पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाका १५ महिनादेखि १५ वर्ष उमेर समूहका नागरिकका लागि बैशाख ११ देखि १८ गतेसम्म टाइफाइड विरुद्धको खोप संचालन गरिने भएको छ ।
नगर खोप समन्वय समितिको विहीवार बसेको बैठकले नियमित खोप लिने बालबालिका र विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विद्यालय सहितका ५६ वटा खोपकेन्द्र तय गरी खोप लगाउने निर्णय गरेको हो ।
खोपका लागि विद्यालयहरुसँग समन्वय गरेर वडा वडामा वडास्तरीय खोप समन्वय समितिको समेत बैठक बसी खोपको प्रचार प्रसारलाई प्रभावकारी वनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो।
टाइफाइड हुँदा ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, कब्जियत हुने र समयमै उपचार हुन नपाउँदा आन्द्रामा घाउ हुने र मस्तिष्कमा असर पार्ने भएकाले यसबाट बच्न खोप लगाउने कार्यक्रम सरकारले अघि सारेको स्वास्थ्य शाखाका जगतबहादुर मगरले प्रष्ट् पार्नुभएको थियो । उहाँले सरसफाईको कमजोरीका कारण मानिसको दिशा र पिसाव खानामा मिसिएर ब्याक्टेरियामार्फत हुने टाइफाइडबाट बच्न औषधि सेवन गर्दा भन्दा खोप लगाउँदा प्रभावकारी हुने भएकाले खोप लगाउने कार्यक्रम तय भएको बताउनु भयो।
उक्त अवसरमा उहाँले खोपको गम्भीर एलर्जी भएका, एचआइभी र एड्स भएका, ज्वरोका सिकिस्त विरामी र कोरोना सहितका अन्य खोप लगाएको १४ नपुगेकाले खोप लगाउन नमिल्ने सुझाव दिनुभएको थियो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षताको सम्पन्न बैठकमा १० नम्बर वडाध्यक्ष सागर राई, शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष मोहन भट्टराई, नगर अस्पतालका डाक्टर कमलकान्त चौधरी, प्याब्सन नगर अध्यक्ष सुरेन्द्र लिम्बू, पञ्चायत माविका सहायक प्रधानाध्यापक विना राई सहितले खोप संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता सहितको मन्तव्य राख्नु भएको थियो ।































