङ्गो वातावरणमा दिगो असर गरिरहेको छ । यसको प्रयोगलाई न्यूनीकरण गर्न नसकिए विश्व अझै प्लाष्टिक आश्रित बन्दै जाने सरोकारवालाहरुले बताएका छन् ।
प्लाष्टिकको हानिबारेमा सर्वसाधारणलाई जानकारी दिई यसको उत्पादन र प्रयोगमा कमी ल्याउने उद्धेश्यले झापाका एक ब्यक्तिले फोहोर संकलन अभियान सञ्चालन गरिरहेका छन् । प्लाष्टिकका झोला भन्नाले पोलिथिन झोलादेखि लिएर बोरासम्म पर्छन् । यस्ता फोहोर संकलन गरेर अनाथ आश्रम निर्माण गर्ने उद्धेश्यले पूर्व माओवादी लडाकु समेत रहेका गणेश ढुङ्गानाले बिर्तामोडमा फोहोर संकलन गरेका हुन् ।
बिर्तामोड नगरपालिका–६ लाई प्लाष्टिक मुक्र क्षेत्र बनाउने उद्धेश्यले हाम्रो वार्ड,सफा वार्ड राम्रो वार्ड भन्ने नाराका साथ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्लाष्टिक जन्य पदार्थ नियन्त्रण गर्ने विषयमा सरोकारवालाहरुले सामुहिक प्रतिबद्धता जनाउदै आफ्नो वडालाई प्लाष्टिक मुक्त वडा बनाउने उद्घोष गरे ।
विर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कदङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा नगरकार्यपालिका सदस्य सुरेन राजवंशी,समाजसेवी लोकबन्धु कदङ्वा,सामाजिक अभियान्ता गणेश ढुङ्गाना,वडा सदस्या एनविन्द्र खत्री,पवित्रा कोइराला(ढुङ्गाना), धर्धरे टोल विकास संस्थाका अध्यक्ष रामु सिंह, सरस्वती माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजुजङ्ग कन्दङवा, बसन्त राई लगायतले प्लाष्टिक जन्य पदार्थ नियन्त्रण गर्दै आफ्नो क्षेत्रलाई सफा र सुन्दर बनाउने बताएका छन् ।
सामाजिक अभियान्ता ढुङ्गानाको अभियानलाई साथ र सहयोग गर्दै आफनो वडालाई प्लाष्टिक जन्य फोहोर मुक्त बनाउने जनप्रतिनिधिहरुले प्रतिबद्धता समेत जनाएका छन् ।






























