सजगता चाहियो

७ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

सम्पादकीय

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको रौद्ररुपलाई रोक्न नेपाल सरकारले पनि पन्ध्र बुँदे निर्णय गरेको छ । यही निर्णय पन्ध्र दिनअघि नै गरिएको भए कोरोना प्रतिरोधका लागि मात्र होइन विद्यालय तहको अन्तिम परीक्षा दिने सम्पूर्णरुपले तयार चार लाखभन्दा बढी विद्यार्थी आश्वस्त हुने थिए । अघिल्लो दिनसम्म–एसईई परीक्षा सर्दैन भन्दै शिक्षामन्त्री निश्चिन्त भएर परीक्षा दिन सुझाइ रहेका थिए । परीक्षा केन्द्र टाढा भएका विद्यार्थीहरु केन्द्र नजिक बास बसिसकेका थिए भने अब अनिश्चितताको पीडा बोकेर फर्किनु परेको छ । एकातिर ‘दशा बाजा बजाएर आउँदैन’ भनेर चित्त बुझाउनु परेको छ भने अर्कातिर नेतृत्व पंक्तिको अदूरदर्शितामा ‘कठैबरा’ भन्नुपर्ने अवस्था छ ।

कोरोनाको त्रासबाट जोगिन सीमा नाका बन्द गरी आवागमन नियन्त्रण गर्न, प्रतिरक्षाका लागि सजग र सचेत रहन, भीडभाडमा नजान गैरसरकारी क्षेत्रबाट सुझाव आएको थियो । ‘जब भयो राति अनि….’ भने जस्तै समय भिड्किएपछि गरिने सजगताले अपेक्षित उद्देश्य प्राप्त हुँदैन । अनि पनि सजगता, सतर्कता र सचेतनाले आफैंलाई लाभ हुने भएकाले प्रत्येक व्यक्तिले व्यक्तिगत सरसफाई र बानी व्यहोरामा सुधार गर्न आवश्यक छ । दशा कुन बेला, के बहाना बनाएर कसरी आउँछ थाह नहुने भएकाले प्रत्येक व्यक्तिले हर्दम प्रतिकूलतासँग जुध्ने बानीव्यहोराको विकास गर्नुपर्छ । जीवन ऐश–आराम, भोग–विलाश र राम–रमाइलो मात्र होइन, त्यसैले क्षणभङ्गुरको समाप्ति अघि नै दीर्घजीवनका लागि प्रयास गरिनुपर्छ । यसका लागि आचार–विचार, बानी–व्यहोरामा ध्यान दिनु पर्दछ । त्यही व्यवहारले दुष्कर्म, दुराचार र दुर्बुद्धि आउन दिँदैन र जीवन्तता प्राप्त गर्न सकिन्छ ।

‘असहायको सहाय दैव’ हुन्छन् । विश्व रङ्गमञ्चभित्रका हामी नेपाली आजको भौतिक आविष्कार र उपलब्धीहरुको पहुँचमा पुग्ने सामथ्र्य राख्दैनौं । त्यसकारण पनि परम्परागत, वैदिक एवम् स्वयम्को सचेतनाको विधिबाट यस्ता महामारी र प्रकोपबाट जोगिने प्रयत्न गर्नुपर्छ । सफा रहने, सरसफाईमा, खानपिनमा, हिँडडुलमा र सकारात्मकता र सत्सङ्कल्पमा दृढता र सतर्कता अहिलेको आवश्यकता हो । सरकारले ढिलै भए पनि भीडभाड हुने ठाउँहरुलाई बन्द गराएको छ । कोरोना प्रभावित देशहरुसँगको हवाइ उडान रोकेको छ, भेला–गोष्ठी, सभा–समारोह, भोजभतेर नगर्न निर्देशन दिएको छ । यसले चेतना प्रवाह मात्रै भएको छैन प्रत्येक नागरिकसम्म यस्ता महामारीसँग लड्ने सामुहिक प्रतिबद्धता, अग्रसरता र सहकार्यको अस्तित्व बोध गराएको छ ।

रोग लागेर उपचार गरेर जाति हुनुभन्दा रोग लाग्दै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले उपचारात्मक पद्धतिभन्दा प्रतिरोधी पद्धतिमा लाग्नु अर्थ, स्वास्थ्य र सन्दर्भका दृष्टिले पनि उचित हुन्छ । त्यसैले सरकारका तर्फबाट विदेश पु¥याइएका लाखौं नेपालीको अवस्थाप्रति जिम्मेवार सरोकार राखिनु पर्छ । विश्वभर भइरहेका प्रयासहरु आफ्ना विज्ञहरुमा हस्तान्तरण गर्ने वातावरण निर्माण गर्नु पर्दछ । भारत राजस्थानको जयपुरस्थित एक अस्पतालका डाक्टरहरुले एड्स, मलेरिया र स्वाइन फ्लूको उपचारमा प्रयोग गरिने औषधिको योगबाट कोरोना प्रभावितको सफल उपचार गरेको समाचार अरुहरुका लागि उदाहरणयोग्य हुनसक्छ ! यस्तै दाताहरुसँगको सहकार्यबाट नेपालीको विपद् हटाउन सरकारको गम्भीर सक्रियता आजको निर्विवाद आवश्यकता हुनसक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here