‘रोग निको पार्न औषधिसँगै परामर्श पनि उत्तिकै आवश्यक छ’

२४ माघ २०७६, शुक्रबार मा प्रकाशित
डा. खुश्बु अग्रवाल :स्त्री तथा प्रसूति रोग विषेशज्ञ सञ्जीवनी हस्पिटल, बिर्तामोड ।

पछिल्लो समय सिजरियन सेक्सन (शल्यक्रिया गरेर बच्चा जन्मउने)क्रम ह्वात्तै बढेको छ । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा समेत यसको प्रभाव देखिएको छ । गर्भवती महिलाको आवश्यकता, अस्पतालको दवाव, डाक्टरहरुको सुविधा वा तन्नेरीहरुको चाहना जुनसुकै बहानामा पनि अस्पतालमा प्रसूतिका लागि पुगेका गर्भवती महिलाहरुले प्रायः शल्यक्रियापछि मात्रै बच्चा जन्माउने गरेका छन् ।

अस्पतालमा नर्मल डेलिभरी (प्राकृतिक जन्म) गर्नेको संख्या अहिले ज्याँदै न्यून छ । प्राकृतिक रुपमा बच्चा जन्माउन सक्ने अवस्थाका कतिपय महिलाहरुले डाक्टरलाई शल्यक्रिया गरेर बच्चा जन्माउन आग्रह गर्ने गरेका छन् । कतिपय गर्भवती महिलाहरुले आफ्नो ‘स्वास्थ्य बिग्रने’ समस्या देखाएर शल्यक्रियाको चाहना राख्ने गरेका छन् । कतिपय डाक्टरले गर्भवती महिलाको आग्रहलाई सहर्ष स्वीकार गरे पनि कतिपय डाक्टरहरुले जतिसक्दो नर्मल डेलिभरी गराउने प्रयत्न गरेका छन् ।

अधिकांश स्त्री तथा प्रसूति रोग विशेषज्ञले सहजताका लागि जोखिम मोलेर नर्मल प्रसूति गराउँदैनन् । तर, बिर्तामोडस्थित सञ्जिवनी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. खुश्बु अग्रवाल भने अधिकांश महिलालाई नर्मल डेलिभरी गराउन सल्लाह दिँदै आएकी छिन् ।

सरकारी जागिरे र डाक्टर पेशामा ज्यादै न्यून संख्यामा मात्र मारवाडी समुदायको सहभागिता छ । त्यसमा पनि महिला डाक्टरको संख्या त झापामा गन्न सकिने अवस्थामा छ । यही समुदायकी डा. खुश्बु एक प्रतिनिधि मात्र हुन् । भारतको चण्डीगढस्थित पोष्ट ग्राज्युएट इन्ष्टिच्युट अफ मेडिकल एण्ड रिसर्ज सेन्टरबाट मेडिकल साइन्समा स्नाकोत्तर (पोष्ट ग्राज्युएट) गरेकी डा. खुश्बु अहिले मारवाडी समुदायका लागि मात्र होइन झापासहित पूर्वमै लोकप्रिय महिला रोग विशेषज्ञका रुपमा चिनिएकी छिन् । विशेषगरी महिला रोग विशेषज्ञ (गाइनोक्लोजिष्ट)मा उनको नाम अग्रपंक्तिमा आउने गरेको छ ।

वीरगञ्जको गण्डक अस्पताल र नारायणी बयोधा अस्पतालमा कार्यरत् रहँदा समेत लोकप्रियता कमाएकी डा. खुश्बु अहिले हरेक विरामीलाई स्वास्थ्य परीक्षण गर्न आउँदा खानपान र रहन–सहनमा विशेष ध्यान दिन आग्रह गर्ने गरेकी छिन् । हरेक गर्भवती महिलालाई फलफूल पोषणयुक्त खानेकुरा कसरी खाने भन्ने सिकाउँदै आएका कारण उनी गर्भवती महिलाका लागि त झन् प्रिय छिन् ।

खानपान र रहनसहन सही नभएका कारण समयमा गर्भ नबस्ने, गर्भपतन हुने आदि समस्याले अहिले धेरै कपल(जोडी) पिरोलिरहेका छन् डा. खुश्बुले भनिन्– ‘एक त ढिला विवाह गर्ने अनि समयमा बच्चा नजन्मने समस्या छ अहिले । त्यस्तो अवस्थामा महिलाले नै परिवार र समाजको प्रेसर धान्नुपर्ने हुन्छ । गर्भ अवस्थामा महिलाको हेरचाह अरु समयभन्दा धेरै गर्नुपर्ने हुन्छ । तर, अहिले पनि ग्रामीण समुदायमा महिलाले गर्भ अवस्थामा धेरै काम गरेकै कारण बच्चा खेर गइरहेको हुन्छ । खानपानमा ध्यान नदिँदा बच्चाको विकास जुनरुपमा हुनुपर्ने हो त्यो भएको हुँदैन । यस्तो अवस्थामा सबैभन्दा पहिला गर्भवती महिलालाई बुझाउन जरुरी छ ।’

