अझै साढे छ हजार सङ्क्रमित आइसोलेशनमा

३१ असार २०७७, बुधबार मा प्रकाशित

काठमाडौँ,

मुलुकमा साढे छ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा केही कमी आउनाका साथै कोरोना मुक्त भएर घर फर्कनेको सङ्ख्या बढेको भए पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टर कूल छ हजार ६९५ सक्रिय सङ्क्रमित उपचारत छन् । अहिले सबैभन्दा कम प्रदेश नं १ मा १७१ र बढी सुदूरपश्चिम प्रदेशमा दुई हजार ५२३ सक्रिय सङ्क्रमित उपचाररत छन् ।

यसैगरी प्रदेश नं २ मा एक हजार ९०७, प्रदेश नं ५ मा ७४६, गण्डकी प्रदेशमा ५०२, वाग्मती प्रदेशमा ४५६ र कर्णाली प्रदेशमा ३७२ सङ्क्रमित आइसोलेशनमा रहेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । महोत्तरी, रौतहट, कैलाली र बाजुरामा अझै पनि ५०० भन्दा बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला कोरोना मुक्त भएका छन् ।

आजसम्म नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । अहिलेसम्म कूल सङ्क्रमितको ६०.५३ प्रतिशत कोरोना जितेर ‘डिस्चार्ज’ भएका छन् । कोरोनालाई परास्त गरेर घर फर्कनको सङ्ख्या १० हजार ३२८ रहेको छ ।

हालसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १० जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या शून्य छ । वागमती प्रदेशमा नौ, सुदूरपश्चिम प्रदेशमा छ, गण्डकी प्रदेशमा पाँच तथा प्रदेश नं २ र कर्णाली प्रदेशमा चार÷चार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

साढे २४ हजार क्वारेन्टिनमा

अहिले पनि २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ हजार २१९ र सबैभन्दा कम कर्णाली प्रदेशमा एक हजार ८२१ जना क्वारेन्टिनमा रहेको प्रवक्ता प्राडा गौतमले जानकारी दिनुभयो ।

प्रदेश नं १ मा तीन हजार १४३, प्रदेश नं २ मा तीन हजार १०६, वाग्मती प्रदेशमा एक हजार ९८८, गण्डकी प्रदेशमा तीन हजार ९१३ र प्रदेश नं ५ मा चार हजार ५२६ क्वारेन्टिनमा बसिरहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here