शीघ्र पुनःस्थापना कार्यक्रम सम्पन्न

0
592

    ताप्लेजुङ, माघ १२ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले शीघ्र पुनःस्थापना कार्यक्रम समाप्त भएको जनाएको छ ।

सो कार्यक्रम मार्फत जिल्लामा भूकम्प प्रतिरोधी क्षमताका २४ वटा विद्यालय प्रबलीकरण तथा २१ वटा विद्यालयको भवन निर्माण भएका छन् ।

बेलायती सहयोग, राष्ट्रसंघीय विकास कार्यक्रम (puयुएनडिपी) र सेद द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१२ तथा २०१३ मा सञ्चालित शीघ्र पुनःस्थापना तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रममा करिब साढे ५ करोड खर्च भएको रेडक्रस सोसाइटीले जनाएको छ ।

शाखा सभापति गणेश अधिकारीले सन् २०१२ मा चार करोड ५३ लाख ३५ हजार ७७१ रुपैयाँ तथा सन् २०१३ मा ८५ लाख ३६ हजार ८४५ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । कार्यक्रम समाप्तिपछि यो कार्यक्रमका बारेमा सरोकारवालासँग भएको समीक्षा कार्यक्रममा अधिकारीले पहिलो वर्ष २०६८ सालको भूकम्पबाट क्षतिग्रस्त यहाँका २१ वटा विद्यालयको निर्माण भएको, २४ वटा विद्यालयको भवन मर्मत भएको र १० वटा गाउँ विकास समितिमा विपद् जोखिम व्यवस्थापन योजना बनेको बताए ।

उनका अनुसार सोही वर्ष १० वटा गाविसमा ५० वटा सामुदायिक विपद् जोखिम न्यूनीकरण योजना बनाएर स्थानीयस्तरमा विपद्का बेला कार्य गर्ने जनशक्ति तयार पारिएको छ । कार्यक्षेत्रका १० वटा गाविसमा समुदायमा आधारित ३२ वटा विपद् अल्पीकरणका कार्यक्रमसमेत गरिएको छ । अधिकारीका अनुसार दोस्रो वर्षमा २० वटा विद्यालयका २४ वटा ब्लक निर्माण भएको छ ।

कार्यक्रम नौलो भएकाले प्रबलीकरणका कार्य गर्दा सुरुमा धेरैले यसलाई झन्झटको कार्य माने पनि कार्यपछि धेरैको माग आएको इन्जिनियर सर्बेश अधिकारीको भनाइ छ । प्रबलीकरण भन्नाले भइरहेका भवनलाई भूकम्प प्रतिरोधी क्षमताका भवन बनाउन प्रयोग गरिने विधि हो । प्रबलीकरण गर्दा भइरहेका भवनका भागहरूमा स्थानीय भाषामा भनिने ‘कुखुरे जाली’ लगाएर भूकम्प प्रतिरोधी क्षमताका बनाउनु भएको बताउँदै अधिकारीले यसले केही खर्च बढाए पनि जोखिम टार्न सक्ने भएकाले सुरक्षित हुने बताए ।

उनका अनुसार प्रबलीकरण कार्य गर्दा सुरुको भवन निर्माण गर्दा लागेको लागतको ३० प्रतिशतभन्दा बढी मात्र खर्च गर्ने प्रक्रियालाई आधार मान्ने गरिएको छ । निर्माण भएका २४ वटा ब्लकले प्रबलीकरणका सीप हस्तान्तरण भएको र अरू क्षेत्रमा समेत निर्माण कार्य गर्दा जनशक्ति पनि तयार भएको उनले  जानकारी दिए ।

रेडक्रसका जिल्ला सभापति अधिकारीले प्रबलीकरणको कार्यपछि जिल्लाका धेरै विद्यालयले यस्ता भवनको माग गर्न थालेको भए पनि कार्य समाप्ति भएकोले सहयोगका लागि आग्रह पनि गरे ।

विसं. २०६८ को भूकम्पबाट सबैभन्दा बढी प्रभावित ताप्लेजुङका धेरै विद्यालयको भवन भत्किएर पठनपाठन नै ठप्प हुने अवस्था आएपछि विभिन्न निकायसँग मिलेर रेडक्रस सोसाइटीले भवन निर्माण, मर्मत तथा प्रबलीकरण कार्य गर्न थालेको हो ।

अझै पनि जिल्लाका अधिकतर विद्यालयको भवन भूकम्पका कारण जोखिम अवस्थामा नै रहेका छन् । यो कार्यक्रम अवधिभर निर्माण भएका जोखिम न्यूनीकरणका स्थानीय समूहले जोखिमको नक्साङ्कन गर्ने तथा त्यसका आधारमा जोखिम हटाउन खेल्ने भूमिका निर्वाह गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here