चितवन माघ १८ । वैदेशिक रोजगारीबाट अहिले नेपालमा कुल गार्हस्थ्य उत्पादनमा २३ दशमलम ५ प्रतिशत योगदान पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेसँगै विप्रेषणमा समेत ह्वात्तै वृद्धि भएको विज्ञहरूले बताएका छन् ।
चितवनमा आज भएको एक कार्यक्रममा तथ्याङ्क सार्वजनिक गर्दै वैदेशिक रोजगारका प्रशिक्षक अञ्जनकुमार दाहालले १५ वर्षमा विप्रेषणको दरसमेत ३० गुणाले बढेको बताए ।
विसं २०६६ मा गार्हस्थ्य उत्पादनमा १९ प्रतिशत योगदान दिएको वैदेशिक रोजगारी अहिले बढेर २३ दशमलव ५ प्रतिशतभन्दा माथि पुगेको उनले बताए । सन् १९९५ मा सात अर्बमात्रै रहेको विप्रेषण अहिले २५० अर्ब नाघेको समेत उनले तथ्याङ्क सार्वजनिक गरे ।
नेपालबाट हाल करिब ७० लाख मानिस विदेश गएको अनुमानित तथ्याङ्क छ । सरकारी तथ्याङ्कमा भारतबाहेक श्रम स्वीकृति लिएर २५ लाख नेपाली वैदेशिक रोजगारीमा गएको उल्लेख छ । कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी विदेशमा रोजगारीका लागि गएको बताउँदै दाहालले लुकीछिपी तथा विभिन्न कारणबाट विदेश जानेसहित गरी करिब ७० लाख पुगेको उल्लेख गरे ।
पछिल्लो १० वर्षमा गरिबीको दर १० प्रतिशत घटेर ३१ प्रतिशतमा झर्नु पनि विप्रेषणका कारण रहेको कार्यक्रममा बताइयो । नेपाल सरकारले १०८ मुलुकमा रोजगारी खुला गरेकामा हाल इराकमा बन्द गरेको छ । बढी रोजगारीका लागि मानिसहरू खाडी मुलुक गएको अधिवक्ता तथा सेलर्डका प्रतिनिधि विनोद लामिछानेले बताउनुभयो ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कमा अहिलेसम्म मलेसियामा धेरै नेपाली पुगेका छन् । त्यसपछि कतारमा पुगेका छन् । सबैभन्दा कम जापानमा गएको भए पनि पछिल्लो समय जापान गन्तव्य बन्दै आएको छ ।
वैदेशिक रोजकारीमा जाने नेपालीले विभिन्न समस्या झेल्नुपरिरहेकाले यसलाई अझै व्यवस्थित गर्न जरुरी रहेको सम्वद्ध व्यक्तिहरू बताउँछन् ।