झापा।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भनेर ठगि गर्ने एक व्यक्ति झापाबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका –९ का लालबहादुर कार्कीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका–५ हाङ्गुमका ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाउने भन्दै ११ लाख ५० हजार रकम लिएको उजुरीका आधारमा पक्राउ गरिएको महासाखाले जनाएको छ ।
कार्कीले रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्दै राइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । उजुरी पछि विभागले कार्कीलाई पक्राउ गरी विभाग उपस्थित गराइदिन महानगरीय अपराध महाशाखामा पत्राचार गरेको थियो ।
महाशाखाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कार्कीलाई झापाको अर्जुनधारा नगरपालिका– ५ शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको जनाइको छ ।
जम्मा लागत चालिस लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलव हुने जागिर लगाईदिन्छु भनेर विश्वास दिलाई प्रलोभनमा कार्कीले ठगी गरेको उजुरी परेको जनाइको छ ।































