यसरी भयो रेडक्रसको जन्म

२६ बैशाख २०७७, शुक्रबार मा प्रकाशित

विश्व थापा,

हरेक बर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस विश्वव्यापी रुपमा छरिएर रहेका रेडक्रसका निकाय र यसमा आबद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि एउटा विशेष पर्व हो । रेडक्रस अभियानका संस्थापक एवम् पवद्र्धक महानायक जाँ हेनरी ड्यूनाको सम्झनामा उहाँप्रति श्रद्धा सुमन प्रकट गर्ने र अभियानका मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचारप्रसार गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा यस दिवसलाई लिइन्छ । रेडक्रसको जन्म पछाडि मानव पीडाको कथा जोडिएको छ । यो मानवतावादी संस्था स्थापनाकालदेखि नै हरेक प्रकारका मानवीय पीडा कम एकाग्र चिन्तनकासाथ समर्पित रहँदै आएको छ । रेडक्रस अभियानका संस्थापक हेनरी ड्यूनाले फ्रान्सेली र अष्ट्रियाली साम्राज्यहरुबीच इटालीको सल्फेरिनोमा भएको युद्धमा इतिहासको एउटा सबैभन्दा विभत्स मानव हत्याको भयावह दृष्य देखेपछि उनको मनमा मानवताको पुकार गुन्जन थाल्यो ।

सन् १८२८ मे ८ तारिखमा जन्मेका हेनरी ड्यूना सानै उमेरदेखि समाज सेवाको भावनाबाट प्रेरित थिए । ३१ बर्षको उमेरमा उनी एक कुशल व्यापारी एवम् उद्योगी बनिसकेका थिए । त्यही व्यापारको सिलसिलामा अल्जेरियामा मिल स्थापना गर्न फ्रान्सका सम्राट नेपोलियन द्वितीयलाई भेट्न बाटोमा जाँदै गर्दा इटालीको लोम्बार्दीत प्रदेशमा पर्ने सल्फेरिनो गुगेका थिए । सो ठाउँ अष्ट्रिया, फ्रान्स र इटालीबीच भीषण युद्ध भइरहेको थियो । त्यस युद्धमा त्रिपक्षीय सैनिकहरुको सहभागिता रहेको थियो । सोह्र घण्टासम्म चलेको युद्धबाट चालीस हजारभन्दा बढी सैनिकहरु हताहत भएका थिए भने युद्धमा मृत एवम् घाइते सैनिकहरुको हृदय विदारक घटनाको दृष्य ड्यूनाले आफ्नै आँखाबाट देखे । घटनास्थलमा कुनै प्रकारको व्यवस्था थिएन । यस अवस्थामा ड्यूनाले सल्फेरिनोको नजिकका गाउँलेहरु त्यसमा पनि बढी महिलाहरुको सहयोगमा विश्वमा पहिलो पटक निष्पक्ष र निस्वार्थरुपले प्राथमिक उपचार गरे ।

सल्फेरिनोको उक्त घटनामा पछि ड्यूनाले यस्तो संस्थाको परिकल्पना गरे जसले युद्धभूमिमा पीडित सैनिकहरुलाई सहायता गर्न सकोस् । सन् १८६२ मा आफ्नो यस्तो विचारप्रति देशको ध्यान आकर्षण गर्न फ्रेन्च भाषामा सल्फेरिनोको स्मृति नामक किताब प्रकाशन गरे । त्यस पुस्तकमा ड्यूनाले सल्फेरिनोको युद्धमा देखेका विभत्स दृष्यलाई उठान गरेका थिए । त्यस्तै पुस्तकमा प्रत्येक राष्ट्रमा यस किसिमको युद्ध वा अन्य अवस्थामा समेत हुने कुनै घटनाद्वारा प्रभावित पीडित पक्षका समस्याहरुलाई कुनै जात, वर्ग, सम्प्रदाय वा धर्मका आधारमा भेदभाव नगरी रोकथाम गर्न र युद्ध पीडित सम्बन्धित अन्तराष्ट्रिय समझदारीको परिकल्पना पनि व्यक्त गरे । उक्त स्मृति प्रकाशन पश्चात स्विटजरल्याण्डकै चार जना व्यक्तिहरु जनरल जिएच ड्यूपो, गस्ताफ मोनियर, डा.लुई आपिया र डा.थियोडर मोनियले ड्यूनाको सपना साकार पार्न सम्पर्क राखे । उनीहरुले ड्यूनाको अभियानलाई साथ दिने प्रण गरे । फलस्वरुप सन् १८६३ मा घाइतेहरुको निम्ति एउटा सहयोगी संगठनको प्रारुप स्थापना भयो । त्यस संगठनको नाम घाइते व्यक्तिको सहयोगको निम्ति अन्तराष्ट्रिय समिति राखियो । समय क्रमसँगै मानवीय भावनालाई जन्म दिने ड्यूनाको सपना साकार भयो ।

