व्यापार घाटा कम गर

२९ आश्विन २०७७, बिहीबार ११:३४ मा प्रकाशित
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

नेपालको पूर्वीनाका मेचीनगरको काँकरभिट्टा आर्थिक दृष्टिले महत्वपूर्ण रहेको छ । प्रदेश नं. १ को मुख्य सीमा नाका जोगवनीपछि दोस्रो महत्वको यो नाकाबाट भारत, बंगलादेश र भुटानसँग व्यापारिक सम्बन्ध रहेको छ । नेपालबाट भारततर्फ कृषिजन्य उत्पादन निर्यात हुने क्रम लिच्छवीकालमै शुरु भएको इतिहास छ । त्यस समयदेखिको व्यापारिक कारोबारमा आज पनि परिवर्तन आएको छैन । फरक यत्ति हो कि त्यसबेला अनौपचारिक रुपमै आर्थिक कारोबार गरिन्थ्यो भने आज अनेक सन्धि सम्झौताले व्यवस्थित गरेको छ । अझ भीमसेन थापाको प्रधानमन्त्रीत्व कालमा भन्सार कार्यालय स्थापना गरेर आयात निर्यातलाई व्यवस्थित गर्न थालेपछि नेपालबाट कृषिवस्तु भारततर्फ उल्लेख्य मात्रामा निर्यात हुँदै आएको थियो ।

Advertisement

कुनै दिन थियो नेपाल कृषिवस्तुमा आत्मनिर्भर थियो । उत्पादित कृषिजन्य उत्पादनहरु ठूलो परिमाणमा भारतमा पनि निर्यात गरिन्थ्यो । अन्नको भण्डार भनिने नेपालका तराईका भू–भागबाट उत्पादित धान, चामल भारततर्फ निकासी हुन्थ्यो र भारतबाट नगण्य मात्रामा उपभोग्य वस्तु आयात गरिन्थ्यो । सडक सुविधाको अभावमा पहाडी र हिमाली क्षेत्रका उत्पादन, जडिबुटी लगायतका वस्तु ढुवानी गर्न नसक्दा पनि देशको अर्थतन्त्रको मूल आधार कृषि प्रणाली नै थियो । आज सडक सञ्जालले सबैलाई जोडेको छ, तर पनि नेपाल परनिर्भरतातर्फ उन्मुख भएको छ । त्यसकै परिणाम हो कि नेपालको व्यापार घाटा वर्षेनि घट्ने क्रममा छ । अझ गत वर्षको चैतबाट शुरु भएको कोरोना भाइरसजन्य महामारीले देश नै बन्दाबन्दीको अवस्थामा पुगेपछि यस्तो घाटा अरु चुलिएको छ ।

पूर्वको मुख्य नाका काँकरभिट्टा भएर हुने राजवश्व संकलन अपेक्षित रुपमै भइरहेको मेची भन्सार प्रमुख धु्रवराज विश्वकर्माले बताएका छन् । राजश्व बढ्ने सुखद् सन्दर्भ रहे पनि त्यसको आधार भने पेट्रोलियम पदार्थको आयात मुख्य रहेको सूचना भने सुखद् हुन सक्दैन । पेट्रोलियम पदार्थ आयातबाट संकलित राजश्व राष्ट्रको आम्दानी त होला तर त्यसको खपत अनुत्पादक कार्यमै बढी खर्च हुनुले सकारात्मक प्रभाव दिँदैन । अझ हाम्रो जमिन जनशक्तिको अभावमा बाँझिन थालेको सन्दर्भले खाद्यवस्तुमै परनिर्भरता बढ्ने निश्चित छ । त्यसमाथि सानो देश भुटानसँग आयात–निर्यातको असन्तुलनले व्यापार घाटा थपिँदै जाँदा हाम्रो अर्थव्यवस्था झनै कमजोर बन्ने देखिएको छ । कृषिवस्तुको निर्यात डेढ प्रतिशत मात्रै रहेको भुटानबाट क्लिङ्कर जिप्सन र कोइला आयात हुँदा ठूलो धनराशि खर्च भइरहेको छ । आयात र निर्यातका बीच सन्तुलन कायम नहुँदासम्म देशको अर्थतन्त्र बलियो नहुने भएकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनु पर्दछ । अन्यथा बढ्दो व्यापार घाटामा सुधार हुन असम्भव छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here