पार्थ मण्डल,
झापा।

४२ बर्षीया शिवानी देवान । महिला भएर पनि जो अहिले दैनिक व्यस्त छिन् । उनी पछिल्लोपटक झापामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनको जोखिमपूर्ण काममा समेत सशक्त भएर अग्रणी भूमिकामा खटिरहेकी छिन् ।
भद्रपुर नगरपालिका–६ निवासी शिवानी अविवाहित महिला हुन् । भद्रपुर माविमा अध्ययनरत् रहँदा वि.सं. २०४६ सालमा शिवानी नेपाल स्काउटमा प्रवेश गरेकी थिइन् ।
बालबालिका तथा युवावर्गलाई शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाउन नेपाल स्काउटको स्थापना भएको हो । नेपाल स्काउटको उद्देश्यलाई आत्मसात् गर्दै विद्यार्थी जीवनदेखि नै जनसेवी बनेकी शिवानीको नेपाल स्काउटको यात्रा अहिलेसम्म जारी छ । १० वर्षको सानै उमेरदेखि स्काउटमा लागेकी शिवानीले ३२ वर्ष स्काउटमै बिताइसकेकी छिन् ।
लिट्ल फ्लावर्स इङ्लिस बोर्डिङ स्कूल बिर्तामोडका स्काउटर (शिक्षक), युनाइडेड यूथ ओपेन स्काउट मेचीनगरका क्र्यु रेञ्जर लिडर र नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक समेत रहेकी शिवानी अहिले पनि भद्रपुरस्थित नेपाल स्काउटको कार्यालयमा कार्यरत छिन् । कोरोना भाइरसको संक्रमण नेपालसहित विश्वभर यसरी फैलिने र त्यस सङ्क्रमणले मानव जीवनलाई नै क्षति पु¥याउने सपनामा पनि कहिले कल्पना नगरेकी उनले बताइन् ।
पहिलो लहरमा झापामा १२९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यस बेला मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन नेपाली सेनाले गरेका थिए । दोस्रो लहर आएपछि सङ्क्रमितको मर्ने सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि नेपाली सेनालाई शव व्यवस्थापनमा चुनौति थपिँदै गयो । त्यसपछि नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिले शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउने निर्णय ग¥यो । नेपाली सेनाले झापा, मोरङ र सुनसरीका ४४ जना स्काउटरलाई चार दिने शव व्यवस्थापन तालिम दियो । सोही तालिम अनुसार अहिले झापामा स्काउटरले सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको उनले बताइन् ।
‘जेठ १९ गते स्काउट भवनमा संक्रमित शव व्यवस्थापन टोली खटिने स्काउटरका लागि छुट्टै क्वारेन्टाइन बनाइयो’– उनले भनिन्– ‘त्यसपछि जेठ २२ गते नेपाली सेनाको सहकार्यमा स्काउटरले भद्रपुरमा पहिलो सङ्क्रमितको शव व्यवस्थापन ग¥यो ।’ अहिलेसम्म मेरो नेतृत्वमा ११ जना सङ्क्रमितको शव व्यवस्थापन गरिसकेकी बताउँदै उनले भनिन्– ‘स्काउटरले मात्र २० जनाको शव व्यवस्थापन गरिसकेको छ ।’
जिल्लामा सङ्क्रमितको मृत्यु पश्चात् नेपाली सेनाले अहिले स्काउटरलाई जानकारी गराउन थालेको छ । ‘स्काउट भवनमा चार जनाको टोली राखिएको छ, टोलीमा स्काउटरले आलोपालो समय दिइरहेका छन्’– उनले भनिन्– ‘पहिला सेनालाई मात्र शव व्यवस्थापन गर्ने खबर जान्थ्यो, अहिले हामीलाई सिधै सम्पर्क गर्न थालेका छन्, खबर आएपछि जिल्लाका हरेक स्थानीय तहमा स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सहकार्यमा शव व्यवस्थापन गर्दै आएका छौँ ।’
हामीले एक दिनमा तीन वटासम्म शव व्यवस्थापन गरेका छौँ– उनले भने– ‘पीपीई, चश्मा, जुत्ता लगाउँदा शुरु–शुरुमा उकुसमुकुस हुन्थ्यो, अहिले बानी लाग्यो ।’
उनी भन्छिन्– अहिले पनि नेपाली समाजमा महिलालाई हेर्न दृष्टिकोण र परम्परागत सोचमा परिवर्तन आउन सकेको छैन । जब हाम्रो टोली पीपीई नलगाईकन सङ्क्रमितको शव व्यवस्थापन गर्न कसैको घर जान्छ । सङ्क्रमितका परिवारका सदस्यले महिला देख्ने बित्तिकै भन्ने गरेका छन्– महिलासहितको टोलीले शव व्यवस्थापन गर्न सक्छन् त ?’
‘जब हामीले पीपीई लगाइ सङ्क्रमितको शव सुरक्षित तरिकाले व्यवस्थापन गरिसक्छौं, अनि उनीहरूको बोल्ने शब्द एकाएक बन्द हुन्छ, यस्तो घटना धेरै ठाउँमा भोगेका छौँ’– उनले भनिन् ।
सङ्क्रमितको शव व्यवस्थापनमा त्यस्तो कुनै समस्या भोग्नु परेको छैन । ‘अहिलेसम्म स्काउटरहरु सुरक्षित तरिकाले शव व्यवस्थापन गर्दा संक्रमित हुनु परेको छैन’– उनले भनिन्– ‘सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव देखाउन पाइँदैन, तर केही परिवारले सङ्क्रमितको अनुहार हेर्न खोज्दा अनि मात्र हामीलाई समस्या हुन्छ । त्यसबेला परिवारका सदस्यलाई सम्झाउने बुझाउने कोही नजिकै भइदिए देखि काम गर्न हामीलाई सहज हुन्थ्यो ।’
सेनाले दिएको तालिम पश्चात् जिल्लामा दुई वटा टोली (दमक र भद्रपुर) मा बनाएको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समिति सदस्य अरुण बस्नेतले जानकारी दिए ।
‘टोलीलाई खाना–बस्न समस्या हुने भएपछि दमकको टोली केही दिनमै हटायौं– बस्नेतले भने– ‘अहिले जिल्ला स्काउट भवनमा रहेको टोलीले नै जिल्लाभरि शव व्यवस्थापन गर्दै आइरहेको छ ।’ टोलीमा तीन महिला र १५ पुरुष गरी १८ जना रहेका छन् । उनीहरूले आलोपालो समय दिएर सङ्क्रमितको शव व्यवस्थापन गर्दै आइरहेको उनले बताए । शव व्यवस्थापनमा खटिने टोलीलाई कुनै समस्या छैन । स्काउटरलाई सरकारी पक्षबाट सहयोग प्राप्त भइरहेको उनको भनाइ छ ।
यता स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सङ्क्रमितको सङ्ख्या १२ हजार ९१९ पुगेको छ । त्यसमा डिस्चार्ज हुनेको संख्या १० हजार ८०७ रहेको छ । हालसम्म झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२६ पुगेको छ ।






























