कुशल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा

८ बैशाख २०७८, बुधबार मा प्रकाशित

काठमाडौँ,

नेपाली युवा खेलाडी कुशल भुर्तेल पहिलोपटक विश्व टी–२० क्रिकेटको बरियतामा पर्न सफल हुनुभएको छ ।

रुपन्देहीका २४ वर्षीय भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएपछि उहाँलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बरियातामा समावेश गरेको हो ।

भुर्तेल टी–२० को नयाँ बरियतामा शीर्ष १०० खेलाडीको सूचीमा पर्नुभएको छ । उहाँ ९३ औँ स्थानमा रहनुभएको छ । भुर्तेल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत पर्न सफल हुनुभएको छ । उहाँले तीन खेलमा एक सय ८५ रन बनाउनुभएको छ । भुर्तेलले नदेरल्याण्ड्ससितको खेलमा दुई तथा मलेसियासितको खेलमा एउटा अद्र्धशतक बनाउनुभएको थियो । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६२ रन, मलेसियासितको खेलमा ६१ रन तथा नेदरल्याण्ड्ससितको खेलमा ६२ रन बनाउनुभएको थियो ।

यसैगरी आइसीसीले जारी गरेको नयाँ बरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ८३औँ स्थानमा पर्नुभएको छ । उहाँ यसअघिको बरियतामा ७३औँ स्थानमा हुनुहुन्थ्यो । अभ्यासका क्रममा घाइते भएपछि खड्का हाल जारी त्रिदेशीय टी–क्रिकेट सिरिज खेल्नबाट वञ्चित हुनुभएको छ ।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने विश्व बरियतामा ७७ औँ स्थानमा रहनुभएको छ । उहाँ यसअघि ८४औँ स्थानमा रहनुभएको थियो । हाल जारी टी–२० सिरिजमा लामिछानेले तीन खेलमा आठ विकेट लिनुभएको छ । उहाँले नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा मङ्गलबार चार विकेट लिनुभएको थियो । योसँगै लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिनुभएको छ ।

टी–२० क्रिकेटमा उहाँले हालसम्म २४ खेलमा ४२ विकेट लिनुभएको छ । यसअघि टी–२० क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने कीर्तिमान करण केसीको नाममा थियो । उहाँले ३१ खेलमा ४१ विकेट लिनुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here