डा. खुश्बु भन्छिन्– ‘उनीहरुले सही कुरा बुझे भने मात्रै गाउँ समाजका अरु महिलालाई बुझाउन सक्छन् र धेरै आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक हुँदै समाज सचेत बन्छ । बिग्रँदो जीवनशैलीका कारण पनि अहिले गर्भवती महिलाको शल्यक्रिया गर्नुपर्छ । कसैले ‘करिअर’को कारणले उमेर गएपछि बच्चाको प्लान गर्छन् । कतिपय अवस्थामा लामो समय बच्चा नभएर औषधि गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । यस्तो अवस्थामा पनि अप्रेसन गर्नुपर्छ । जस्तो मधुमेह, उच्च रक्तचाप, ढिला विवाह, महिनावारी बिग्रने समस्या, पोषण कम हुँदा, फास्टफुड खाने प्रचलनले पनि बच्चा नहुने वा बच्चा भए पनि अपरेशन गर्नुपर्ने अवस्था आउँछ । स्वस्थ खाना खायो र जीवनशैली परिवर्तन गर्ने हो भने अपरेशन गर्नुपर्ने अवस्था कम भएर जान्छ ।’

‘अहिले यी सब कुरा चिकित्सकले गर्भवती महिलालाई बताउन नसक्दा उनीहरु हामीलाई सिजर गर्न दवाव दिइरहेका हुन्छन् । विशेषगरी गर्भवती महिलालाई पाँच कुरा बुझाउन जरुरी हुन्छ । हामीले गर्भवती महिलालाई सही तरिकाले बुझाउन सकिनौं भने उनीहरुले सिजरका लागि बढी प्रेसर गर्छन् । विशेषगरी महिलाहरुमा महिनावारी रोकिएको वा गर्भ रहेको शंका लागेमा शुरुमा नजिकैको स्वास्थ्य संस्था वा अस्पताल गएर स्वास्थ्य जाँच गराउनुपर्छ । त्यस्तै गर्भ रहेको थाहा भएपछि नियमित गर्भ जाँच, गर्भवती महिलाले गर्भ रहेदेखि नै नौ महिनासम्म नियमित आइरन र क्याल्सियम खानुपर्छ, टीटी खोप अनिवार्य भइहाल्यो अनि अस्पताल मै सुत्केरी गराउनुपर्ने सबैले जान्नैपर्ने पाँच कुरा हुन् ।’ –डा. खुश्बुले भनिन् । अझै पनि कतिपय महिलाहरु घरमै बच्चा जन्माउँछन् त्यो एकदमै गलत हो । गर्भवती महिलालाई घरमा बच्चा नजन्माउन सल्लाह दिने गरेको उनले बताइन् ।

‘बच्चा खेल्ने ठाउँमा नचाहेर पनि हामी डाक्टरले कंैची चलाउनुपर्ने बाध्यता हुन्छ ।’ –डा खुश्बुले भनिन् – ‘बच्चा खेल्ने ठाउँमा बच्चा खेल्न दिन हो किन हामीले कैची खेलाउने ? म चाहिँ बच्चा खेल्ने ठाउँ (पाठेघर)मा हत्तपत्त कैची चलाउँदिन ।’

बुवाको प्रेरणामा चिकित्सा विज्ञान अध्ययन गरेकी डा.खुश्बुले भारतमा रहँदा पनि अधिकांश गर्भवती महिलालाई नर्मल डेलिभरी कै शिक्षा दिइन् । नेपालमा पनि अहिले उनी उपचारसँगै यही शिक्षा दिइरहेकी छिन् । जसका कारण उनको चर्चा चुलिएको छ ।

कतिपय अवस्थामा गर्भवती महिलाको अपरेशन गर्नुपर्ने हुन्छ । अपरेशन गर्नुपर्ने मापदण्ड बेग्लै छन् उनी भन्छिन्– ‘आमा र बच्चाका लागि खतरा रहेको अवस्थामा अपरेशन गर्नैपर्ने हुन सक्छ । जस्तो ३५ वर्षभन्दा माथि उमेर भएपछि गर्भवती हुने अथवा १७ वर्षभन्दा कम उमेरको महिला गर्भवती भएर आए भने अपरेशन गर्नुपर्ने हुन्छ । सानो उमेरका केटीहरूको पाठेघरको राम्रो विकास भएको हुँदैन भने उमेर बढ्दै गएको महिला धेरै परिपक्व हुने गर्दछन् । उमेर ढल्कँदै जाँदा अन्य रोगहरू पनि लाग्ने हुनाले उनीहरूको यस्तो अवस्थामा अपरेशन गर्नुपर्छ ।’

