संयम नगुमाऊ

८ पुष २०७७, बुधबार मा प्रकाशित

एकता भएको दुई वर्षपछि नै नेपाल कम्युनिष्ट पार्टी विभाजनको अन्तिम चरणमा पुगेको छ । दुई अध्यक्ष रहने गरी गठन गरिएको नेकपाभित्र पछिल्लो समय विकसित आन्तरिक कलह, अन्तर्विरोध र अविश्वासको डढेलोले क–कसलाई भष्म पार्छ त्यो समयले देखाउला । तर, सतहमा देखिएको परिस्थितिले नेपालमा कम्युनिस्ट शासन सत्ता नटिक्ने संकेत गरेको छ । सिद्धान्त र वादमा जतिसुकै उदार भनिए पनि व्यवहारमा नेतृत्व वर्गले त्यस्तो उदारता, हार्दिकता, सहिष्णुता, इमान्दारिता र जवाफदेहिता नदेखाए पछि सिद्धिनु अस्वभाविक हुँदैन । दुईतिहाई नजिकको, पूरा कार्यकाल शासन गर्ने जनादेश पाएको र गरीब–निमुखाहरुको प्रतिनिधित्व गर्ने दलभित्र व्यक्ति स्वार्थ बलियो भएको आरोप लाग्दै आएको छ । यस्तो आरोपको खण्डन गर्दै इमान्दारिताको कसीबाट उजिल्याउनुपर्ने सत्तासीन व्यक्ति र समूह यसबाट निरपेक्ष रह्यो ।

अहिले ऐतिहासिक विजय प्राप्त गरेको नेकपा दुर्घटनाको संघारमा उभिएको छ । पार्टीभित्रको कलह फुटको संघार नाघेर संस्थापन बनिने दौडमा छ । त्यो दौडमा प्रधानमन्त्री केपी ओली नेतृत्वको समूहलाई कारवाही गर्न पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह लागेको छ । त्यसका लागि विधि समेत पूरा गरिसकेको समूहले प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णय विपरीत संवैधानिक उपचार खोज्दैछ । अर्कातिर अल्पमतमा पुगेका प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष ओली दाहाल–नेपाललाई कार्वाही गर्ने तयारीमा लागेका छन् । यो वाकयुद्धमा परेर कति बाच्छा–बाच्छी घाइते हुने हुन्, कति मारिने हुन् त्यसको अनुमान गर्न सहज छैन ।

नेताहरुकै भाषामा लोकतन्त्रमा जनता सर्वोच्च शक्ति हुन् । त्यही शक्तिले नेकपा नामको दललाई पूर्णकालसम्म राज्य सञ्चालन गर्ने आदेश दिएकै हो । तर, उनीहरु नै सत्ता नजिक र सत्तारुढ भएपछि आफ्ना प्रतिबद्धता विपरीत व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको, आलोचना खप्न नसकेको र गल्तीबाट नसच्चिएको कारण विवादित र आलोचित भएकै हुन् । अझ दलीय र संसदीय पद्धति अनुसार विपक्षको कुरा नसुन्ने मात्र होइन कि आफ्नै दलभित्रको विरोध र कलहलाई व्यवस्थापन गर्न नचाहने र निरंकुश हुँदै जाने चरित्रका कारण फुटको संघार नाघेको कतिपय विश्लेषकहरुको ठम्याइ छ । यस्तोमा मंगलबारकै दिन यी दुई समूहले आ–आफ्ना स्वार्थ अनुकूल निर्णय गर्नेछन् र जनतासँगै देशलाई पनि दुर्घटनामा पार्दैछन् । नेतृत्व तहमा बस्नेहरुको यस्तो असहिष्णु र असंयमित व्यवहारले न दलले न त जनअपेक्षाले पूर्णता पाउन सक्छ । त्यसैले पनि आज विकसित परिवेश जनता र देशको पक्षमा छैन, बरु साँच्चै नै ‘बयल गाडा चढेर अमेरिका नपुगिने नै रहेछ’ भन्ने प्रमको भनाइलाई सत्य सावित गर्नेछ । नेताहरुले यस कुरालाई मनन् गरुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here