किसानको घरदैलोमा पुग्न थाले ग्राहक

0
803

युद्धबहादुर बोहोरा / पाँचथर।

लामो समय लकडाउनले गर्दा विगत देखि विभिन्न ठाँउमा निरन्तर लाग्ने हटिया तथा बजार ठप्प भए पछि कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बजारमा बिक्रि गर्न नपाउँदा आजभोलि ग्राहक गाँउतिर आउने गरेका छन् ।

बजार क्षेत्रमा बसोबास गर्ने व्यापारी र अन्यत्र गाँउका मानिस खसी,बोका,सुँगुर,लोकल भाले,सागसब्जी,गाईभैंसी तथा अदुवा,लसुन कुचो किन्न आए पनि उचित मुल्य नपाइने स्थानीय किसान गुनासो गर्दछन् ।

पहाडी क्षेत्रमा मकै खेती संग रोपिएका स्थानीय जातका आलु यतिबेला किसानले थन्क्याउन नभ्याइ उनीहरुका घरघरमा ग्राहक पुग्न थालेका छन् । विगतमा आलु ग्रेडिङ गरि फरक फरक मुल्यमा बिक्रि केन्द्रमा लगेर बेचिन्थ्यो भने यो वर्ष सरदर गाँउमा बिक्रि गरेको फाल्गुनन्द–४, हेलाङका कृषक सयन नेम्वाङ बताउँछन् ।

नगदेबालीको रुपमा तरकारी तथा खाद्यन्नमा प्रयोग हुने आलु माघ–फाल्गुन महिनामा खेती गरि असार देखि खन्न शुरु गरिने भएता पनि यो वर्ष धेरै पानी पर्नाले ढिलो खनिएको उनले बताए ।

फर्म दर्ता गरि सुँगुर पालन, गाइृभैंसी पाल्न सुधारिएको गोठ निर्माण,आलु,तरकारी खेती,मकै,धान, भटमास,सामान्य माहुरी पालन,कुटानी मिल,काठ काट्ने चेन्स मेशिन,हाते ट्याकटर लगायत करीब २० लाख रुपैंया बराबरको आफ्नो लगानीमा सामान जुटाएर व्यावसायिक कृषि पेशामा लागेर वार्षिक पाँच लाख हाराहारीको आम्दानी गर्दै घर खर्च र दुई भाई छोरा स्कुल पढाएका छन् ।

मलेशियामा केही वर्ष बसेर कमाइ गरेको पैसाबाट २० रोपनी जग्गा किनेर कृषि पेशा आवद्ध उनलाई पानीको श्रोत टाढा हुँदा बजेट अभावले सिंचाइको असुविधा भएको र कृषि फर्म मार्फत अनुदानको पहल गर्दा पनि हाल सम्म कुनै राहत नपाएको उनको गुनासो छ । उनी भन्छन्, ‘कृषि पेशाबाट आर्थिक रुपान्तरण सम्भव छ तर सरोकारवाला निकायबाट पनि किसानलाई मद्दत हुने काम गर्न आवश्यक छ ।’

त्यस्तै, सोही वडा चिलिङदेनका अर्का किसान टीका नेम्वाङ आफ्नो बारीमा बर्षेनी लाखौं रुपैंया बराबरको अलैंची,अकबरे खोर्सानी, टमटर, काँक्रो तथा अन्य तरकारी बेचेर स्वरोजगार बनेका छन् । हाल एक सफल कृषक तथा युवा उद्यमी मात्र नभइ तरकारी खेती र कृषि बाली सम्वन्धि स्थानीय प्रशिक्षकको रुपमा इलाम र पाँचथरका विभिन्न कृषि सहकारीको निमन्त्रणा प्रक्षिकको भूमिकामा सक्रिय छन् ।

स्थानीय शिक्षक धिरेन नेम्वाङले लकडाउनमा विधालय बन्द हुँदा घरमा १५–२० खसी–बोका पालेर समयको सदुपयोग गर्दै बेरोजगार युवालाई व्यावसाय प्रति उत्साह थपेको बताउँछन् । गाँउमा युवाहरु ध्माधम सुँगुर,कुखुरा, खसीबाख्रा व्यावसायमा आकर्षण बढ्न थालेको उनको भनाई छ ।

स्थानीय हँशरथि नेम्वाङले आफ्नो जमीनमा अर्गानिक आलु उत्पादन गरेर भारतको बेङ्गलरमा अध्ययनरत छोरी र भारतीय सेनामा कार्यरत श्रीमान र छोरालाई समेत पठाउने गरेको बताउँछिन् । उनका अनुसार स्थानीय जातको झ्याले आलु (सेतो लाम्चो) उसिनेर खान साथै तरकारीको लागि अति स्वादिलो हुने हुँदा एक पटक किनेर लाने मानिस सधैं सिजनमा किन्न आउने बताउँछिन् ।

यस क्षेत्रको कागती,सुन्तोला,अकबरे खोर्सानी,आलु तथा अन्य कृषिउपज सामान इलाम,झापा,धरान,काठमाण्डौं साथै भारतको दार्जिलिङ सम्म माग हुने गरेको व्यापारीले बताए पनि एकमुष्ठ सामान कतै नभेटिदाँ प्रत्येक घरमा घुमेर जम्मा गर्न कठिन हुने समस्या छ । ग्रामिण सडक वर्षातमा बिग्रिने हुँदा ढुवानीमा समस्या भइ व्यापारमा घाटा व्यर्होर्नु परेको पिडा सुनाउँछन् ।

नेपालको प्रख्यात नगदे खेती मानिएको पूर्वी पहाडमा उत्पादन हुने चिया र अलैची भने भारत निकासमा आलटालका कारण मूल्य गिर्दो अवस्थामा भएपनि आफ्नै ठाँउमा प्रयोग गरिने वस्तु उत्पादन गर्न सके बिक्रिको लागि बजार खोज्न टाढा जानु नपर्नेमा किसान विश्वस्त छन् । तर कृषक लक्षित सरकारका कार्यक्रमबाट व्यावसायिक ढंगमा पेशा गर्ने किसान ओझेलमा परेको साथै पहुँचको आधारमा टाठाबाठले लाभ उठाएको उनीहरु दावी गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here