विनोद सापकोटा,
झापा।

करिब १० करोड रुपैंयाँको लगानीमा झापाको दमक बहुमुखी क्याम्पसमा निर्माणहुन लागेको २४ वटा कोठाका चारवटा ब्लकको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेका छन् । उनले बालुवाटर बाटै भर्चुअल विधिबाट भवनको शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओलीले राजनीतिका नाममा विकास निर्माणका कुनैपनि कामलाई रोक्न नसकिने बताए । प्रधानमन्त्री ओलीले केही तत्वहरुले एकबर्षसम्मका लागि विकास निर्माणको काम ठप्प पार्ने गरेको प्रयास असम्भव रहेको बताए । ‘अब चुनाव आयो । त्यसैले यो बर्ष विकासका केही काम गर्नु हुदैन भनेर केही साथीहरु लाग्नुभएको छ भने किमार्थ त्यो रोकिदैन,’ प्रधानमन्त्री ओलीले भने ‘तर यो सरकार जनउतरदायी भएकोले जनताको सुविधाका लागि गर्ने काम गर्न कसैको भनाइको परवाह नगरी अघि बढिरहन्छ ।’
प्रधानमन्त्री ओलीले केही विपक्षीहरुले सरकार लोकप्रिय हुन्छ भनेर विकास निर्माणका काम रोक्न आग्रह गरेको बताएका छन् । ‘सरकारले लोकप्रिय हुने काम गरिसकेको छ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामी लोकप्रियताका लागि भन्दा पनि जनताका लागि काम गरिरहेका छौं ।’
सरकार कोरोनाबाट जनतालाई बचाउन अनवरत रुपमा लागेको प्रधानमन्त्री ओलीले बताएका छन् । कोरोना विरुद्ध लड्न हरेक व्यक्ति सिपाँही भएकोले यसलाई परास्त गर्न सबैको उस्तै दायित्व हुने उनले बताए । ‘विभिन्न देशबाट खोप ल्याउने प्रक्रिया चलिरहेको छ । हामी खोप ल्याछौं र सबै नागरिकलाई खोप उपलब्ध गराउछौं’ प्रधानमन्त्री ओलीले भने ।































