झापा, बिर्तामोड नगरपालिका–१मा कित्ता नम्वर नै हेरफेर गरेर जग्गा हडप्ने गिरोहलाई नापी कार्यालयले नै फरक–फरक नक्सा दिएपछि कार्यालयकै मिलेमतो रहेको रहस्य खुलेको छ ।
बिर्तामोड–१मा रहेको कित्ता नम्वर ५४७लाई भू–माफियाको टोलीले कित्ता नम्वर ६२२ राखेर जग्गा हडप्ने कार्य गरिरहेका बेला नापी कार्यालयले एउटै जग्गाको दुई फरक÷फरक नक्सा दिएसँगै यस्तो रहस्य बाहिरिएको हो ।
नापी कार्यालयले २०७७ साल साउन र असोज महिनामा एउटै जग्गाको फरक–फरक नक्सा दिएको खुलेको छ ।
कार्यालयका सर्वेक्षक नारायण सापकोटा र द्रोजेन्द्रराज काफ्लेले हस्ताक्षर गरेर एउटै जग्गाको फरक फरक नक्सा दिएपछि जग्गाधनीहरु अलमलमा परेका छन् । वास्तविक जग्गाधनीलाई थाह नै नदिई भू– माफियाको टोलीले किर्ते कागजात खडा गरेर कतिपय बैंकबाट समेत ऋण लिएको खुल्न आएको छ ।
विहीवार नापी कार्यालयमा बास्तविक जग्गाधनी सम्पूर्ण प्रमाण लिएर कार्यालयका प्रमुख डिल्लीराज भण्डारीलाई भेट्न पुगेपछि दुवै सर्वेक्षकले कार्यालयको तर्फबाट त्रुटी भएको स्वीकार गरेका छन् । सर्बेक्षक काफ्लेले बील काटेर नक्सा माग्न आएपछि आफूहरुले नक्सा प्रदान गरेको तर कित्ता नै प्रमाणित नगरेको भन्दै एउटै जग्गाको दुईवटा कित्ता नम्वर हुनु त्रुटी भएको स्वीकार गरे ।
अर्का सर्बेक्षक नारायण सापकोटाले नक्सा वितरणका क्रममा गल्ती भएको स्वीकार गरेका छन् । उनले नक्सा स्पष्ट नभएका कारण पनि कित्ता नम्बर हेरफेर भएको बताए । गल्तीलाई सुधार गरेर लैजाने भन्दै बास्तविक जग्गाधनीलाई पूर्जामा भएको जग्गा नहराउने भन्दै सापकोटाले चिन्ता नगर्न आग्रह गरे ।
नापी कार्यालयका प्रमुख भण्डारीले नक्सामा त्रुटी भेटिएको स्वीकार गरेका छन् । उनले नापी कार्यालयले नियतवस जग्गाको कित्ता हेरफेर नगरेको भन्दै त्रुटी भेटिएपछि वास्तविक जग्गाधनीलाई पत्र काटेर वास्तविकता बुझ्ने काम गरेको बताए ।
एक वर्ष अघि उक्त जग्गाको सर्वेक्षणका लागि पुगेका नापी कार्यालयका सर्वेक्षक रामकुमार यादवले सो जग्गाको कित्ता नम्वर ५४७ नै भएको प्रमाणित गरेको बताएका छन् । तर, अहिले उक्त जग्गालाई ६२२ नम्वर कित्ता भन्नु गलत भएको उनले बताए ।
यता भगवती आवासीय प्रालिसँग जग्गा खरिद गरेका भविन्द्र निरौलाले किता नम्बर ५४७ बाटै आफूहरुले जग्गा खरिद गरे पनि अहिले कित्ता नम्वर नै परिवर्तन गरेर भू–माफियाको टोलीले आफूहरुलाई उठिवास लगाउन खोजेको आरोप लगाए । उनले उक्त कार्यमा बिर्तामोड–१का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको संलग्नता रहेको दावी समेत गरेका छन् ।
त्यस्तै जग्गाधनी युवराज प्रसाईले आफूले कित्ता नम्वर ५४७ अन्तर्गतको जग्गा विभिन्न व्यक्तिलाई विक्री गरेर कतिपयले घर समेत बनाइसकेको अवस्थामा बिर्तामोड–१का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले उक्त स्थानमा घर नै नभएको भन्दै खाली जग्गा भनेर ६२२ कित्ता नम्वरका लागि सिफारिस दिनुले उनको समेत मिलेमतो भएको दावी गरेका छन् । एक वर्ष अघि सोही ठाउँमा कित्ता नम्वर ६२२ खोज्दै आउनु र अहिले ५४७ कित्ता नम्वरलाई हटाएर ६२२ कित्ता नम्वर कायम गरिनुले पनि वडाध्यक्ष पाण्डेको संलग्नता पुष्टि गर्ने प्रसाईंको भनाइ छ ।
यसैबीच नापी कार्यालयले एउटै जग्गाको दुई फरक– फरक कित्ता नम्वरसहितको नक्सा प्रदान गर्नु र सोही आधारमा मालपोत कार्यालयले समेत जग्गाको वास्तविकता नबुझी किनबेच गर्नुले मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतो भएको पीडितहरुले आरोप लगाएका छन् ।
वास्तविक जग्गाधनी आफ्नो जग्गा अरुले नै हडपेपछि सम्पूर्ण प्रमाण बोकेर नापी कार्यालय र मालपोत कार्यालय धाउन बाध्य छन् । करिव ९ करोड मूल्य पर्ने सात कठ्ठा जग्गा किर्ते गर्दै हडप्ने कार्यमा सरकारी अधिकारी र जनप्रतिनिधिकै मिलेमतोको आशंका गरिएको छ । तर, उनीहरुको प्रयास विफल भएको छ । नर्वदा चौहानको नामबाट ललितपुर महानगरपालिका–४मा रहेको जी टे«डिङ प्रालिलाई जग्गा विक्री गरेको खुलेको छ ।