रोटरीको सहयोगमा बिर्तामोडमा ६ वटा डायलासिस मेसिन राखिँदै

0
887

झापा ।

बिर्तामोड नगरपालिकामा निर्माणाधीन २५ शय्याको अस्पतालमा ६ वटा डायलासिस मेसिन राख्ने तयारी थालिएको छ ।

रोटरी क्लव अफ बिर्तामोडले ८० लाख र बिर्तामोड नगरपालिकाले ३० लाख रुपैयाँ लगानी गर्दै एक करोड १० लाख रुपैयाँको लागतमा डायलासिस मेसिन राख्न लागिएको बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । अनारमनी स्वास्थ्य चौकीको स्तरोन्नति हुँदै २५ शय्याको अस्पताल भएसँगै रोटरी क्लव अफ बिर्तामोडको सहयोगमा डायलासिस मेसिन राख्न लागिएको हो ।

बिर्तामोडसहित झापाभर नै मृगौलाका विरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा उपचारमा समस्या देखिएपछि रोटरी क्लवले मेसिन सहयोग गर्न लागेको बताइएको छ । बिर्तामोड दिनानुदिन शहरोन्मुख हुँदैछ, यहाँ सुविधा सम्पन्न अस्पताल भए पनि सबै विरामीले सहज रुपमा स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा बिर्तामोड नगर अस्पतालमा अब मृगौलासहितका बिरामी सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने छन्– बिर्तामोड नगरप्रमुख शिवाकोटीले भने ।

मृगौलामा समस्या देखिएका बिरामीलाई सबैभन्दा धेरै समस्या भनेकै डायलसिसमा हुन्छ– नगरप्रमुख शिवाकोटीले भने– पर्याप्त उपकरण नहुँदा नियमित सेवा लिन नसक्ने अवस्था रहेको छ यस्तो अवस्थामा बिर्तामोडमा अब चौवीसै घण्टा डायलासिस सेवा उपलब्ध हुनेछ ।

रोटरी क्लवसँगको सहकार्यमा ६ वटा डायलासिस मेसिन खरिद गरिरहेको बताउँदै नगर प्रमुख शिवाकोटीले भने– अस्पतालको भवन निर्माण सम्पन्न भइनसकेका कारण डायलासिस मेसिन राखेर उपचार गर्न पाइरहेका छैनौं । अहिले सो मेसिन कन्स्ट्रक्सन तयार भइनसकेकाले मेसिन जडानमा समस्या छ ।

डायलासिस मेसिन सञ्चालनमा ल्याउनका लागि प्राविधिकलाई समेत मेची अञ्चल अस्पतालमा लगेर तालिम दिएको बताउँदै नगर प्रमुख शिवाकोटीले भने– तालिम प्राप्त स्वास्थ्यकर्मीबाट अव मृगौलाका रोगीलाई बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा दिइन्छ ।

मुलुकभर रहेका एक स्थानीय तह एक अस्पताल भन्ने संघीय सरकारको नीति अनुरुप नै बिर्तामोडमा २५ शय्याको अस्पताल बनिरहेको नगरप्रमुख शिवाकोटीको भनाइ छ । काठमाडौँको धुलिखेल निर्माण सेवा प्रालिले मूल्य अभिवृद्धि करबाहेक ४ करोड ८० लाख ९५ हजार १८६ रुपैयाँमा नगर अस्पताल निर्माणको ठेक्का पाएको छ ।

असार ८ गते ठेक्का सम्झौता भएको अस्पताल भवनको काम २०७९ असार १ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बिर्तामोड–३ बिर्ताबजारमा रहेको अनारमनी स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै अस्पताल बनाइन लागेको हो ।

बिर्तामोडलाई अस्पताल नै अस्पतालको थलोका रुपमा हेरिए पनि गरीव र विपन्न समुदायको स्वास्थ्य उपचार गर्ने सरकारी स्वास्थ्य संस्था आफैंमा बिरामी जस्तो थियो– नगरप्रमुख शिवाकोटीले भने– मेरै पहलमा यसलाई अस्पताल बनाउन संघीय सरकारसंग जोडबल गरेका हौं । अस्पताल निर्माणसंगै यस क्षेत्रका सर्वसाधारणलाई सहज ढंगले स्वास्थ्योपचार गर्न सहज हुन्छ । बिर्तामोडमा वीएण्डसी, बिर्तासिटी, कञ्चनजंघा, कन्काई, मनमोहन सामुदायिक पूर्वाञ्चल क्षेत्रीय अस्पताल, अञ्जली, मेडिका लगायतका अस्पताल सञ्चालनमा छन् । तिनीहरुमध्ये केहीले मात्रै मृगौलाको उपचार गर्दै आएका छन् ।

पछिल्ला दिनमा पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड सर्वसाधारणको पायक पर्ने स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास भइरहेको छ । दशक अघिसम्म यहाँ सीमित संख्यामा रहेका क्लिनिकबाट बिरामीले उपचार सेवा पाउँदै आएका थिए । पछिल्लो अवधिमा दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन् ।

२०६१मा कञ्चनजंघा अस्पताल स्थापना भएसँगै बिर्तामोडमा निजी तथा सामुदायिक अस्पताल खुल्ने क्रम ह्वात्तै बढेको हो । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा गुणस्तरीय अस्पताल नहुनुले पनि बिरामी उपचारका लागि बिर्तामोड आउने गरेका छन् ।

अझ मृगौलाका विरामीलाई उपचारमा आएपनि सहज नहुँदा मर्कामा पर्ने गरेका छन् । तर, बिर्तामोडमा एकैपटक ६ वटा डायलासिस मेसिन सञ्चालनमा आएपछि सहज हुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here