अर्जुनधारा ।

हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
“हचुमासा सामुदायिक वनको सर्वाङ्गिण विकासको लागि हाम्रो प्रतिबद्धता, जैविक विविधता संरक्षण र सामाजिक आर्थिक विकासमा दुरदर्शीता” भन्ने मुख्य नारासहित आयोजित सभाको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।
समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षतामा आयोजित सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष लोहारले र गत आर्थिक वर्ष ०७७÷०७८को आर्थिक प्रतिवेदन कार्यालय सचिव श्रीप्रसाद नेपालले प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको पाँच वर्षे कार्ययोजना निर्माण र स्वीकृत गरी संस्था सञ्चालनमा सहजता ल्याइएको, समूहको क्षेत्रभित्र रहेका कृषकहरुको सिञ्चाईं समस्या समाधानका लागि कुलो उठाउने र पैनीहरुको मुहान संरक्षण गर्ने, कच्ची बाटोहरु स्तरोन्नती, ‘हात्ती आहाल’ पर्यटकीय क्षेत्र स्तरोन्नतीका कार्यहरु, अति विपन्न परिवारको लागि आवास कार्यक्रममार्फत् ७ परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको, प्राविद्यिक शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै वन विज्ञान र पशु विज्ञानतर्फ २ जनालाई छात्रवृत्ती उपलब्ध गराएको, विभिन्न ४ वटा टोलमा सडक बत्तीको व्यवस्था गरेकोलगायत उल्लेख गरिएको छ ।

त्यसैगरी समूहले गत आर्थिक वर्षमा ९३ लाख १० हजार सात रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा दायित्व भुक्तानीतर्फ २६ लाख ८० हजार आठ सय ७५ रुपैयाँ, वन विकासतर्फ २० लाख ७२ हजार आठ सय ६५ रुपैयाँ, संकलन नम्बरीङ र चिरानीतर्फ १७ लाख ३२ हजार चार सय ३० रुपैयाँ, प्रशासनिकतर्फ १४ लाख ५५ हजार २४ रुपैयाँ, सामाजिक विकासतर्फ आठ लाख ८६ हजार तीन सय ५८ रुपैयाँ, गरिवी निवारणतर्फ तीन लाख १७ हजार तीन सय १० रुपैयाँ खर्च भएको छ ।
सोही कार्यक्रममा विभिन्न व्यक्तित्व तथा संस्थाहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी बल खुदुनावारी वेस, समूहका संस्थापक अध्यक्ष प्रेम खत्री, पूर्व अध्यक्षहरु गजाधर खतिवडा, विष्णु प्रसाईं, वीजेन्द्रकुमार एक्तेन र रामबहादुर निरौला, चन्द्र ढुंगाना, मनकुमार बस्नेत, कुमार बस्नेत र बलवीर एक्तेन रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रानासँगै, राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, अर्जुनधारा–१ वडा समितिका अध्यक्ष गजाधर खतिवडलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समूहका उपाध्यक्ष सन्तबहादुर मगरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव प्रभा नेपालले गरेकी थिइन् ।































