कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

१७ श्रावण २०७७, शनिबार मा प्रकाशित

विराटनगर,

श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् ।

कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइराला समेत कार्यालयमा पुग्न साथ सञ्जेलको कार्यकक्षमा प्रवेश गरेर भित्रबाट ढोकाको चुकुल लगाई कुटपिट गरेको मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो ।
भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेललाई योजना बनाएरै आक्रमण भएको आशंका गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी खड्काका अनुसार कार्यालयकै कामको विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको देखिएको छ ।

त्यस क्रममा उनीहरुले सञ्जलको कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। उनीहरुलाई कुटपिटमा संलग्न आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको छ । कार्यालयमा फाँटमा खटिने कर्मचारीले सेवाग्राहीको काम नगरेको गुनासो गरिए सञ्जेल आफैंले उनीहरुको काम गरिदिने गरेको छवी समेत बनाउन सफल मानिन्छन् । रुखो बोलि बोलेर भएपनि सेवाग्राहीको समस्या बुझ्ने कार्यालय प्रमुखको छवी बोकेका सञ्जेलले कर्मचारी र आफ्नो कार्यालयले भने जस्तो काम गर्न नसकेको गुनासो सधैं गर्ने गरेको सुनिन्थ्यो ।

आर्थिक वर्ष २०७६/२०७७ को कार्यसम्पादन मूल्यांकन उच्च नरहेको भन्दै आफूलाई र आफ्नो कार्यालयका कर्मचारीलाई कुनै पनि पुरस्कार दिनु नपर्ने बताउँदै जिल्ला प्रशासन कार्यालयमा यो वर्षको कार्यसम्पादन मूल्यांकन विवरण पेश गर्ने सञ्जेल मात्रै एक्का हाकिम हुन् । देशभरमा र अन्तराष्ट्रियस्तरमा पनि म कार्यरत रहेको कार्यालयबाट कुनै जाजल्यवान काम नगरेकोले पुरस्कृत पाउनुपर्ने कुनै दावी छैन भनि जिल्ला प्रशासन कार्यालयमा कार्यसम्वादन मूल्यांकन पेश गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here