अपराध न्यूनीकरण र चोरी तस्करी नियन्त्रणमा झापा प्रहरीको कडा ‘एक्सन’: आठ महिनामा १० करोड राजश्व संकलन

0
1176

सुरेन्द्र भण्डारी 

झापा,प्रहरीले पछिल्लो आठ महिनामा भन्सार छली, चोरीतस्करी नियन्त्रणबाट मात्रै अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशत बढीले राजश्व संकलन गरेको छ ।

प्रहरीले पछिल्लो आठ महिनामा भन्सार छली गरी नेपाल भित्र्याइएका किराना आइटम, विद्युतीय सामग्री, सवारीका पाट्र्स, लत्ताकपडा, पशुचौपाया, काठ र अन्य विभिन्न सामग्री पक्राउ गर्दै भन्सार दाखिला गरेको हो । जसबाट प्रहरीले नौ करोड ३१ लाख ९७ हजार सात सय १२ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रहरीले किराना आइटमबाट मात्रै अघिल्लो आर्थिक वर्ष ४७ लाख ५१ हजार नौ सय रुपैयाँ राजश्व संकलन गरेको थियो भने चालू आर्थिक वर्षको फागुनसम्ममा दुई करोड ७९ हजार तीन सय ६८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै विद्युतीय सामग्रीबाट दुई करोड २९ लाख ८० हजार पाँच सय, सवारी पाट्र्सबाट ५३ लाख ६५ हजार दुई सय ५५, लत्ताकपडाबाट ८२ लाख ९५ हजार दुई सय ७०, पशुचौपायबाट ३७ लाख ७० हजार पाँच सय, काठबाट ३४ लाख ५० हजार पाँच सय र अन्य विभिन्न सामग्रीबाट चार करोड ७५ लाख ५६ हजार तीन सय १९ गरी नौ करोड ३१ लाख ९७ हजार सात सय १२ रुपैयाँ राजश्व संकलन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापामा सानुराम भट्टराईले प्रहरी उपरीक्षकको नेतृत्व सम्हालेसँगै ओरियन्सका सामान सबैभन्दा बढी पक्राउ गरिएको थियो । प्रहरीले दमकबाट तीन करोड रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरेको थियो । गत माग १० गते दमक नगरपालिका– ६स्थित पदम गुरुङको घरमा अवैधरुपमा राखिएका विभिन्न किसिमका ओरियन्सका खाद्य परिपूरक वस्तु बरामद गरेको थियो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले गुरुङको घरमा छापा हानेर ओरियन्स कम्पनीका सामग्री बरामद गरेको थियो ।

फागुन ९ गते भद्रपुर नगरपालिका–५बाट दुई करोड १८ लाख दुई सय पाँच सय बराबरको अवैध सामान बरामद गरेको थियो । बरामद गरिएको सामान राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । भद्रपुरबाट प्रहरीले मे १ च १८२१ प्र.ज्ञ–०१–००१–ज ३४७६ र मे१ज २२१८ नम्बरको गाडी प्रयोग गर्दै तेस्रो मुलुकबाट आयातित मोबाइलमा प्रयोग गरिने सामग्री प्रहरीले बरामद गरेको थियो । माघ र फागुन महिनामा मात्रै प्रहरीले पाँच करोडभन्दा बढीको अवैधरुपमा नेपाल भित्रिएको सामग्री बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । प्रहरीले विशेष चेकजाँच अभियान नै सञ्चालन गरेर जिल्लाका विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका सामग्री बरामद गर्दै भन्सार बुझाएको थापाको भनाइ छ ।

