तुलसीप्रसाद निरौला / विर्तामोड ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा रहेको अर्जुनधारा संस्कृत विद्यापिठमा अध्ययन गर्ने विद्यार्थीलाई इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले खाद्यान्न सहयोग गरेको छ ।
लामो समयको लकडाउनले खाद्यान्न अभावको कारण विद्यार्थीलाई बाँच्न गाह्रो हुने देखेपछि आफूहरुले खाद्यान्न सहयोग गरेको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताइन् ।
कोरोना भाइरसले महामारीको रुप लिँदा त्यसवाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न अभावको कारण भोकभोकै बस्नुपर्ने अवस्थामा रहेका अर्जुनधारा संस्कृत विद्यापिठमा अध्ययन गर्ने विद्यार्थीलाई बिर्तामोडका समाजसेवी तथा व्यवसायी श्याम वंशलले सौजन्य गरेको एक महिना पुग्ने खाद्यान्न उपपब्ध गराइएको उनले वताइन् ।
इनरह्वील क्लव अफ विर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशल, चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल, सेक्रेटरी सम्झना भण्डारी, मेम्वर कमला पौडेल, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशल, बोर्ड मेम्वर जगत शर्मा, मिडिया पर्सन तुलसीप्रसाद निरौला लगायतले अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देल, अर्जुनधारा जलेश्वरधामका वरिष्ठ सदस्य चित्रशेन भण्डारीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
अर्जुनधारा संस्कृत विद्यापिठमा भारतको आसाम, नेपालको ताप्लेजुङ, पाँचथर, खोटाङ, मोरङ, झापाका ६५ जना विद्यार्थी गुरुकुलीय शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई गत जेठ महिनादेखि खाद्यान्न अभाव भएको अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देलले बताए ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरु नआउँदा अर्जुनधारा संस्कृत विद्यापिठमा अध्ययन गर्ने विद्यार्थीलाई खाद्यान्न अभाव भएको उनले बताए । लकडाउनका कारण मुष्ठिदान उठाउन जानसमेत समस्या भएकाले खाद्यान्न अभाव भएको उनले बताए ।
अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्वको सोमबार भगवान शिवलाई जल चढाउन भक्तजनको घुइँचो लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण भक्तजन नआएका कारण यस्तो समस्या आएको उनले बताए ।
अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्वको सोमबार भगवान शिवलाई जल चढाउन आउने भक्तजनले चढाएको अन्न र भेटीपातीले मंसिरसम्म पुग्ने र मंसिरमा हुने बालाचतुर्दशीमा सत्बीज छर्न आउने भक्तजनले चढाएको अन्न र भेटीपातीले श्रावणसम्म पुग्ने गरेको बताउँदै यस वर्ष भने लकडाउनका कारण भक्तजन नआएका कारण खाद्यान्न अभाव भएको उनले बताए ।
दाताहरुले दिएको खाद्यान्न, मुष्ठिदान र भक्तजनहरुले चढाएको भेटीपातीले विद्यार्थीहरुको दैनिक गुजारा र धाममा हुने नित्य पूजा चल्दै आएको बताउँदै उनले लकडाउनका कारण भक्तजन नआउँदा र मुष्ठिदान उठाउन समस्या हुँदा खाद्यान्न अभाव भएको जानकारी दिए । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले खाद्यान्न प्रदान गरेको ठूलो गुन लगाएको बताउँदै मूल अर्चक सिग्देलले लकडाउनको यो समयमा सहयोग गरेर पुण्य कमाउन सबैलाई आग्रह समेत गरे ।






























