युवराज रेग्मी,
गौरीगञ्ज।
कोभिड–१९ को दोस्रो लहरले फेरि विश्व भयभित हुँदै गर्दा नेपालको पूर्वी जिल्ला झापा लगायत देशभर संक्रमण दर तीव्रगतिमा बढ्दै गएको छ । झापाको सीमावर्ती दक्षिण पश्चिम गाउँपालिका गौरीगञ्जका नाकाहरुमा आवश्यक स्वास्थ्य सावधानी र चेकजाँच कार्य फितलो भएकाले संक्रमणको जोखिम बढेको छ ।
गौरीगञ्ज गाउँपालिकाको फत्तेपुर नाकामा हेल्प डेस्क स्थापना गरी आवत–जावत गर्नेहरुको सामान्य ज्वरो जाँच गर्ने गरिए तापनि फत्तेपुर नाका बाहेकका नाकाहरुबाट मानिसहरु निर्वाधरुपमा आवत–जावत गरिरहेका छन् ।
पालिका अन्तर्गत जोडिने अन्य नाकाहरुमा बैरिया, डाकुपाडा लगायतका केही सीमावर्ती क्षेत्रका सडकहरुमा सुरक्षाकर्मी परिचालन गरिए पनि आवत–जावतका क्रममा स्वास्थ्य जाँच नगरिँदा सीमावर्ती पालिका गौरीगञ्ज क्षेत्रमा जोखिम बढ्दै गएको हो । मुख्य सडकहरुमा ढाट लगाएर आवत–जावत गर्न रोक लगाइए पनि सुरक्षाकर्मीहरुले आफंै चोर बाटो देखाइ दिने गरेको स्थानीयहरुले बताएका छन् ।
फत्तेपुर, बैरिया र डाकुपाडा लगायत भारतबाट गौरीगञ्ज गाउँपालिकामा प्रवेश गर्ने १७ वटा साना–ठूला बाटाहरु रहेको स्थानीय सञ्चारकर्मी मदन राजवंशीले बताए । ती मध्ये कतिपय बाटाहरुमा सुरक्षाकर्मीहरुको समेत नियमित निगरानी नरहेको उनको गुनासो छ ।
युके भेरियन्ट प्रजातिका भाइरस तीव्रगतिमा फैलिन सक्ने क्षमता राख्ने हुनाले यसअघिको कमजोरीहरुबाट शिक्षा लिँदै बिशेष सतर्कता नअपनाए प्रकोप नियन्त्रण बाहिर जान सक्ने स्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । गौरीगञ्ज पालिकाका सडक, हाटबजार तथा कार्यालय लगायतका स्थानहरुमा पनि कुनै स्वास्थ्य सावधानी अपनाइएको पाइँदैन ।
गौरीगञ्ज गाउँपालिकाको कार्यालयभित्र कुनै स्वास्थ्य सावधानी अपनाएको छैैन । कार्यालय बाहिर हात धुने ठाउँ भए पनि साबुन पानी राखिएको छैन । कार्यालयभित्र प्रवेश गर्दा समेत सेवाग्राही र कर्मचारीलाई मास्क अनिवार्य गरिएको छैन । कर्मचारीहरुले स्वयम् पनि मास्क लगाउने गरेका छैनन् ।
यस सम्बन्धमा जिज्ञासा राख्दा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले गत बर्षको तुलनामा यस बर्ष कमजोरी भएको स्वीकार्दै यस बर्ष साबधानी नअपनाइएको तर छिट्टै पालिकाको सीसीएमसी बैठक बसेर आवश्यक साबधानी अपनाइने बताए । केही दिनयता गौरीगञ्जका छ वटै वडाहरुमा राष्ट्रिय परिचयपत्रका निम्ति तथ्यांक संकलन टोली सञ्चालन गरिएको छ ।
उक्त टोली रहेका केन्द्रहरुमा समेत सेवाग्राहीहरुको अनियन्त्रित भीड हुने गरेको देखिन्छ । ती केन्द्रहरुमा समेत सामाजिक दूरी पालना गरिएको देखिँदैन । बैंक तथा वित्तीय संस्थाहरुमा समेत सामाजिक सुरक्षा भत्ता लिन आउने ज्येष्ठ नागरिकहरुका लागि सुरक्षाको कुनै मापदण्ड पालना गराइएको छैन । साथै पालिकाभित्र लाग्ने हाटबजारहरु पनि निर्वाधरुपमा लाग्दै आएका छन् । ती स्थानहरुमा समेत अधिकांशले मास्कको प्रयोग गरेको देखिँदैन ।
यस सम्बन्धमा जिज्ञासा राख्दा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले तत्काललाई फत्तेपुर नाकामा हेल्प डेस्क राखेर चेकजाँच गरिरहेको बताउँदै चाँडै सीसीएमसीको बैठक बसेर सावधानीका उपायहरु अबलम्बन गरिने प्रतिबद्धता जनाए ।