आर्थिक वर्ष २०७५÷०७६को तुलनामा प्रहरीले भन्सार छली, चोरीतस्करी नियन्त्रणबाट ३४ प्रतिशत राजश्व वृद्धि गरेको थियो भने चालू आर्थिक वर्षको आठ महिनाको अवधिमै अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशत बढीले राजश्व संकलन गरेको हो । प्रहरीले साउन महिनामा मात्रै ५३ लाख ४९ हजार पाँच सय ३० रुपैयाँ, भदौमा ५५ लाख ९५ हजार दुई सय १६ रुपैयाँ, असोजमा ५० लाख ५० हजार एक सय ११ रुपैयाँ, कात्तिकमा ४२ लाख ५७ हजार पाँच सय ८० रुपैयाँ, मंसीरमा ३४ लाख १७ हजार चार सय ८० रुपैयाँ र पुस महिनामा ६० लाख ४७ हजार ४५ रुपैयाँ, माघ महिनामा तीन करोड ५४ लाख ९९ हजार आठ सय ८८ रुपैयाँ र फागुन महिनामा दुई करोड ५८ लाख ४३ हजार आठ सय १२ रुपैयाँ राजश्व संकलन गरेको हो । विशेषगरी पूर्वी नाका काँकरभिट्टा, भद्रपुर, कुमरखोद, गौरीगञ्ज, सतीघट्टा लगायतका नाकामा प्रहरीले कडाइ गरेका कारण राजश्व संकलनमा वृद्धि भएको हो । कोरोना संक्रमणकाबीच पनि प्रहरीले राजश्व संकलनमा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रुपमा राजश्व संकलन गर्न सफल भएको देखिन्छ ।

लागूऔषध नियन्त्रणमा पनि प्रहरी सफल

झापामा दिनानुदिन लागूऔषध दुव्र्यसनीको संख्या बढेको छ । प्रहरीले भने लागूऔषध नियन्त्रणको क्षेत्रमा समेत उल्लेख्य सफलता हात पारेको छ ।

आर्थिक वर्ष २०७५÷०७६को तुलनामा २०७६÷०७७मा लागूऔषध सम्बन्धी मुद्दा ६ प्रतिशतले कम भएका थिए भने चालू आर्थिक वर्षको आठ महिनामा प्रहरीले १५ प्रतिशत बढी मुद्दा दर्ता गरेको छ । लागूऔषध नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्दै आएको प्रहरीले दिनहुँजसो लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नलाई पक्राउ गर्दै मुद्दा दर्ता गर्न थालेसँगै लागूऔषध सम्बन्धी मुद्दा १५ प्रतिशत बढी दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७मा मेचीनगर नगरपालिका अन्तर्गत ३९ वटा लागूऔषधका मुद्दा दर्ता भएको थियो, जुन कूल लागूऔषध मुद्दाको ३३ प्रतिशत हो ।

त्यस्तै चालू आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा मेचीनगर नगरपालिकामा मात्रै लागूऔषध मुद्दा ३१ प्रतिशत दर्ता छन् । यसबाट पनि पुष्टि हुन्छ कि मेचीनगर नगरपालिका लागूऔषध दुव्र्यसनीको प्रमुख अखडा हो । लागूऔषध कारोबारीले भारतीय बजार शिलगढी, नक्सलबाडी, पानीटंकीबाट सोझै काँकरभिट्टा भित्र्याउने गरेका छन् । प्रहरीले विशेष निगरानी अपनाएर काँकरभिट्टा नाकामा चेकजाँच गर्दै लागूऔषधसहित मानिस पक्राउ गर्दै मुद्दा दर्ता गर्ने गरेको छ ।

 

प्रहरीको तथ्यांक अनुसार भद्रपुर नगरपालिकाबाट गत वर्ष आठ वटा लागूऔषधका मुद्दा दर्ता थिए भने चालू आर्थिक वर्ष १६ वटा दर्ता छन् । मेचीनगर नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा ३९ वटा मुद्दा दर्ता भएका थिए भने चालू आर्थिक वर्ष ४२ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै दमक नगरपालिकामा अघिल्लो आर्थिक वर्ष १२ वटा मुद्दा दर्ता थिए भने यो वर्ष १९ वटा मुद्दा दर्ता भएका छन् । कनकाई नगरपालिकामा अघिल्लो आर्थिक वर्ष तीन वटा मुद्दा दर्ता थिए भने यो आर्थिक वर्ष दुई वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै अर्जुनधारा नगरपालिकाबाट गत वर्ष चार वटा मुद्दा दर्ता थिए भने यो वर्ष १० वटा मुद्दा दर्ता भएका छन् । बिर्तामोड नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा १९ वटा मुद्दा दर्ता भएका थिए भने यो वर्ष १२ वटा मुद्दा दर्ता छन् । शिवसताक्षी नगरपालिकाबाट अघिल्लो आर्थिक वर्ष १२ वटा मुद्दा दर्ता थिए भने यो वर्ष पाँच वटा मुद्दा दर्ता छन् । त्यस्तै गौरादह नगरपालिकाबाट अघिल्लो आर्थिक वर्ष एउटा मुद्दा दर्ता थियो भने यो वर्ष दुई वटा मुद्दा दर्ता भएका छन् ।

