‘बलि दिन भारत लैजादै गर्दा भागेकी किशोरी,पुजामा बस्न ५ हजारमा राजी’

८ आश्विन २०७७, बिहीबार मा प्रकाशित

झापा ।

‘बली दिन भारत लैजाँदै गर्दा उद्धार गरिएकी सुनसरीको रामधुनी नगरपालिका–५ की १७ वर्षीय किशोरीलाई फकाउन उनकै एक छिमेकी संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

मोरङ प्रहरीको अनुसन्धानबाट लेटाङ–३ मोरङकी मनिका ढकालले किशोरी र आमालाई पैसाको प्रलोभनमा पारेर भारत लैजाने योजना बनाएका प्रहरी अनुसन्धानबाट खुलेको छ । मनिका किशोरीलाई फकाउन एक हप्तादेखि लागि परेकी थिइन ।

बिराटनगरको कुनै एक ठाउँमा पुजामा सहभागी भएर तीन घण्टामा घर फर्किने र त्यस बापत पाँच हजार रुपैयाँ पाउने आश्वासन दिएको अनुसन्धानबाट खुलेको बताइएको छ । मनिका झुम्का बजारमा तरकारी बेच्ने काम गर्छिन् ।

मनिकाले किशोरीकी आमालाई समेत राजी बनाएकी थिइन । मनिका र छोरीसँग आमा समेत जाने अडान लिए पनि मनिकाले केही चिन्ता लिनु पदैन भनेर आमालाई सम्झाएकी थिइन ।

घटना यस्तो छ–

मनिकाको साथमा किशोरी असोज ४ गते आइतबारको बिहान झुम्का इटहरी हुँदै बस मार्फत विराटनगर पुगेका थिए ।

विराटनगरबाट सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल थपिन्छन् । उनीहरूले इस्लामपुर नाका हुँदै भारत छिराएको उनले पत्तै पाइनन् । इस्लामपुर–जोगबनी हुँदै ट्याम्पोमा २० किलोमिटर टाढा फारबिसगन्ज पु¥याए ।

त्यहाँबाट बसमा राखेर ४८ किलोमिटर दूरीको सिम्राहीसम्म लगे । त्यहाँ उत्रिएपछि ‘हाम्रा मान्छे आएनन्’ भन्ने गफ गरेको उनले सुनिन् । साइनबोर्डहरू हेर्दा भारत रहेको पनि पत्तो पाइन् । र, किशोरीले नयाँ जुक्ति फुराइन् ।

उनीहरूको आँखा छलेर फारबिसगन्ज आउने बस चढिन । कुद्धै गरेको बस रोकेर ती तीनै जना त्यसमै चढे । बाटाभरि केही हुँदैन, जानुपर्छ भन्दै फकाए । उनले मानिनन् । जब फारबिसगन्ज बस आइपुग्यो, हतार–हतार हाम्फालिन् ।

रिजर्भको ट्याम्पो चढेर तुरुन्तै जोगबनीतिर फर्किइन् । अर्को ट्याम्पोमा उनीहरूले पछ्याए । साँझ जोगबनी आइपुगेकी उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले सोधी खोजी गरे र संरक्षणमा राखे । सँगै आइपुगेकी मनिकालाई पनि राखे । बाँकी दुई जना भने भाग्न सफल भए । प्रहरीले दुवै युवतीलाई भने पीडित ठानेको थियो ।

भोलिपल्ट किशोरीको बयानबाट मनिका पनि मतियार रहेको खुल्यो । र, प्रहरीले मनिकालाई सुमित र प्रदीपलाई फोन गरेर ‘उता जान प्रहरीले दिने भयो, उनी पनि राजी भइन् ’ भन्न लगायो । दुवै जना मक्ख परेर त्यहाँ आइपुगे र प्रहरीले पक्राउ ग¥यो । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सुमित घटनाका मुख्य योजनाकार र प्रदीप उनका सहयोगी रहेको खुलेको छ। उनीहरूले तीन–चार लाख दिने भन्दै मनिकालाई किशोरी ल्याउन खेताला बनाएका थिए ।

गम्भीर अनुसन्धान गदै प्रहरी

जिल्ला प्रहरी कार्यालय मोरङले यस घटनालाई गम्भीर तवरले अनुसन्धान गरिरहेको छ । प्रहरीले भने यसलाई ‘बलि’ दिन लगिएको हुन सक्ने अनुमान गरेको छ । भारतमा यस्तो अन्धविश्वास व्याप्त छ । यस अघि काठमाडौँमा पनि एक मोडललाई यस्तै प्रकृतिको घटनाको शङ्का लागेपछि प्रहरीलाई जानकारी गराई केही व्यक्ति पक्राउ परेका थिए ।

प्रहरीका अनुसार किशोरीलाई भारतसम्म पुराउने कार्यमा संलग्न मनिका, सुमितकुमार र प्रदीपकुमारले पैसाको प्रलोभनमा परेको बयान समेत दिएका छन् । मनिकाले बाटोमा नाप्ने टेप किनेर किशोरीले उचाइसमेत नापेकी थिइन् । पूजामा बस्न ५–२ फिट उचाइ भएकी केटी चाहिन्छ भन्दै नापेकी थिइन् । रजस्वला भए–नभएबारे पनि सोधिखोजी गरिएको कारण बलीको आशङ्का गर्ने प्रशस्त ठाउँ रहेको प्रहरीको भनाई छ ।

मनिकाले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्ने र डराउन नहुने भन्दै सिकाएको पनि उद्धार गरिएकी किशोरीले प्रहरीलाई बयान दिएकी छिन् । मोरङका एसपी सन्तोष खड्काले घटनामा संलग्नहरूको अरू ‘कनेक्सन’ खोतल्न काम भइरहेको जानकारी दिए ।–अपराध न्यूजको सहयोगमा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here