स्वीट्जरल्याण्डको जेनेभामा जन्मिएका हेनरी ड्यूनाको नेतृत्वमा स्थापित संस्था आज विश्वमै मानवताका लागि सर्वव्यापी रुपमा काम गर्दै अझ विस्तारित हुँदै गएको छ । मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा एकता र विश्वव्यापकता जस्ता मुख्य सात सिद्धान्तमा अडिग यो पवित्र संस्था हाल विश्वका १ सय ८५ भन्दा बढी मुलुकमा क्रियाशील छ मानवीय सेवासँग विभिन्न क्षेत्रमा रेडक्रसले काम गरिरहेको छ । सन् १८९३ अक्टुबर २६ मा १७ देशका २३ प्रतिनिधिहरु एकत्रित भई सर्वप्रथम यस संस्थाको सम्मेलन भयो स सम्मेलनले ‘हामी भाइभाइ हौं’ भन्ने प्रतिक स्वरुप रेडक्रस चिन्ह छान्ने र घाइते सैनिकको हेरचाह गर्ने अन्तर्राष्ट्रिय नियम पारित ग¥यो । विश्वका सम्पूर्ण मानवलाई पर्न आउने पीडाको रोकथाम, दैवी प्रकोप, महामारी लगायतबाट पीडितहरुलाई सहयोग पु¥याउँदै सेवा कार्यहरु सञ्चालन गर्न आवश्यक आर्थिक, भौतिक, विशेषज्ञहरुको सल्लाह र सहयोगको व्यवस्था रेडक्रसले गरेको छ । विश्वमा भइरहेको संघर्षमा मध्यस्थता गरी शान्तिकायम गराउने कार्यमा समेत रेडक्रसको स्थान महत्वपूर्ण छ ।

संस्थाको लागि काम गर्दागर्दै ड्यूना करोडपतिबाट भिखारी भइसकेका थिए । उनी सम्बद्ध औद्योगिक संस्था उनले समय दिन नसक्दा टाट पल्टेपछि आर्थिक हिनामिनाको आरोप समेत उनले खेप्नु प¥यो । त्यसपछि विरक्तिएर उनी भूमिगत जीवन विताउन थाले । मानिसले उनलाई भुल्न थालेका थिए । जुन व्यक्तिले यति धेरै मेहनत गरेर विश्व सेवाका लागि समर्पित संस्था बनाए उनको आर्थिक अवस्था नाजुक बनेपछि अज्ञातबास बस्न बाध्य भए केही समय पछि एक पत्रकारले उनलाई पहिचान गरेर सार्वजनिक गरेपछि सारा संसारभनि उनीप्रति उत्सुकता छायो । ड्यूनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरियो । उनलाई प्रथम नोबेल शान्ति पुरस्कार प्रदान गरियो । पुरस्कार वापत पाएको सम्पूर्ण रकम उनले रेडक्रसलाई नै उपलब्ध गराए ।