महिला गर्भवती भएदेखि नै नियमित स्वास्थ्य जाँच अनिवार्य छ । तर, अझै पनि सुत्केरी व्यथाले नच्यापी अस्पताल नजाने चलन छ । त्यस्तो अवस्थामा आमा र वच्चाको स्वास्थ्य अवस्था कस्तो छ थाहा नै नपाई हामी डाक्टरले सुत्केरी गराउनुपर्छ । यस्तो अवस्थामा सुत्केरी गराउँदा कतिपय महिलाको ज्यान नै जोखिममा हुन्छ । अहिले धेरैजसो डाक्टरले जोखिम मोल्न चाहँदैनन् । डाक्टरले त्यस्तो अवस्थामा गर्भवती महिलालाई अन्यत्रै अस्पताल रेफर गर्दा आमा र बच्चाको भविष्य झन् खतरामा पर्छ । हामीले आर्जन गरेको शिक्षा आखिर के का लागि ? डा. खुश्बुले प्रश्न गर्दै भनिन् – ‘हाम्रै ठाउँमा अप्ठ्यारोमा परेका महिलाको सही तरिकाले उपचार गर्न सकियो भने मात्रै हामीले आर्जन गरेको ज्ञानले सार्थकता पाउँछ ।

विशेषगरी किशोरीहरुमा महिनावारी कै समयदेखि समस्या शुरु हुन्छ । किशोरावस्थादेखि शुरु भएको महिनामारीको समयमा पेट दुखाई बढी हुने रगत बढी जाने समस्या अधिक हुन्छ यस्तो अवस्थामा डाक्टरकै सल्लाह लिनुपर्छ । ‘मैले काम गरेको ठाउँ वीरगञ्जमा त्यस्ता धेरै महिलाहरु देखेकी छु । कर्मस पढ्न हिँडेकी म बुवा सुशीलकुमार अग्रवालको प्रेरणाले यो पाटो रोजे । मैले एड्बिसनको फर्म भर्ने बेलामा बुवाले हाम्रो घरमा पनि एकजना डाक्टर भए हुन्थ्यो भन्ने शब्द जब निकाल्नु भयो मलाई त्यही कुराले हिट ग¥यो । भरिसकेको फर्म क्यान्सिल गरेर पुनः मैले डाक्टर पढ्ने निधो गरेर अर्काे फर्म भरेँ ।’ –डा. खुश्बुले भनिन् – ‘गाइनोक्लोजिष्ट चाहिँ मेरो समुदायका महिलाहरुको अवस्था देखेर उनीहरुलाई सेवा गर्न अध्ययन गरेकी हुँ । अहिले म झापामा छु । झापामा पनि महिलाहरु वीरगञ्जका महिलाहरुको जस्तै धरै समस्या लिएर आउने रोगी भेटेकी छु । रोग भए पनि महिलाले आफूमा भएका रोग खुलेर भन्दैनन् ।’ डा. खुश्बु भन्छिन्– ‘महिलाका अनेक समस्या हुन्छन् तिनीहरुलाई मनोपरामर्शबाट समेत उपचार गर्न सकिन्छ । अहिले म उपचारसँगै परामर्श पनि दिन्छु ।’

‘महिलाहरुलाई महिनावारी शुरु भएपछि कसैलाई पेट दुखाई अत्यधिक हुन्छ । त्यस्तो अवस्थामा कसरी आफूलाई ठिक राख्ने यो पनि निक्कै महत्वपूर्ण कुरा हो । यस्तो कुरामा आमा नै सचेत छैनन् भने उनले आफ्नी छोरीलाई कसरी यो विषयमा शिक्षा दिन सक्छिन् । स्वास्थ्य जाँचको समयमा म कहाँ आउने हरेक महिलाहरुलाई यसखाले व्यवहारिक शिक्षा समेत दिने गरेकी छु ।’ –डा. खुश्बुले भनिन्– ‘रोग लागेपछि उपचार गर्नु मात्रै हाम्रो धर्म होइन रोग लाग्न नदिने उपाय सिकाउनु पनि हाम्रो कर्तव्य हो ।’

अहिले महिलामा स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर अत्यधिक मात्रामा हुने गरेको छ । डा. खुश्बुले पूर्वाञ्चलकर्मीसँगको कुराकानीमा भनिन् – ‘महिलाहरुमा हुने सर्भाइकल क्यान्सरको लक्षण स्वरुप कहिलेकाहीँ सेतोपानी जाने, योनीबाट रगत बग्ने, फोहोरपानी गइरहेको छ भने तत्काल स्वास्थ्य जाँच गराउनुपर्छ । महिलामा यदि यस्तो समस्या देखा परेको छ भने डाक्टरलाई देखाउन अनिवार्य त भयो नै तर, यस्तो अवस्था आएको छैन भने पनि समय–समयमा डाक्टरलाई आफ्नो स्वास्थ्य जाँच गराउँदै आउन म सबै महिला दिदी–बहिनीहरुमा आग्रह गर्छु ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here