न्याय मर्नु हुँदैन

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित

वैदिक सनातनी संस्कृतिमा दशैं सर्वाधिक महत्वको पर्व हो । दशैं असत्यमाथि सत्यको जीत भएको खुशियाली उत्सवका रुपमा मनाउन प्रारम्भ भएको पर्व । त्रेतायुगमा रावणले सत्यात्माहरुलाई अनाहकमा दुःख दिएर जताततै अशान्ति, हिंसा र आतंक मच्चाएका कारण सत्य परास्त हुने अवस्थामा पुग्दा भगवान रामले मानवरुपमा प्रकट भई रावण नामको दुर्विचार, दुराचार र दुष्प्रवृत्तिको नाश गरेको मान्यता छ । त्यही मान्यताका आधारमा दशैं रावणवधको खुशियालीको प्रतीकका रुपमा मनाउन थालिएको हो । त्यसो त शुम्भ, निशुम्भ लगायतको अमानवीय, अनैतिक र अनाचारी प्रवृत्तिले दुनियाँलाई आजित गरेपछि सम्पूर्ण देवताहरुले दुर्गा भवानीको स्तुति गरी देवीकै हातबाट राक्षसहरुको विनाश गरेको दिनको हर्षोत्सव पनि दशैं हो भनिएको छ । जे होस दुबै मान्यताले दशैं दानवीय प्रवृत्तिको अन्त्य र मानवीय शक्तिको प्रारम्भको दिन हो ।

प्रत्येक वर्ष दुईवटा दशैं पर्दछन् । तर, गएको वर्ष मलमास भएका कारण चैतमा मनाइने दशैं अर्को वर्षको अर्थात् २०७८ को वैशाखमा आइपुगेको छ । लोककथन अनुसार हिन्दूहरुले मनाउने चैतमा पर्ने दशैं चैते दशैं र असोज महिनामा पर्ने वडादशैं गरी दुईवटा दशैं छन् । त्यही कथनले प्रकृति प्रतिकूल हुने कारणले चैतमा मनाइने दशैं असोजमा सारिएको हो, तर चैते दैशैंमा पनि परम्परादेखि नै देवीका मठ–मन्दिरहरु र घर–घरमा दुर्गा सप्तसती, चण्डी लगायत पढेर देवीको उपासना गर्ने गरिन्छ । वडादशैंको जस्तो टीका थाप्ने, मेलापात–जात्रा र नयाँ लुगा र मीठो खाना यो दशैंको विशेषताभित्र पर्दैन । तर, पनि चैते दशैं मूलतः नेपालीहरुको र समग्रमा हिन्दू संस्कृतिको महत्वपूर्ण पर्व हो ।

चैते दशैंको अष्टमीका दिन भगवान रामचन्द्रले वनवासको चौध वर्षे समय भुक्तान गरेर अयोध्या फर्किएको मानिन्छ । त्यसक्रममा निर्दोष सीतामाथि रावणले गरेको दुव्र्यवहारको सजाय दिन र नारी अस्मिताको रक्षा गर्न देवी दुर्गाकै सहयोगमा रावणको वध गर्नुपरेको प्रसंगले पनि नारी अस्मिताप्रति हिन्दू संस्कृतिमा उच्च सम्मान छ भन्ने देखिन्छ । नवरात्रका सबै दिन र रातहरुको अलग–अलग महत्व छन्, तर चैते दशैं भने अष्टमी र नवमी तिथिका दिन पाठ गरिएका देवी भागवत, देवीस्तोत्र, चण्डी लगायत समापन गरिन्छ । निधारमा रातो टीका लगाउने परम्परा नभए पनि परिवारसँग बसेर मीठो खाने चैते दशैंको परम्परा हो । मूलतः चैते दशैं पनि सत्य, न्याय, निष्ठा, कर्तव्यप्रति सजग गराउने पर्व हो । त्यसैले हामी सबैलाई यो पर्वले त्यसतर्फ लाग्न प्रेरित गरोस् । खासगरी पद्धति, विधि र व्यवस्था गर्नुपर्ने सरकार र त्यहाँ रहेका नेतृत्व वर्गमा चैते दशैंले सत्य, न्याय, निष्ठा, धर्म, कर्तव्य र जिम्मेवारी बोध गराओस् । कोरोना महामारीका बीच आएको चैते दशैंले सांस्कृतिक रुपले सबैलाई एकाकार बनाउन सकोस्, सत्मार्ग देखाउन सकोस्, हार्दिकता मर्न नदिओस्– महाअष्टमीको शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here