फाकफोकथुमबाट कोरिया लैजाने कामदार छनौटमा पक्षपात भएको भन्दै असन्तुष्ट पक्ष आन्दोलित

0
632

युद्धबहादुर बोहोरा,
इलाम:

फाकफोकथुम गाउँपालिकाबाट दक्षिण कोरियामा मौसमी कामदार लैजाने विषयमा कामदार छनौट प्रकृया गलत भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले आपत्ति जनाएको छ ।

गत पुष २४ गते (८ जनवरी,२०२२) मा पालिका र दक्षिण कोरियाको स्थानीयतह इन्जे काउन्टीसंग मौसमी ट्रेनी कामदार लैजाने सम्झौता भएपछि फागुन १६ गतेदेखि २६ गतेसम्म योग्यता पुगेका इच्छुक ३० देखि ४५ वर्षसम्मका नागरिकलाई दरखास्त आव्हनको लागि पालिकाले सुचना प्रकाशन गरेको थियो ।

त्यसपछि छनौटमा परेका व्यक्तिहरुको नामावली नै प्रकाशन नगरी चैत ३ र ४ गतेबाट पालिकाले केही व्यक्तिलाई मेडिकल गर्न गोप्य रुपमा झापाको विर्तामोड पठाउन थालेको जानकारी पाएको भन्दै असन्तुष्ट पक्ष आन्दोलनमा उत्रेको आन्दोलनमा सहभागी १ नम्बर वडाका हाङ्सरुम्बा थेगिमले जानकारी दिए ।

आवश्यक प्रकृया पुरा नगरी छनौट गरेको जनाउँदै उनीहरुले एक विज्ञप्ति जारी गरेका छन् । पालिकाले मनोमानी ढंगबाट निवेदन लिंदै मेडिकल रिपोर्ट बनाउन आफ्ना मान्छे मात्रै बोलाएको आरोप सहित आपत्ति जनाउँदै यस्तो कार्यप्रति खेद प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ । निष्पक्ष र पारदर्शी ढंगले योग्य उम्मेद्वार छान्नु पर्ने माग राख्दै पुनःछनौट प्रक्रिया अघि बढाउन र यस भन्दा पहिले गरिएको कार्य खारेज गर्न पालिकालाई अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,मागलाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गरिने जनाउँदै विभिन्न राजनैतिक दलमा आवद्ध स्थानीय दुई दर्जन बढी युवाहरुले हस्ताक्षर गरेको विज्ञप्ति पालिका कार्यालयमा बुझाइएको स्थानीय युवा नेता दिपक योङहाङले बताए ।

छनौट प्रकृयाको विरोधमा सामाजिक संजालमा समेत असन्तुष्टि व्यक्त गर्दै कुन मापदण्ड मार्फत फेल र पास छुट्याइयो ? यसको जवाफ सम्बन्धित पक्षले तत्काल दिन जरुरी छ जस्ता अभिव्यक्ति दिन थालेका छन् । मिहेनती,जेहेन्दार,लगनशील युवा किसानहरूको लागि स्वच्छ रूपमा दिएको कोटालाई राजनीतिकरण गरेर आफ्नो पार्टीका कार्यकर्ता,बोल्न सक्ने अगुवा र नातावादको आधारमा आफ्ना मान्छे पठाउने जस्ता घृणित कार्य गरेको भन्दै उनीहरुले आक्रोस पोख्न थालेका छन् ।

यता,असन्तुष्ट पक्षले शुक्रबार गाउँपालिकाको केन्द्र आमचोकको प्रशासनिक कार्यालयमा धर्ना,नाराबजी र घेराबन्दी गर्दै अफिसमा ताला लगाउने सम्मको चर्काचर्की भए पश्चात कामदारको मेडिकल लगायत अन्य कार्य स्थगित गर्दै सोमबार कार्यपालिकाको बैठक बसेर सही समाधान निकाल्ने पालिकाले जनाएको छ । पालिका उपाध्यक्ष सरस्वती राई,प्रमुख प्रशासकिय अधिकृत शिवनाथ यादव र ५ नम्बर वडाका अध्यक्ष हरिप्रसाद दंगालीले सहमती पत्रमा हस्ताक्षर गरेपछि सोमबारसम्मका लागि आन्दोलन रोकिएको जनाइएको छ ।

यसअघि गाउँपालिकाका सरोकारवाला व्यक्तिका साथमा कोरियास्थित ईन्जे काउन्टीका प्रतिनिधि जो माइहङ हो,सुरेश सुब्बा,भबिन्द्र आङ्देम्बे,बुद्धि भट्टराई,एसपी योङहाङ्ग,कृष्ण सुवाल,देबेन्द्र रेग्मी सहितको टोलीले सम्बन्धित बिषयमा छलफल गरेको थियो ।

छ महिनाको लागि काम गर्न पहिलो पटक १०५ जना लगिने र क्रमिक रुपमा आगमी दिनमा पाँच सय भन्दा बढी कामदार यस पालिका मार्फत पठाइने कोरियाको तर्फबाट यस पालिकामा संयोजकको भुमिका निर्वाह गर्ने देबेन्द्र रेग्मीले बताए । उनले कामदार कोरिया जान के कति खर्च लाग्छ भन्ने बारेमा नयाँ बुलन्द अनलाइनले बुझ्न खोज्दा रकम एकिन नभएको जानकरी दिए ।

हाल देशका विभिन्न ठाउँका कोरिया पठाउने नाममा भएको आर्थिक चलखेल, त्यस ठाउँमा पुगेकाको अलपत्र अवस्था र उनीहरुले भोगेको पीडाबाट पनि त्यहाँ जान चाहने आम नागरिकहरु चिन्तित बनेका छन् साथै के कति खर्च लाग्ने हो कसैबाट जानकारी नगराइएको उनीहरुको भनाइ छ । यद्यपी, पालिकाले छनौट भएका व्यक्तिको मेडिकल रिपोर्ट,प्रहरी रिपोर्ट,१० लाख बराबरको बैंक तथा सहकारीको ग्यारेण्टी पेपर लगायतका आवश्यक कागजात पेश गर्नुपर्ने दरखास्त आव्हानको सुचनामा सार्वजानिक गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here