मतदाता नामावली दर्ताका लागि समयावधि थप्न माग

0
313

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरका राजनीतिक दलहरु समेत सम्मिलित स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको बैठकले मतदाता नामावली दर्ताका लागि तोकिएको समयावधि थप्न माग गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईको अध्यक्षतामा आज सोमबार बसेको बैठकले फोटो सहितको मतदाता नामावली दर्ता गराउन समयावधि कम हुने भन्दै पुनः थपका लागि माग गर्ने निर्णय भएको हो।

यस अघि निर्वाचन आयोगले तोकेको १५ दिनको समयभित्र नयाँ मतदाताहरुको नामावली दर्ता सम्पन्न हुन नसकेपछि पुनः कम्तिमा १० दिन समय थप गर्न माग गरिएको छ ।

गत मंसिर १७ गतेदेखि हरेक दिन प्रति वडाका दरले २६ गतेसम्ममा ८ सय ६६ जनाको नामावली दर्ता भएको र १ हजार २ सय ३ जनाको नाम टिपोट दर्ता हुन बाँकी रहेको जनाउँदै अवका ४ दिन पुस २ गतेसम्ममा बाँकी रहन गएकाे नामावली दर्ता हुन नसक्ने भए पछि बाँकी समयका लागि थप एक जना कर्मचारीको समेत व्यवस्थापन गर्न माग गर्ने निर्णय भएको छ । सो अवधिको कर्मचारीको खर्च नगरपालिकाले व्यवस्थापन गर्ने उल्लेख छ ।

नाम टिपोट गरेकाहरुको दर्ताका लागि मंसिर २८ गते वडा नम्बर १ र ५, २९ गते वडा नम्बर ३ र ७, पुस १ गते वडा नम्बर ९ र १० तथा पूष २ गते वडा नम्बर २, ४, ६ र ८ को समय बैठकले निर्धारण गरेको छ । ती दिनमा विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म नगरपालिका कार्यालयमा नामावली दर्ता गर्ने समय तोकिएको छ ।

प्रदेश निर्वाचन कार्यालयको पत्रानुसार १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्ति र सो उमेर भन्दा माथिका छुट भएकाहरूका लागि पुस २ गतेसम्म दर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो । मतदाता नामावलीको ठाउँसारी सहितको अद्यावधिक गर्नका लागि भनें जिल्ला निर्वाचन कार्यालयमै सम्पर्क गर्नुपर्ने प्रावधान राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here