तमु नयाँ वर्षलाई स्वागत

0
484

भनिएको छ– शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए मान्छे नै हराउँछ । अहिले भौतिकताको विकास, आधुनिक सेवासुविधाको मोह र परसंस्कृतिको अन्धानुशरणले नेपाली नै हराउने अवस्थामाा पुग्न थालेका छौं । सांस्कृतिक, भाषिक, भौगोलिक तथा जातीय विविधताले समृद्ध नेपाल प्राकृतिक सौन्दर्यको समेत भण्डार नै हो । भूगोलले सानो, संख्याले थोरै र विविधताले अद्वितीय नेपाल अनुसन्धाताहरुका लागि स्रोत र सम्पदाका दृष्टिले अति महत्वको छ । यहाँको सम्पन्नतामा जातीय एवम् परम्परागत भिन्नता र भिन्नताकाबीचको एकात्मकताले सुनमा सुगन्ध थपेको छ । हिमाल, पहाड, भित्री मधेश, तराई र उपत्यकामा भूगोालद्वारा वर्गीकृत जनजीवनको विशिष्ट पहिचान छ । त्यही पहिचानसहित गौरवपूर्ण इतिहास भएको एउटा जाति हो गुरुङ, जसले सांस्कृतिक तथा ऐतिहासिक महत्व र अस्तित्व पनि बोकेको छ ।

सबैखाले अनेकताकाबीच हार्दिक एकात्मकता कायम गरी बसेका जाति मध्येको गुरुङ जाति आज परम्परा अनुसार नयाँ वर्ष मनाउँदैछन्् । तमु ल्होसार भनिने आजको दिन गुरुङहरुको बसोबास भएको अमेरिका, अष्ट्रेलिया, बेलायत, भारत, बर्मा, भुटानमा समेत भव्यतापूर्वक मनाइन्छ । प्रकृतिसँगको निकटता प्रतिबिम्बित हुने गुरुङ जातिको विभिन्न प्रजातिका जनावर प्रतीक रहने गरी महिनाहरुको नाम राखेका हुन्छन् । त्यस्तै वर्षहरुमा आजदेखि शुरु हुने नयाँ वर्ष बाघ वर्ष हो । संस्कार, सभ्यता र हिन्दू तथा बौद्ध संस्कारको समिश्रण रहेको यो समुदायमा आजदेखि पन्ध्र दिनसम्म नयाँ वर्षलाई स्वागत गर्ने परम्परा छ । विश्व समुदायमै बहादुरी, बफादारी, उच्च मनोबल र कर्मठ जातिका रुपमा प्रतिस्थापित गुरुङ जातिले विश्व रंगमञ्चमै गौरव कायम गरेको छ ।

मध्य रातिदेखि सार्वजनिक स्थल वा जंगलमा गएर आगो बालेर, धनुषकाँड खेलेर एउटा वर्षलाई विदाइ र नयाँ वर्षलाई स्वागत गर्ने सांस्कृतिक पर्व ल्होसारमा परम्पराका अतिरिक्त, सामुहिक भेला, बितेको वर्षको समीक्षा र आउने वर्षको सृजनात्मक योजनामा समेत केन्द्रीत होस् । नयाँ पिढीलाई सांस्कृतिक तथा परम्परागत विरासत हस्तान्तरण गर्न सकियोस् । प्रकृति, भूगोल, संस्कार, संस्कृति एवम् भाषिक पहिचानसहितको पुर्खाको गौरवलाई अक्षुण्ण राख्न सक्ने, शालिन र सभ्य संस्कारको तहलाई मनन गर्दै समन्वयपूर्ण, सद्भावयुक्त, सहिष्णु समाज निर्माणमा समेत तमु ल्होसार अनुसारको नयाँ वर्षले सबैलाई प्रेरणा दिओस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here