लागूऔषधसहित पक्राउ पर्ने धेरै नेपाली छन् । तीमध्ये केही भारतीय नागरिक छन् । आर्थिक वर्ष ०७७÷०७८मा २१ जना भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् भने एक सय ९१ जना नेपाली रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७मा आठ जना भारतीय र एक सय ८३ जना नेपाली नागरिक पक्राउ परेका थिए । आर्थिक वर्ष ०७६÷०७७मा लागूऔषध मुद्दामा पक्राउ प्रतिवादीमध्ये ९४ प्रतिशत पुरुष थिए भने यो आर्थिक वर्षको आठ महिनामा ९६ प्रतिशत अभियुक्त पुरुष छन् । प्रहरीको सक्रियताका कारण विभिन्न गाउँपालिकाबाट समेत लागूऔषध प्रयोगकर्ता धमाधम पक्राउ परिरहेका छन् । पक्राउ पर्नेमध्ये गौरीगञ्ज, बुद्धशान्ति गाउँपालिकाका धेरै छन् । अघिल्लो आर्थिक वर्ष कमल गाउँपालिकाबाट ११ जना पक्राउ परेका थिए भने यो वर्ष चार वटा मुद्दा दर्ता छन् । गौरीगञ्ज गाउँपालिकामा अघिल्लो आर्थिक वर्ष एउटा मुद्दा दर्ता थियो भने यो वर्ष आठ वटा मुद्दा दर्ता छन् । बाह्रदशी गाउँपालिकाबाट अघिल्लो आर्थिक वर्ष एउटा मुद्दा दर्ता थियो भने यो वर्ष चार वटा मुद्दा दर्ता छन् ।

बुद्धशान्ति गाउँपालिकामा अघिल्लो आर्थिक वर्ष छ वटा मुद्दा दर्ता थिए भने यो वर्ष तीन वटा मुद्दा दर्ता भएका छन् । झापा गाउँपालिकामा अघिल्लो आर्थिक वर्ष लागूऔषध सम्बन्धी कुनै मुद्दा दर्ता भएका थिएनन्, तर झापा गाउँपालिकाबाट यो वर्ष पाँच वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता छन् । हल्दिबारी गाउँपालिकाबाट गत वर्ष एउटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता थियो भने यो वर्ष शून्य छ । कचनकबल गाउँपालिकामा गत वर्ष एउटा पनि मुद्दा दर्ता नरहेकोमा यो बर्ष चार वटा मुद्दा दर्ता भएको बताइएको छ ।

आठ महिनाको अवधिमा लागूऔषध मुद्दामध्ये २१ प्रतिशत मुद्दा विभिन्न गाउँपालिकाबाट दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।

लागूऔषध र अपराध न्यूनीकरण पहिलो मिसन – प्रहरी उपरीक्षक भट्टराई 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले लागूऔषध नियन्त्रण र अपराध न्यूनीकरण नै आफ्नो पहिलो मिसन भएको बताएका छन् ।

उनले छोटो अवधिमा राजश्व संकलनमा समेत उल्लेख्य सफलता हात पारेको बताउँदै लागूऔषध नियन्त्रणका क्षेत्रमा समेत सन्तोषजनक काम भएको बताएका छन् ।

विभिन्न युनिटबाट प्रहरी परिचालन गर्दै अपराध न्यूनीकरण, भन्सार छली, चोरीतस्करी नियन्त्रण र लागूऔषध नियन्त्रणका लागि आफूले मिसन बनाएरै काम गरेको उनको भनाइ छ । अपराध न्यूनीकरणमा कुनै सम्झौता नगर्ने बताएका भट्टराईले फरार अपराधीलाई पक्राउ गर्ने काममा समेत प्रहरी लागीपरेको बताए ।

इ पेपर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/9-baishakh-final.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here