मानव जगतमा युगान्तकारी भावनात्मक परिवर्तन ल्याउने रेडक्रस जस्तो विशुद्ध मानवीय संस्थाको स्थापना नेपालमा पनि गर्नुपर्ने आवश्यकता पहिलेदेखि नै महसूस गरिए तापनि विश्वमा रेडक्रस अभियान प्रारम्भ भएको एकसय बर्ष पछि मात्र यो आवश्यकता पूरा हुन सक्यो । स्वास्थ्य मन्त्रालयको आव्हानमा वि.सं. २०२० साल भदौ १९ गतेका दिन विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा विशिष्ट व्यक्तिहरुको तत्कालीन स्वास्थ्यमन्त्री डा. नागेश्वर प्रसाद सिंहको सभापतित्वमा सिंहदरबारमा सभा बस्यो । सो सभाले प्रिन्सेप साहको अध्यक्षतामा २१ सदस्यीय एक तदर्थ समिति गठन ग¥यो । जसको उपाध्यक्षमा डा. नागेश्वरप्रसाद सिंह र सेक्रेटरीमा डा. जयनारायण गिरी छानिनुभयो । सो समितिको काँधमा नमूना विधान तयार गर्ने, सरकारलाई जेनेभा लोकसम्मतिमा हस्ताक्षर गर्न अनुरोध गर्ने र विधिवत निर्वाचन गराउने तीन मुख्य जिम्मेवारी थियो । सम्बन्धित राष्ट्रिय सरकारले जेनेभा लोक सम्मतिमा हस्ताक्षर गरेपछि मात्र राष्ट्रिय रेडक्रस सोसाइटी गठन गर्न सकिने प्रावधान रहेकाले तदर्थ समिति समक्ष यो प्राथमिक आवश्यकताको रुपमा रहेको थियो ।

समय परिस्थितिसँगै रेडक्रसले काम गर्ने तौरतरिका र कार्य क्षेत्रमा ज्यादै ठूलो विविधता र व्यापकता आएको छ । सल्फेरिनोको युद्धभूमिमा स–साना प्रारम्भबाट शुरु भएको रेडक्रस अभियानले आज जुनसुकै ठाउँमा जुनसुकै बेला आइपर्ने मानवीय पीडा कम गर्न विश्वमा सबैभन्दा प्रभावकारी र व्यापक आपतकालीन सहायताले जालो फैलाइसकेको छ । रेडक्रसले युद्ध अवस्थामा मात्र नभई प्रत्येक देशमा आन्तरिक परिस्थितिका कारण सिर्जित विभिन्न खाले मानवीय समस्यामा पनि मानवीय कार्य गरिरहेको छ । रेडक्रस अभियानले पछिल्ला दिनमा गरेको मानवीय कल्याणका गतिविधिलाई मात्र नियाल्ने हो भने पनि अहिलेको तनावग्रस्त विश्वमा रेडक्रसको अपरिहार्यता र आवश्यकतालाई बुझ्न सकिन्छ । नेपाल लगायत विश्वका विभिन्न भागका सशस्त्र संघर्षबाट पीडितहरुलाई आइसीआरसीले पु¥याएको मानवीय सहायता विश्वका सामु छर्लङ्ग छ । विश्व समुदायले रेडक्रस र यसका स्वयम्सेवक अत्यावश्यक मानवीय सहायता प्रदान गर्ने रुपमा रहनै पर्छ भनेर विश्वास गरिरहेका छन् । यो नै हामी रेडक्रसकर्मीहरुको अमूल्य सम्पत्ति हो । अन्तमा विशुद्ध मानवीय सेवामा पूर्ण समर्पित पवित्र संस्था र यसका संस्थापक हेनरी ड्यूनालाई आजको दिन हामी सबैले सम्झनै पर्दछ । यस क्षेत्रमा कार्यरत लाखौं रेडक्रसकर्मीहरुलाई आजको दिनले थप जाँगर र हौशला प्रदान गरोस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here